+
+

समूह एफ: डिफेण्डिङ च्याम्पियनको दबदबा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २८ गते ११:१०

काठमाडौं । विश्वकप फुटबलको समूह ‘एफ’ मा जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनी सन् २०१४ को ब्राजिल विश्वकपको विजेता हो । यो समूहमा जर्मनी बलियो देखिए पनि अन्य टोलीमा को अघिल्लो चरणमा पुग्छ भन्ने अनुमान सहज छैन । यो समूहमा रहेको मेक्सिको विश्वकपको दाबेदार रहेको अर्को बलियो टोली हो ।

जर्मनी

चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोली ब्राजिललाई सेमिफाइनलमा ७-१ ले हराएर जर्मनीले सनसनी मच्चाएको थियो । त्यसपछि फाइनलमा अर्जेन्टिनालाई १-० ले हराएर जर्मनी विश्व विजेता बन्यो ।

फिफा वरियतामा शीर्ष स्थानमा रहेको जर्मनी यसपटक पनि दाबेदार टिम हो । अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो ।
१९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । उसले पहिलो पटक१९५४ मा उपाधि उचालेको थियो भने पछिल्लो पटक २०१४ मा विजेता बन्यो ।

त्यसअघि१९७४ र १९९० मा पनि जर्मन विश्व विजेता बनेको थियो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । जर्मनी तीन पटक क्वाटरफाइनलमा पराजित भएको छ ।

मुख्य खेलाडी – टोनी क्रुस

जर्मनीका धेरै प्रभावशाली खेलाडी छन् । त्यसमा रियल मडि्रडबाट खेल्ने टोनी क्रुसको प्रभाव बलियो मानिन्छ । उनी विश्वमा यो पुस्ताका उत्कृष्ट मिडफिल्डर हुन् ।
उनले बार्यन म्युनिख र रियल मडि्रडबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

सन् २०१४ मा विश्वकप जित्दा पनि क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । मिडफिल्डबाट गोलको अवसर सिर्जना गर्ने र डिफेन्स लाइनसँग खेलमा भिज्ने उनको कला उत्कृष्ट छ ।

प्रशिक्षक – योआखिम लो

चार वर्षअघि उपाधि जिताएका योआखिम लो नै अहिले पनि जर्मनीको प्रशिक्षक छन् । उनले २००६ देखि जर्मनीको राष्ट्रिय टिम सम्हालिरहेका हुन् । दशकभन्दा लामो प्रशिक्षणकालमा उनले जर्मनीलाई विश्वकै उत्कृष्ट टिमको रुपमा स्थापित गराएका छन् ।

उनले पछिल्लो पटक गएको वर्ष, २०१७ मा फिफा कनफेडेरेसन कपको उपाधि दिलाए । जर्मनीले गएको अक्टोबर ८ मा अजरबैजानलाई ५-१ ले हराएसँगै विश्वकपमा स्थान बनाएको थियो । १९७८ देखि १९९५ सम्म खेलाडी जीवनमा रहेका उनले त्यसलगत्तै प्रशिक्षण सुरु गरेका थिए । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनको प्रशिक्षण शैली पनि उस्तै आक्रामक छ ।

मेक्सिको

मेक्सिको यसपटक धेरैको नजरमा नपरेको तर बलियो टोली हो । मेक्सिको यस्तो टोली हो, जुन गएको ६ वटा विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको छ ।

सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । जसमा १९९४ देखि २०१४ सम्म मेक्सिको लगातार अन्तिम १६ बाट बाहिरियो । मेक्सिको १९७० र १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

गएको ब्राजिल विश्वकपमा पनि मेक्सिकोको खेल उत्कृष्ट थियो । त्यो बेला मेक्सिको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्ससँग २-१ ले पराजित भएको थियो । मेक्सिको यसपटक समूह ‘एफ’ को राम्रो टोलीसँगै विश्वकपभर राम्रो फुटबल खेलका लागि चिनिने फुटबल पण्डितहरुको विश्लेषण छ ।

मुख्य खेलाडी – जेभियर हर्नान्डेज

सन् २०१० देखि २०१५ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका स्ट्राइकर हर्नान्डेजले केही समय स्पेनिस क्लब रियल मड्रिडबाट पनि खेले । अहिले उनी इंग्लिस क्लब वेस्ट हाम युनाइटेडमा छन् । २००९ मा मेक्सिकोको राष्ट्रिय टिममा डेब्यू गरेका हर्नान्डेजले १०१ खेलमा ४९ गोल गरेका छन् ।

