Comments Add Comment

पार्टी एकीकरणपछि ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर

सातै प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन (सूचीसहित)

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले२१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् ।

पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । अन्तरपार्टी निदेृशनमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने जनाइएको छ । तर मुख्य सचिवालय धुम्बाराहीमा रहनेछ ।

दुवै कार्यालयमा अध्यक्ष तथा महासचिवको कार्यकक्ष रहने र केन्द्रीय सचिवालय धुम्बाराहीमा रहने तथा केन्द्रीय विभागहरु पेरिसडाँडामा रहने निर्णय भएको अन्तरपार्टी निर्देशन (सर्कुलर)मा उल्लेख छ ।

त्यस्तै ६ सदस्यीय स्थायी आमन्त्रित सदस्यमा दुईजना थपिएको छ । यसअघि अमृत बोहरा, अमिक शेरचन, केशव बडाल, सोमनाथ अधिकारी प्यासी, पुष्प कँडेल र पेशल खतिवडा केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटी बैठकमा सहभागी हुने गरी स्थायी आमन्त्रित सदस्य तोकिएका थिए । टंक राई र निर्मला देवकोटा पनि थपिएका छन् ।

नेकपाले तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण सम्पन्न गर्न सातै प्रदेशमा कार्यदल गठन गरेको छ । जस अनुसार प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले रहेको कार्यदल बनेको छ ।

प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह कार्यदलमा रहेका छन् । त्यस्तै प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल रहेका छन् ।

प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी कार्यदलमा छन् । प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहेको कार्यदल गठन भएको छ ।

प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यमलाल कँडेल र मायाप्रसाद शर्मा रहेको एकता कार्यदल गठन भएको छ भने प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेको कार्यदल गठन भएको छ ।

प्रवासका कमिटीहरु एकीकरण गर्न नारायणकाजी श्रेष्ठ,विन्दा पाण्डे,युवराज कार्की र टेकबहादुर पाठक रहेको कार्यदल गठन भएको छ । जिल्ला कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने कार्यदल बैठकमा भने साबिक एमाले र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा अध्यक्षहरुलाई पनि सदस्यका रुपमा सहभागी गराउन निर्देशन दिइएको छ ।

पार्टी एकता गर्ने यी कार्यदलले प्रदेश तथा जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गरेर केन्द्रमा पठाउनुपर्ने कार्यादेश दिइएको छ ।

प्रदेश संगठन कमिटीमा केन्द्रीय कमिटीका सदस्यको नाम समावेश नगर्नसमेत कार्यदललाई निर्देशन दिइएको छ । कमिटीका लागि पदाधिकारी तथा सदस्यहरुको छनौट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउन सर्कुलर गरिएको छ ।

यी कार्यदललाई १५ दिनभित्र काम सम्पन्न गरेर केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन समय दिइएको छ ।

त्यसैगरी जनवर्गीय संगठनहरु एकीकरण गर्न पनि दुवै पक्षका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन भएका छन् ।

हेर्नुस् निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment