Comments Add Comment

प्रदेश ५ मा बजेटप्रति सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि

आर्थिक ऐनको मर्म विपरितः प्रतिपक्ष

५ असार, बुटवल । प्रदेश ५ सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसदहरुले विरोध गरेका छन् । प्रदेश सरकारले पेश गरेको आर्थिक बर्ष ०७५/७६ को राजश्व र व्ययको अनुमान माथिको मंगलबारको छलफलमा सत्तारुढ दलका सांसदबाटै वजेटको विरोध भएको हो ।

छलफलमा सहभागि हुँदै नेकपाका सांसद दिपेश थारुले बजेटमा अति राम्रो नारा अगाडि सारिए पनि बजेटले समग्र प्रदेशलाई समेट्न नसकेको गुनासो गरे ।

उनले आवश्यकता र औचित्यको आधारमा भन्दा पनि पहुँच र प्रभावको आधारमा बजेट विनियोजन भएको बताए । बर्दिया जिल्लामा एउटा मात्रै योजना पारिनु न्यायसंगत मान्न नसकिने बताउदै उनले थप योजना समावेश गर्न माग गरे ।

उनले थारु समुदायमा देखा परेको सिकलसेल रोगबारे चाँच गर्ने उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे ।

छलफलको शुरुमा सहभागि प्रमुख प्रतिपक्षी दलकी सांसद रमा अर्यालले बजेटप्रति नेपाली कांग्रेसको नीतिगत रुपमै विरोध रहेको जनाउंदै बजेट आर्थिक ऐनको मर्म विपरीत आएको टिप्पणि गरिन् । बजेटको ठुलो अंश अबण्डामा राखिएको भन्दै उनले बजेट समानुपातिक र समावेशी नभएको दाबी गरिन् ।

उत्पादीत बस्तु र बिक्रिमा मात्र कर लगाउनुपर्ने बताउदै सांसद अर्यालले एकीकृत सम्पत्ति करको नाममा स्थानीय तहले जनताको ढाड सेक्न खोजेको आरोप लगाइन् ।

नेपाली कांग्रेसकै अर्का सांसद अष्टभुजा पाठकले १०/१० वटा योजनाको नाममा एकमुष्ठ बजेट छुट्याउने तर कुन योजनाका लागि कति रकम हो नखुलाउनुको कारण के हो भनि प्रश्न गरे ।

सांसदहरु कानून बनाउनका लागि मात्रै नभएर प्रदेशको विकास गर्नका लागि पनि संसदमा आएको बताउदै उनले सांसदहरुलाई बिकास निर्माणमा पनि सहभागि गराउन माग गरे । सत्ता पक्षीय सांसदहरु रेवतीरमण शर्मा, तुलाराम घर्ती मगरले बजेट समग्रमा सन्तुलित रहेको बताए ।

छलफलमा सहभागी कांग्रेस सांसद पुष्पा थरुनीले प्रदेशको चौतर्फी विकासले मात्रै प्रदेश समृद्ध हने बताउदै अहिलेकै अवस्थामा मोनोरेलको परिकल्पना गरिनु र ८० बर्ष कटेका नागरिकहरुलाई मात्रै घरमै गएर उपचार गर्नु जायज नभएको बताइन् ।

उनले पुर्ववर्ती सरकारले ६५ बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई बृद्ध भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरिन् । संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता सहषराम यादवले बजेट ल्याउने आफ्नै बिधि र प्रकृया हुने भन्दै प्रदेश सरकारले ल्याएको बजेट कुन बिधि र प्रकृयामा टेकेर ल्याएको हो प्रष्ट नभएको बताए ।

एक जना सांसदले एक/दुई योजना प्रस्ताव गर्ने विधि विश्वमा कहि नभएको बताउदै उनले बजेट एकतर्फी र असन्तुलित रहेको टिप्पणी गरे ।

नेपाली कांग्रेसकै अर्का सांसद भुवनेश्वर चौधरीले बजेटलाई अन्धो,पोके र असन्तुलितको संज्ञा दिदै बजेटमा आफ्नै हात आफै जगन्नाथ गरेको आरोप लगाए ।

छलफमा सहभागि सत्ता पक्षीय सांसद भोजप्रसाद श्रेष्ठले बजेट ल्याउनुपुर्व बिषय विज्ञहरुसँग पर्याप्त छलफल गरेको भए अझै राम्रो बजेट आउन सक्ने बताउदै बिषय विज्ञताको अभावका कारण नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम पनि बजेटमा नसमेटिएको गुनासो गरे ।

बजेटले बुटवल र रुपन्देही जिल्लाको बिकासलाई नसमेटेको गुनासो गर्दै उनले बिस्तृत बजेट ल्याउँदा रुपन्देहीलाई पनि समेट्नुपर्नेमा जोड दिए । छलफलमा सहभागि सत्ता पक्षीय सांसदहरु कमला देबी बि.क.,कृष्ण प्रसाद न्यौपाने,अजय शाही,इन्द्र प्रसाद खरेल,युवराज खनाल,खड्ग बहादुर खत्री,दिनेश पन्थीले बजेटको बचाउ गर्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सोमबार बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण स्थगित भएको थियो । यस अघि प्रदेशसभाको शुरुमा प्रदेशसभामा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले बजेटप्रति प्रमुख प्रतिपक्षी दलले उठाएका बिषयहरु मुख्यमन्त्रीले सम्बोधन गर्ने बताउदै संसदको नियमित काम कार्वाहीमा सहभागि हुन प्रतिपक्षी सांसदहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment