Comments Add Comment

गाउँ जादैनन् प्राविधिक, फोटो खिचेर लगेपछि किस्ता सिफारिस


१ असार, सिन्धुपाल्चोक । जिल्लामा पुननिर्माणमा खटिएका प्राविधिकहरु कार्यक्षेत्रमा नजाँदा घर बनाइरहेका भूकम्पपीडित समस्यामा परेका छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रत्येक वडामा इन्जिनियर, ओभरसियर र सवओभरसियर खटाए पनि उनीहरु गाउँमा नजाँदा नयाँ घर बनाएर सरकारी अनुदानका लागि प्राविधिकको सिफारिस पर्खेर बसेकाहरु समस्यामा परेका हुन् ।

प्राविधिक नहुँदा कतिपयले घर नबनाई आफै फोटो खिचेर वडा कार्यालयमा देखाएर समेत किस्ता सिफारिस गराएको पाइएको छ ।

घरको भुइँ ढलान गरेपछि प्राविधिकहरु निर्माणस्थलमा पुगेर नापजाँच गरी सिफारिस गरेपछि मात्रै लाभग्राहीले दोस्रो किस्ता पाउँछन् । त्यस्तै छानो हाल्ने बेलामा फेरि प्राविधिकले नापजाँच गरेर तेस्रो किस्ताका लागि सिफारिस गर्नुपर्छ ।

तर प्राविधिकहरु गाउँ नजाँदा एकातिर वास्तविक लाभग्राही घर बनाएर पनि अनुदानको किस्ताको सिफारिस बनाउन सकेका छैनन् भने घर नबनाए पनि कतिपयले अरुकै घरको फोटो दोखाएर किस्ता लिइरहेका छन् ।

केही महिना अघि सुनकोशी गाउँपालिकामा एउटा लाभग्राहीको घरको फोटो खिचेर अर्कै लाभग्राहीले दोस्रो किस्ताको रकम लगेका थिए ।

जिल्लाका धेरै वडाहरुमा प्राविधिकहरु सम्बन्धित निर्माण स्थलमा नजाने र मोबाइलमा फोटो खिचेर ल्याएकै भरमा प्राविधिकहरुले भटाभट दोस्रो र तेस्रो किस्ताको लागि सिफारिस गर्ने गरेका छन् ।

कच्ची बाटो, गाउँ गएको भत्ता नहुने लगायतका कारण देखाउँदै प्राविधिकहरु गाउँ जान मानेका छैनन् । वडा कार्यालयमा बस्ने र पीडितहरुले घर निर्माण स्थलमा बोलाउँदै प्राविधिकहरुले ‘फोटो ल्याए हुन्छ हामी नआउँदा पनि हुन्छ’ भनेर भुकम्प पीडितहरुलाई भन्ने गरेको पीडितहरुले बताए ।

धेरै पटक घर हेर्नका लागि बोलाए पनि प्राविधिकहरु नआएको लिसंखुपाखर गाउँपालिका जेठलका एक लाभग्राहीले भने । घर नाप्न बोलायो, दुई तीन वटा घर भएपछि मात्रै आउँछु भन्छन्’ ती लाभग्राहीले भने ‘अब अरु लाभग्राहीहरुको घर बनेकै हुदैन, अरुको घर निर्माण नहुदा सम्म कति कुरेर बस्ने प्राविधिकहरुलाई ।’

फोटो खिचेर टेपले घरको लम्बाइ चौडाइ नापेर ल्याउनु भनेपछि आफूले त्यही अनुसार गरेको फुल्पिङडाँडाको एक लाभग्राहीले जानकारी दिए । मोबाइलमा फोटो खिचेर ल्याएपछि त्यही आधारमा वडा कार्यालयमा नै बसेर प्राविधिकहरुले रिपोर्ट बनाएर पेश गरीदिए ति लाभग्राहीले भने केही दिन पछि बैंकमा किस्ता पनि आयो ।

शहरी विकास तथा भवन डिभीजन कार्यालयले १२ स्थानीय तहका १०३ वडामा १२५ जना इन्जिनियरहरु खटाएको छ त्यस्तै ६७ जना सब-इन्जिनियर र ७२ जना अ.सव-इन्जिनियर खटाएको छ । सुरुमा पर्याप्त दरबन्दी नभए पनि अहिले लगभग दरबन्दी अनुसार प्राविधिक छन् । तर प्राविधिकहरुको लापरवाहीका कारण वास्तविक भूकम्पपीडित समस्यामा परेका छन् ।

निजी आवस निर्माणमा प्राविधिक सहयोग गरिरहेको शहरी विकास तथा भवन डिभीजन कर्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख इन्जिनियर टंक गौतम भने प्राविधिकहरुले त्यसो नगरेको दाबी गर्छन् । ‘कतै कतै हामीले त्यस्तो भएको सुनेका छौ,त्यस्ता प्राविधिकहरुलाई स्पष्टीकरण पनि लिएका छौं’ गौतमले भने ‘हाम्रा प्राविधिकहरु सबै लाभग्राहीको निर्माण भइरहेको घर घरमा नै पुगेर नाप जाँच गर्ने गरेका छन्,कही त्यस्तो भएको रहेछ भने हामी छानबिन गर्ने छौ ।’

सिन्धुपाल्चोकमा २३ हजार घरधुरीले तेस्रो किस्ता र ६८ हजार ३ सय १९ लाभग्राहीले दोस्रो किस्ताको रकम पाएका छन् । निजी आवास निर्माणमा केही ‘खुकुलो प्रावधान’ लागू भएपछि जिल्लामा अहिले ७३ हजार घरधुरीले नयाँ घर निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment