+
+

दैनिक एक शो चलाएर ५१ दिनको धाक !

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १२:५३

नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ले काठमाडौको विश्वज्योती हलमा ५१ दिन मनायो । विश्वज्योती हलमा यो चलचित्रले ५१ दिन मनाउँदा पनि दर्शकको उत्साह उस्तै थियो । ५१ दिनसम्म दर्शकको चाप कम भएको थिएन । चलचित्रले करिब ४० लाख शेयर विश्वज्योतीबाट मात्रै लगेको चर्चा अहिले पनि हुन्छ ।

नायक भूवन केसीले निर्माण गरेको चलचित्र ‘म तिमीविना मरिहाल्छु नी’को व्यापार पनि यस्तै थियो । भूवन केसीको यो चलचित्रले विश्वज्योतीमा ५१ दिनसम्म एउटै रफ्तारमा व्यापार मात्र गरेन, लोभलाग्दो रकम लग्यो ।

५१ दिनसम्म चलचित्र कुनै एउटा हलमा चल्नु सामान्य कुरा होइन । केही बर्ष अघिसम्म कम हल थिए, मल्टिप्लेक्स त खुलेकै थिएनन् । चलचित्र पनि कम बन्थे । यसैले, एउटै हलमा चलचित्र लामो समयसम्म चल्थे । तर, अहिले समय फेरिएको छ । एउटै शहरमा आधा दर्जन हल पुग्न थालिसकेका छन् । यसैले, चलचित्रले इनिसियल व्यापार गर्छन् र उत्रिन्छन् ।

तैपनि, फाट्टफुट्ट चलचित्रले ५१ दिन मनाएको खबर सार्वजनिक भैरहेका हुन्छन् । २ दिन अगाडि मात्र चलचित्र ‘लिलिबिली’ले काठमाडौंका केही हलमा ५१ दिन मनाएको भन्दै सेलिव्रेसन गरियो । निर्माताले चलचित्रमा लगाएको लगानी सुरक्षित भएको दाबी गर्दै गर्दा यो चलचित्र काठमाडाैंका गोपिकृष्ण, अष्टनारायण, ललितपुरको गुण हलमा ५१ दिन चलेको भन्दै केक काटिएको थियो ।

‘लिलिबिली’ यी ४ देखि ८ पर्दा भएका हलमा ५१ दिनसम्म चल्नु ठूलो कुरा होइन । किनकी, ठूलो हलबाट चलेका चलचित्र यी सात पर्दे हलमा लामो समयसम्म टिक्छन् । अझ, वैशाखदेखि रिलिज भएका नेपाली चलचित्रले समेत हलमा दम तोडिरहेको समयमा ‘लिलिबिली’ले सानो हलमा स्थान पाउनु ठूलो कुरा भएन ।

गोपिकृष्ण मुभिजका म्यानेजर तिर्थ पौडेलले अनलाइनखबरसँग भने-‘हामीले गोपिबाट चलचित्र लगाउँछौ र विस्तारै साना साना हलमा चलाउँछौ । ७ वटा पर्दा भएकाले पनि हाम्रो हलमा चलचित्र धेरै चल्छन् । तर, दर्शक नै नआएको चलचित्रलाई हल भर्नका लागि मात्र लगाएका छैनौ ।’

उनले ‘शत्रु गते’ ७५ औ दिनसम्म पनि चलिरहेको बताए । ‘लिलिबिली’ पनि चलिरहेको उनको भनाई छ । साना हलमा २० देखि ३० जना दर्शक भएको खण्डमा चलचित्र चलाउने गरेको उनले बताएका छन् । कतिपय चलचित्रलाई भने गोपि, गुण, अष्ट लगायतका हलले फिक्समा किन्छन् र लामो समयसम्म चलाइदिन्छन् ।

चलचित्र ‘शत्रु गते’ अष्टनारायण हलमा ५१ दिन चलेको यसका संचालक बताउँछन् । ‘लिलिबिली’को हकमा भने कुरा अर्कै छ । ठूला चलचित्र चल्दा शुक्रबार र शनिबार यी चलचित्र चल्दैनन् । फेरि आइतबारबाट दर्शक अन्य चलचित्रमा घटेपछि यी चलचित्रले हल पाउँछन् । दिउँसोका शोमा मान्छे नहुने र रात्री १ शोमा चलाएर केही चलचित्र अष्टमा ५१ दिनको रेकर्ड राखेर दंग छन् ।

गत बर्ष रिलिज भएका ‘छक्का पन्जा २’ र ‘शत्रु गते’ बाहेक अन्य कुनै पनि चलचित्रले अष्टनारायणमा स्वस्थ रुपमा ५१ दिन मनाएका छैनन् ।
यूवापुस्तालाई मात्र टार्गेट गरिएका चलचित्र छोटो समयमा नै उत्रिने गरेको हल संचालकहरु बताउँछन् । तर, सबै बर्गका दर्शकका लागि बनाइएका चलचित्रले भने लामो समयसम्म हलमा दर्शक तान्ने गरेका छन् ।

यसरी चलचित्र चल्दा निर्माताको हातमा खासै पैसा त आउँदैन तर ५१ दिन मनाएको भन्दै नाक फुलाउने अवसर उनीहरुले पाउँछन् । यसबाट उनीहरुको मार्केट भ्यालु बढ्छ ।

ठूला नेपाली चलचित्र रिलिज हुँदा त शुक्रबार र शनिबार यी चलचित्रले हल पाउँदैनन् । तर, आइतबारबाट फेरि १ शो घिटिघिटी चलिरहेका हुन्छन् । उनै चलचित्रका निर्माता ५१ दिनको रेकर्ड भन्दै स्याम्पिएन फोड्छन् ।

मल्टिप्लेक्समा भने चलचित्रले १ शो पाइरहेको हुन्छ । अनलाइनमै स्पष्ट हुने भएकाले निर्माताले मल्टिप्लेक्सको व्यापार र चलेको दिन झुटो बोल्न सक्दैनन् । ‘छक्का पन्जा’ले काठमाडौको बीग मुभिजमा १०० दिन मनायो । यो चलचित्र हरेक दिन बेलुकी ५ बजे बीगमा चलेको थियो ।

‘छक्का पन्जा २’ले पनि केही हलमा ५१ दिन मनाएको थियो । १ शो चलेरै भए पनि मल्टिप्लेक्समा केही चलचित्रले ५१ दिनको रेकर्ड राखेका छन् । तर, ५१ दिन हलमा चल्दा पहिले पहिलेका चलचित्रमा जुन खालको घुँइचो र क्रेज दर्शकको हुन्थ्यो, अहिले त्यो पाइदैन । कतिपय चलचित्रका निर्माताले ५१ दिन खुशीयालीमा मनाएका छन् भने कतिपय चलचित्रका निर्माताले ५१ दिन देखाउनकै लागि मात्र मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?