+
+
Shares

यूएनडीपीको सहयोगमा सांसदलाई तालिम !

सभामुख महराले भने- प्राविधिक सहयोगमात्रै यूएनडीपीको

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते ११:२१
सांसदहरुका लागि आयोजना गरिएको तालिम । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय दाताको सहयोगमा सांसदहरुलाई तालिम दिन सुरु गरिएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को लगानीमा संसद सचिवालयले बुधबारबाट सांसदहरुका लागि दुईदिने तालिम आयोजना गरेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आयोजित तालिममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सहभागी छन् । उनीहरुलाई संसदीय प्रक्रियासम्बन्धी तालिम दिइने छ ।

बुधबार पहिलो दिन संविधान निर्माण, संघीय संसद र संसदीय अभ्यास, संसद सचिवालयको गठन र उद्देश्य, सचिवालयको सांगठनिक रुपरेखा तथा बिभिन्न महाशाखा र शाखाहरुको काम, संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुनी मस्यौदा प्रक्रिया, संसदमा विधेयक प्रस्तुत हुने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष, विधेयकको ढाँचा र अन्तरवस्तुबारे सांसदहरुलाई तालिम दिइने छ ।

बिहीबार दोस्रो दिनको तालिम भने बजेट निर्माण र वित्तिय अनुगमनमा सांसदहरुको भूमिका एवम् संसद र नागरिकको सम्बन्धबारे केन्दि्रत हुने छ ।

सांसदहरुलाई पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर एवम् योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, तत्कालीन संविधानसभाका सदस्य एवम् प्राध्यापक लालबाबु प्रसाद यादव लगायतले तालिम दिनेछन् ।

तालिमको उद्देश्यबारे जानकारी दिँदै संसद सचिवालयका एक कर्मचारीले भने, ‘कतिपय सांसदहरु नयाँ भएकाले उनीहरुलाई संसदीय कानुनी प्रक्रियाबारे जानकारी दिन तालिम आयोजना गरिएको हो ।’

आलोचना

सांसदहरुलाई दिइने तालिम शीर्षकको बजेट फ्रिज गराएर यूएनडीपीको लगानीमा तालिम आयोजना गरिएपछि कतिपय सांसदहरुले विरोधसमेत गरेका छन् । तालिम सन्चालन गर्न लाग्ने खर्च यूएनडीपीले बेहोर्ने सहमति यसअघि नै संसद सचिवालयसँग भएको थियो । संसद सचिवालयका अनुसार झोला, कापी, कलमलगायतका लजिस्टिक सामानको खर्च यूएनडीपीले बेहोर्ने छ । साथै तालिम दिने र तालिम लिनेहरुलाई भत्ता पनि उपलब्ध गराइने छ ।

नेमकिपाका सांसद प्रेम सुवालले सांसदहरुलाई संसदीय मामिलामा जानकारी दिनु राम्रो भए पनि दाताको सहयोग लिनु नराम्रो भएको बताए ।उनले अनलाइनखबरसँग भने, ‘दाताको सहयोग लिने त जलविद्युत आयोजना जस्ता ठूला ठूला प्रोजेक्टमा हो । बिचार राख्ने कुरामा पनि दाताको सहयोग लिनु राम्रो होइन ।’

कानुन र नीति निर्माण तहका सदस्यहरुलाई नै दाताबाट तालिम दिलाउँदा उनीहरुमा दाताको प्रभाव पर्न सक्ने आशंका सुवालले गरे । उनले भने, ‘यसमा त हामी आफै सक्षम छौं नि । साना-साना कुरामा पनि दाताको भर पर्दा नेपाल झन् परनिर्भर, झन् उपनिवेश बन्ने खतरा हुन्छ ।’

सुवाल तालिममासमेत सहभागी भएका छैनन् । कारण सोध्दा उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले जान नपाएको बताए ।

प्रष्टिकरण

राष्ट्रिय धून बजाएर सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले राखेका थिए । त्यसपछि क्रमैसँग कानुनमन्त्री शेरबहादुर तामाङ, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मन्तव्य राखेका थिए ।

दाताको सहयोगमा सांसदलाई तालिम आयोजना गर्न लागिएको भन्दै आलोचना भएपछि मन्तव्यको क्रममा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले खण्डन गरेका थिए ।

सभामुख महराले यूएनडीपीले प्राविधिकमात्रै सहयोग गरेको बताए । तालिमको आयोजना सरकारी बजेटबाटै गरिएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?