उनले २०१० र २०१४ को विश्वकप पनि खेलेका थिए । यसैले उनको अनुभव र खेल क्षमता मेक्सिकन टिमका लागि महत्वपूर्ण छ ।

प्रशिक्षक – जुआन कार्लोस ओसोरिओ

कोलम्बियाका कार्लोस ओसोरिओ खेलाडी जीवनमा मिडफिल्डबाट खेल्थे । सन् २००० देखि प्रशिक्षण सुरु गरेका उनले २०१५ देखि मेक्सिकोको राष्ट्रिय टिम सम्हालिरहेका छन् । खेलका हरेक सानो सानो विषयमा जानकार रहने र छिटो छिटो आक्रमणमा जान सक्ने शैलीका लागि उनी विश्व फुटबलमा परिचित छन् ।

स्वीडेन

स्वीडेन विश्वकपसम्म आइपुग्ने यात्रा नै सनसनीपूर्ण रहृयो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
यसअघि पनि ११ पटक विश्वकप खेलेको स्वीडेनले पछिल्लोपटक सन् २००६ मा विश्वकप खेलेको थियो ।

स्वीडेनका लागि १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएपछि सम्झनलायक विश्वकप हुन सकेको छैन ।

स्वीडेन १९३८, १९५० र १९९४ मा सेमिफाइनलमा पराजित भएको थियो । २००२ र २००६ मा भने अन्तिम १६ बाट बाहिरिएको थियो ।

यसपटक अन्तिम १६ सम्म पुग्ने आँकलन गरिए पनि बलियो टोलीबीच स्वीडेनको सम्भावना आँकलन गर्न भने कठीन छ ।

मुख्य खेलाडी – मार्कस बर्ग

रसिया विश्वकप छनोटको खेलमा ८ गोल गरेका उनले स्टार खेलाडी जाल्टन इब्राहिमोविचको कमि पूरा गरीरहेका छन् । ३१ वर्षका उनी २००८ देखि स्वीडेनको राष्ट्रिय टिममा छन् । जसमा ५५ खेलमा उनले १८ गोल गरेका छन् ।

प्रशिक्षक – जाने एन्डरसन

एन्डरसन २०१६ देखि स्वीडेन टिमको प्रशिक्षक छन् । १९८८ देखि नै फुटबल प्रशिक्षणमा लागेका उनले सन् २०१५ मा आईएफके नर्कोपिंगलाई स्वीडेनको लिग जिताएर आफ्नो क्षमता देखाएका थिए । साथै रसिया विश्वकपको प्लेअफमा इटालीलाई हराएसँगै उनको क्षमता विश्व फुटबलमा उज्यालिएको थियो ।

दक्षिण कोरिया

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसअघि १९५४, १९८६, १९९०, १९९४ र १९९८ मा समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया २००६ र २०१४ मा पनि समूह चरणबाटै बाहिरियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो ।

विश्वकपका लागि एसिया छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरी गरेपछि दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यसपटक दक्षिण कोरिया समूह चरणबाट माथि जाने लक्ष्यसहित रसिया प्रस्थान गर्दैछ ।

मुख्य खेलाडी – कि सुङ युङ

सन् २००८ देखि कोरियन टिममा रहेका सेन्टर मिडफिल्डर कि सुङ युङले राष्ट्रिय टिमका लागि एक सय खेलमा १० गोल पनि गरेका छन् ।

इंग्लिस क्लब स्वान्से सिटीबाट व्यावसायिक फुटबल खेल्ने उनी कोरियन टिमका मुख्य खेलाडी हुन् । कोरियन टिमका कप्तानसमेत रहेका उनी फुटबलकै कारण कोरियनमाझ निकै प्रख्यात पनि छन् । उनी डिफेन्स लाइन, बल पास साथै आक्रमणमा पनि उत्कृष्ट तालमेल मिलाउन सक्छन् ।

प्रशिक्षक – शिन ते योङ

जुलाई २०१७ देखि योङले दक्षिण कोरियाको राष्ट्रिय टिम सम्हालिरहेका छन् । दक्षिण कोरियाका पूर्व खेलाडीसमेत रहेका उनले यु २०, यु २३ टिमका लागि पनि प्रशिक्षण दिइसकेका छन् । विश्वकप छनोटमा कतार र चीनसँग पराजित भएर उथलपुथल भएको कोरियन टिमलाई उनले लयमा ल्याएका हुन् । यसैले पनि उनको प्रशिक्षणमा कोरियन टिमले यसपटक राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?