+
+

शीतल निवासमा ईश्वर रिसाए, उपेन्द्रले उपप्रधानमन्त्रीसँग बरियता साटे

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते २३:१२

१८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको सपथ लिन शीतल निवास पुगेका थिए । तर, उपप्रधानमन्त्री बनेर फर्किए ।

उनसँगै रक्षामन्त्री ईश्वर पोखरेल पनि उपप्रधानमन्त्री भएका छन् भने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा मन्त्री बनेका छन् ।

यो सबै घटना क्रम अरुलाई अप्रत्यासित लाग्नु स्वभाविक हो । तर, स्वयंम सत्तारुढ दलकै शीर्ष नेताहरुलाई समेत सरप्राइज भएको छ । एक नेताले भन्दै थिए, हामीलाई त केही थाहा नै छैन ।

शुक्रबार फोरमले पार्टी अध्यक्ष यादवलाई स्वास्थ्य र मो. इस्तियाक राईनलाई शहरी विकासमन्त्री सिफारिस गरेपछि साँझ ५ बजे सपथ तय भयो । सपथ अघि नै शीतल निवासले जिम्मेवारी तोकिएको विज्ञप्ति जारी गरिसकेको थियो ।

तर, निर्धारित समय भन्दा २ घन्टा ढिलो सपथ हुँदासम्म धेरै परिर्वतन भइसकेको थियो । यादवसँगै रक्षामन्त्री पोखरेल उपप्रधानमन्त्री भए भने बास्कोटा मन्त्री बने ।

शीतल निवासमा केके भयो ?

स्रोतका अनुसार नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले यादवलाई स्वास्थ्यमन्त्रीमा चित्त बुझाएका थिए । तर, सरकारमा दोस्रो बरियता दिने बचन दिएका थिए ।

यो सुनेपछि नेकपा सचिवालय सदस्य पोखरेल फायर भए । उसै त उपप्रधानमन्त्री मात्र होइन, रोजेको मन्त्रालय नदिएकोमा उनी असन्तुष्टि थिए । त्यसपछि एमाले र माओवादी एकता हुँदा महासचिवमा विष्णु पौडेल आए ।

अब सरकारमा रहेको दोस्रो बरियता पनि खोसिने हो भने मन्त्री पद पनि चाहिँदैन भन्दै उनले राजीनामा दिने धम्की दिए ।

दोस्रो वरियता नपाए उपेन्द्र यादव पनि सरकारमा नआउने अवस्था बन्यो । शीतल निवासमा प्रधानमन्त्री ओली र प्रचण्डले उपाय निकाले, दुबैलाई उपप्रधानमन्त्री दिने ।

उपप्रधानमन्त्री पाउने भएपछि यादवले पनि दोस्रो वरियताको दाबी छाडे । पहिले जति गर्दा पनि नपाएको उपप्रधानमन्त्री पाएपछि पोरखेल पनि खुस ।

यो सहमितपछि साँझ ७ बजेपछि मात्र सपथ भएको थियो ।

तर, यसले गृहमन्त्री रामबहादुर थापा बादललाई भने निकै सकस भएको छ । तत्कालीन माओवादीले उनलाई उपप्रधानमन्त्री बनाउन चाहेको थियो । तर, तत्कालीन एमाले अध्यक्ष समेत रहेका ओलीले उपप्रधानमन्त्री नै नराख्ने अडान लिएपछि उनले गृह मन्त्रालय लिएका थिए ।

अहिले जब पार्टी एकता भयो, ओली र प्रचण्ड मिलेर उपप्रधानमन्त्री राखेका छन् । यसबारे बादलले केही बताएका छैनन् । तर, मन्त्रिपरिषद् विस्तारका क्रममा ओली र प्रचण्डले कुनै सल्लाह नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?