Comments Add Comment

बैतडीकी दलित अभियन्ता सरस्वतीले पाउने भइन् दर्नाल अवार्ड २०१८

२५ जेठ,काठमाडौं । सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय’ दर्नाल अवार्ड वैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ । प्रत्येक २ वर्षमा ४० वर्ष मुनीका दलित युवालाई प्रदान गरिने सो अवार्ड यसपटक सामाजिक न्यायको क्षेत्रमा विशेष योगदान गरेबापट सरस्वतीले पाएकी हुन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्ड घोषणा गरिएको हो । आगामी अगष्ट १५ मा एक अन्तर्राष्ट्रिय समारोहबीच नगद ५ लाख नगद र कदरपत्रबाट उनलाई सम्मान गरिने नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले बताए ।

दर्नाल अवार्ड पुरस्कार परिचालन समितिले लामो अध्ययनपछि सरस्वती नेपालीलाई छनौट गरेको हो । दलित समुदायमाथि हुने गरेका मानव अधिकार उल्लंघनका घटनामा प्रहरीले उजुरीसमेत लिन नमानेका बेला उनले बलात्कारका अभियुक्तलाई सजाय दिलाउन संघर्ष गरेकी थिइन् ।

उनकै संघर्षका कारण दशरथ चन्द नगरपालिकामा ५४ वर्षीय शिक्षकबाट बलात्कृत १४ वर्षीया दलित बालिकाको पक्षमा अदालतले फैसला गर्ने अवस्था सिर्जना भएको थियो । सोही साहसिक कानुनी लडाइको फलस्वरुप बालिकालाई पटक-पटक बलात्कार गरेर गर्भ बोकाउने व्यक्तिलाई अदालतेले ११ वर्ष जेल सजाय तोकेको थियो ।

सरस्वती नेपालीले दलित अधिकारको पक्षमा गरेका अन्य संघर्षहरुसमेत अध्ययन गरेर उनलाई अवार्डका लागि उपयुक्त व्यक्ति ठानिएको अवार्ड संस्थापक सरिता परियारले बताइन् । उनले सामाजिक न्यायको पक्षमा आवाज उठाउन दलित सुमदायका युवामाथि अझै पनि धेरै समस्या खतराहरु कायम रहेको बताइन् ।

७ वर्षअघि अमेरिकामा सडक दुर्घटनामा निधन भएका अधिकारकर्मी सुभास दर्नालको स्मृतिमा सरिता परियार ट्रष्ट फाउण्डेशनले यो अवार्ड स्थापना गरेको हो । यो अभियानमा जागरण मिडिया सेन्टर र समता फाउण्डेशन पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment