Comments Add Comment

बबई नदी तटबन्धन तीव्र

२६ जेठ, गुलरिया, बर्दिया । बबई–भादा– औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माण तीव्र गतिमा भइरहेको छ ।

छयालीस किलोमिटर क्षेत्रफल तटबन्धन गर्दै बारबर्दिया गुलरिया जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गर्न लागिएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने योजना छ । योजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किमी तटबन्ध निर्माण हुने नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

बबई नदीको दुईतर्फ नै तटबन्ध निर्माण हुनुपर्ने बर्दियालीको माग रहेको बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले बताए । “बबई नदी दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पस्छ”, उनले भने, “योजनाअनुसार तटबन्धको काम भएको देख्दा खुशी लागेको छ । बबई भादा औरहीको काम शुरुको चरणमा छ । नदी व्यवस्थापन आयोजनाले तटबन्धका लागि चार महिनाअघि बबईको शाखा नदी नियन्त्रण गर्न छुट्टै कार्यालयको स्थापना गरेको छ ।”

तटबन्ध निर्माणले पूर्णता नपाउँदा यस वर्ष गुलरियासहित चार नगरपालिका बाढीको जोखिममा छन् । योजनानुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोबास गर्ने सधैँ बाढीको त्रासमा रहिरहने स्थानीयवासीको गुनासो छ ।

कतिपय ठेक्का सम्झौताको प्रक्रियामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धको काम शुरु हुनेछ । आयोजना प्रमुख सुवेदीले भने, “बबई नदी नियन्त्रणका लागि संशोधित योजनामा रु १३ अर्ब माग गरिएको छ जसबाट बबई नदीको दुवैको किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।”

विसं २०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकामा बर्दियाका बासिन्दा दुःखी छन् । बबई परेवा ओढारदेखि भारतको सीमासम्म नदी नियन्त्रणका लागि कार्ययोजना बनाइएको थियो । बर्दियाका चार नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले वर्षेनी सर्वसाधारण जनताले दुःख पाएका छन् र घरबारविहीन हुन बाध्य छन् । जाइकाले गरेको सर्वेक्षणमा तटबन्ध निर्माण गरिने, बाढी नियन्त्रण गर्ने र स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्ने योजना बनाइएको थियो । एक स्थानीयवासीका अनुसार जाइकालाई अर्को ठाउँमा लगियो, यहाँका नेताको पहुँच पुगेन, जाइकाले गरेको सर्वेक्षण राजनीतिक प्रभावका कारण पूर्व सर्यो ।

लट्कानीय, गुरुवागाउँ, रामपुर टापु, कुसुमडाँडा, घोरपित्ता, पडनाहा, पण्डितपुर, टरुवा, भैसाही, बालापुर, जब्दीघाट, बिक्री प्रयागपुर, कोठीया ठप्पुवा, पशुहाट बजार, भैसायी, गुलरिया र टडुवा बस्तीमा नदी पस्ने जोखिम यस वर्ष टरेको स्थानीय बासिन्दाले बताएका छन् । तटबन्ध भएपछि एक हजार ९८५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । बगनाहा, ढोढरी, सानोश्री, बानियाभार, पडनाहा र धधबारमा पनि काम अघि बढेको छ ।

अघिल्लो वर्ष बबईमा आएको बाढीले नगरपालिकाका अधिकांश बस्तीमा क्षति पुर्याएको स्थानीयवासी मोहनकुमारी फुयाँलले बताइन् । बाढीले बगाउँदा ३४ जनाको मृत्यु भएको तथ्यांक छ । सांसद तिलक शर्मा बबई नदी नियन्त्रण गर्न सकेमा खेतीयोग्य पाँच हजार बिघा जमीन उकासिने र बर्दियाको सदरमुकाम सुरक्षित हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment