Comments Add Comment

शिरोमणि पुरस्कार रंगकर्मी अनुप बराललाई


१६ जेठ, पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले शिरोमणि पुरस्कार–२०७४ रंगकर्मी अनुप बराललाई प्रदान गर्ने भएको छ ।

नेपाली रंगकर्मको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिवारले यसपटकको शिरोमणि पुरस्कार बराललाई प्रदान गर्न लागिएको हो ।

नाट्य तथा सिने क्षेत्रमा गरेको निर्देशन तथा अभिनयको कदर गर्दै यही जेठ १९ गते शनिबार अनुप घरेलु आँगनमा पुरस्कृत हुन लागेका हुन् । पोखरामा जन्मे हुर्केर यहीँबाट नाट्य कर्म थालेका अनुपले दर्जनौं नाटक र चलचित्रमा निर्देशन तथा अभिनय गरेका छन् ।

अनुपलाई १५ हजार रुपयाँसहित ताम्रपत्र र दोसल्लाले पुरस्कृत गरिने परिवारका अध्यक्ष दीपक समीपले जानकारी दिए । राष्ट्रियस्तरमा कला, साहित्य र संगीत र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान दिने एकजना स्रष्टालाई २–२ वर्षमा प्रदान गरिँदै आएको राष्ट्रियस्तरको पुरस्कार हो ।

कवि तीर्थ श्रेष्ठको संयोजक, कलाकार बुद्धि गुरुङ, कृष्णबहादुर श्रेष्ठ सदस्य र अध्यक्ष दीपक समीप तथा सचिव अर्जुन अधिकारी पदेन सदस्य रहेको समितिले यसपालीको पुरस्कार अनुपलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष समीपले जानकारी दिए ।

२०२४ सालमा जन्मेका बराल लामो समयदेखि नाट्य तथा सिने क्षेत्रमा क्रियाशीलमात्रै छैनन्, प्रशिद्धि कमाइसकेका छन् । अंशवन्ड, लक्ष्य, कागवेनी, जंगे, फन्को, दासढुंगा लगायत थुप्रै चलचित्रमा अलग पहिचान बनाएका बरालको थाङ्ला लगायत दर्जनौं चर्चित नाटक छन् । प्रतिबिम्ब थिएटरका निर्देशक समेत रहेका उनले नेपाली थिएटर व्यावसायीकरण र पुस्ता हस्तान्तरण गर्न योगदान पुर्‍याएको छनोट समिति संयोजक कवि तीर्थले जानकारी दिए ।

यसअघि यो पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानांग, सरुभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ र ओम खत्री सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment