Comments Add Comment

राजेन्द्र महतोले तलब नदिएको स्वकीय सचिवको आरोप

महतो भन्छन्– त्यसको कुरै नगरौं

१९ फागुन, काठमाडौं । राजपा नेता तथा सांसद राजेन्द्र महतोका पीए रविन्द्र चौधरीले राजीनामा दिएको घोषणा गरेका छन् ।

आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको सार्वजनिक घोषणा गरेका हुन् । सांसद महतोले भने चौधरीलाई तीनमहिना अगाडि स्वकीय सचिवबाट नै हटाइसकेको बताएका छन् ।

१५ वर्षदेखि महतोसँग निकट रहेका चौधरी ०७४ साल फागुनदेखि उनका पीए थिए । अघिल्लो सविधानसभामा महतोकी पत्नी शैलकुमारी महतोका पीए पनि उनै थिए ।

राजेन्द्र महतोले आफ्नो फर्जी हस्ताक्षर गरेर संसद सचिवालयबाट पीएको तलव बुझेको चौधरीले आरोप लगाएका छन् । गत पुसभन्दा अगाडिसम्म सांसदको तलवमा नै पीएको तलव गाभिएर आउँथ्यो । तर, आफूले तलववापत ३० हजार ५ सय बुझिलिएको भनेर पीएले गरेको हस्ताक्षर सांसदले सचिवालयमा बुझाउनुपर्थ्यो ।

फागुनमा पीए नियुक्त भएका चौधरीले महतोले आफूलाई महिनाको १५ देखि १८ हजार मात्र दिने गरेको बताए ।

पीएको तलव सांसदले दुरुपयोग गरेको समाचार मिडियामा आएपछि सचिवालयले पुसदेखि पीएकै खातामा पैसा हाल्ने व्यवस्था गर्‍यो । त्यसका लागि पीएको खाता नम्बर माग गरियो र खाता नम्बर नदिने सांसदको तलब रोक्का हुने बताइयो ।

‘त्यो खबर मिडियामा पढेपछि मैले उहाँलाई भेटेर आफ्नो खाता नम्बर बुझाएँ । उहाँले ल, म हेर्छु मात्रै भन्नुभयो,’ चौधरी सुनाउँछन्, ‘तर, दुई महिनासम्म उहाँबाट कुनै रेस्पोन्स नआएपछि मलाई शंका लाग्यो कतै अरुलाई त राख्नुभएन भनेर ।

त्यसपछि गत बिहीबार सांसद सचिवालयमा गएँ । त्यहाँ आफ्नो परिचयपत्र देखाएर पहिलेदेखिको तलव वक्यौता रहेको बताएँ ।

तर, त्यहाँका कर्मचारीले असारसम्मको तलव तपाईंले पाइसक्नुभएको रहेछ भने । पाँच महिनाको तलव बुझेको हस्ताक्षर पनि देखाए । तर, त्यो हस्ताक्षर मेरो थिएन । जब कि उहाँको पीएमा अहिलेसम्म पनि मेरै नाम छ ।’

संसद सचिवालयले हस्ताक्षर रुजु नगरिकन पीएको बक्यौता फछ्र्याैट गरेको चौधरीको भनाइ छ । चौधरीले अनलाइनखबरलाई उपलब्ध गराएको कागजात हेर्दा पीएमा मनोनयन हुँदाको हस्ताक्षर र अहिले तलव बुझेको भर्पाइमा गरेको हस्ताक्षर फरक देखिन्छ (हेर्नुस दुई फरक हस्ताक्षर) ।

आफूले तत्काल यसमा उजुरी गर्न खोज्दा सचिवालयका कर्मचारीले महतोसितै समझदारी गर्न सुझाव दिएको चौधरी बताउँछन् ।

‘तर, त्यसयता उहाँसँग मेरो भेट भएको छैन,’ चौधरीले भने, ‘फोन गरेर आफूले पद त्याग गर्ने विषयमा जानकारी गराएको छु ।’
संसद सचिवालयका प्रवक्ता राजनाथ पाण्डेले महतोले फर्जी हस्ताक्षर गरेर तलव बुझेको बारे आफूलाई थाहा नभएको बताए । ‘यो कुरा तपाईंको मुखबाट सुन्दैछु, अध्ययन गरेर मात्रै केही भन्न सक्छु,’ उनले भने ।

महतोले विगतदेखि नै आर्थिक लेनदेन गरेर समानुपातिक सांसद तथा विभिन्न पदहरुमा मान्छे नियुक्त गराउने गरेकोसमेत चौधरीको आरोप छ ।

‘मन्त्री हुँदाखेरीका घटना त कति छन् कति । पहिले प्रमाण नभएका कारण यी कुराहरु बाहिर ल्याउन सकेको थिइनँ । अहिले मसँग उहाँले पैसा खाएको प्रमाण छ । चाहेको बेला बाहिर ल्याउन सक्छु,’ चौधरीले अनलाइनखबरसँग भने ।

पहिलेदेखि नै यस्तो थाहा पाउँदा पाउँदै किन पीएको जागिर खाएर बस्नुभएको त ? भन्ने प्रश्नमा चौधरीले भने, ‘त्यो मेरो गल्ती भयो ।’ उनले क–कोसँग पैसा खाएर कुन–कुन पदमा नियुक्ति गरेको भन्ने आफूले केही दिनमा बाहिर ल्याउने पनि बताएका छन् ।

महतोको ‘कर्तुत’ बारे पार्टीका अन्य नेताहरुलाई पनि जानकारी रहेको चौधरी बताउँछन् । गत पुस र माघमा दुई महिना महतो अध्यक्षमण्डलको संयोजक हुँदा १२ लाख रुपैयाँ गोलमाल गरेको उनको आरोप छ ।

‘गत माघ २९ गते बसेको पार्टीको अध्यक्षमण्डलको बैठकमा समेत महतोले १२ लाख रुपैयाँको कुरा उठेको थियो,’ चौधरीले दाबी गरे, ‘तर, यो कुरालाई बाहिर नल्याई गुपचुप राखिएको छ ।’

अहिले २ नम्बर प्रदेशको अर्थतन्त्रमाथि पीएचडी गरिरहेको बताउने चौधरी राजपाको युवा संगठन राष्ट्रिय युवा संगठनका सचिवसमेत हुन् ।

महतो भन्छन् : त्यो चौधरीको कुरै नगर्नुस्

चौधरीले लगाएका आरोपहरुबारे राजपा नेता सांसद राजेन्द्र महतोसँग बुझ्दा उनले ठाडै इन्कार गरेका छन् ।

महतोले भने, ‘उसलाई मैले तीन महिना अगाडि नै निकालेको हुँ । अहिले नयाँ पीए राखेको छु । मलाई उसले लगाएका सबै आरोप झुट्टा हुन् ।’

उनले चौधरी कतैबाट परिचालित हुन सक्ने आशंका व्यक्त गरे । महतोले भने, ‘मेरो विरुद्ध षडयन्त्र गर्नेहरु पार्टीभित्रै पनि छन् बाहिर पनि छन् । उसलाई प्रयोग गरेर मेरा विरोधीहरुले मलाई फसाउन खोजेका हुन् । त्यो बदमासको मसित कुरै नगर्नुस ।’
त्यस्तो ‘बदमास’ लाई १५ वर्षदेखि किन सँगै लिएर हिँड्नुभएको त भन्ने प्रश्नमा महतोले हाँस्दै भने, ‘कसैको निधारमा लेखिएको हुन्छ र कस्तो मान्छे हो भन्ने ? अहिले आएर पो थाहा भयो त ।’

महोत्तरी जिल्लाका चौधरीलाई महतोले लामो समयदेखि संरक्षण दिँदै आएका थिए । सद्भावना पार्टीमा १४ वर्षसम्म चौधरीले कार्यालय सचिवको रुपमा काम गरे । मधेसी पार्टीहरुको एकीकरण भएर राजपा बनेपछि त्यहाँ पनि महतोले उनलाई कार्यालय सचिवको जागिर दिलाए । तर, तीन महिना अगाडि महन्त ठाकुरले उनीसहित १३ कर्मचारीलाई हटाएका थिए ।

‘पार्टीभित्र गुटबन्दीको अवस्थामा मलाई राजेन्द्र महतोको मान्छे भनेर अन्य नेताहरुले हटाएका हुन्,’ चौधरी भन्छन्, अहिले राजपामा कार्यालय सचिव कसैलाई बनाइएको छैन ।

मधेसका एजेन्डालाई भर्‍याङ बनाएर महतोले आफ्नो राजनीतिको रोटी सेकिरहेको चौधरी बताउँछन् । उनले भने, ‘अहिले पनि उहाँ मन्त्री बन्नलाई दौडधुप गरिरहनु भएको छ । पर्यटन मन्त्रालय खाली भएपछि त्यसमा उहाँको नजर परेको छ र नेताहरुको घरदैलोमा लाग्नुभएको छ ।’

तर, महतो भने आफू मन्त्री बन्ने चक्करमा नरहेको बताउँछन् । ‘हामी अहिले सरकारमा जाने कुरै चलेको छैन,’ महतोले अनलाइनखरसँग भने, ‘हाम्रो कुन माग पूरा भएको छ र सरकारमा जाने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment