Comments Add Comment

संसदीय सुनुवाइ समिति १५ सदस्यीय हुने

प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना

३ असार, काठमाडौं । संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने भएको छ ।

आइतबार संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समिति १५ सदस्यीय प्रस्ताव गरिएको हो ।

जसमा १२ जना प्रतिनिधिसभाबाट र ३ जना राष्ट्रियसभाबाट समावेश गरिने नियमावलीको मस्यौदाकारसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संघीय संसदमा आइतबार पेश भएको हो । नियमावलीमा ८ परिच्छेद ४३ नियम र एक अनुसूची रहेको छ ।

नियमावलीमा राष्ट्रपतिको संबोधन, महाभियोग, राजस्व र व्ययको अनुमान, सन्धी सम्झौता पारित कसरी गर्ने भन्ने विषय सहमतिमा टुंग्याएको पोखरेलले बताए ।

नियमावलीमा संयुक्त बैठक र अधिवेशन कसले आहृवान गर्ने, प्रतिनिधिसभाले पारित गरेको र राष्ट्रियसभाले अस्वीकार गरेको विधेयक तथा प्रतिनिधिसभाले संशोधनसहित पठाएको तर राष्ट्रियसभा सहमत हुन नसकेको विधेयकहरु संयुक्त सदनमा पेश गर्नेलगायतका विषय राखिएको छ ।

संयुक्त बैठक सञ्चालन नियमावली निर्माणको जिम्मा प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली मस्यौदा समितिलाई नै दिइएको थियो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापतिसमेत रहेका सांसद पोखरेलले केही मतभिन्नता भए पनि सर्वसम्मतिले नियमावली निर्माण गरेको बताए ।

उक्त नियमावलीमा संशोधन राख्न असार ४ र ५ गतेको समय दिइएको छ । त्यसपछि उक्त नियमावलीमाथि संघीय संसदको असार ८ गते बस्ने संयुक्त बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment