+
+

कसको सपना पूरा होला ! रसिया कि इजिप्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते २०:२४

काठमाडौं । रसियाले विश्वकप आयोजना गर्न अग्रसर हुँदा र अहिले विश्वकप हुँदा समय निकै फेरिएको छ । पहिलो खेलमा साउदी अरेबियालाई ५-० ले हराएको रसिया बलियो मनोबलका साथ इजिप्टविरुद्ध मंगलबार राति पौने १२ बजे खेल्दै छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक रसियासँगै साउदी अरेबिया, इजिप्ट र उरुग्वे छन् । फुटबल पण्डितहरु यो सहज समूह भएको र अघिल्लो चरणमा जाने दुई टिम सजिलै अनुमान गर्न सकिने बताउँछन् ।

पहिलो खेलमा हार भोगेको इजिप्ट र पहिलो खेलमा उत्कृष्ट जित निकालेको रसियाबीचको खेलले नै अघिल्लो चरणको अनुमान बलियो बन्नेछ । रसिया र इजिप्टको यो पहिलो भेट हो । साउदी अरेबिया कमजोर देखिएकाले इजिप्टको पनि रसियासँगको खेल नै निर्णायक खेल हो ।

रसियाले यसपटक समूह चरणको पहिलो खेलमा गरेको गोल गएको ब्राजिल विश्वकपको समूह चरणका तीन खेलमा गरेको भन्दा धेरै हो ।
कतिसम्म भने पहिलो खेलको जितपछि खेल सकिने वित्तिकै रसियाका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले प्रशिक्षक स्तानिस्लाभ चेर्चेस्कोभलाई बोलाएर सबै खेलाडीलाई बधाइ सुनाइदिन भनेका थिए ।

सन् २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेपछि रसियन फुटबलमा आशा बढेको थियो । त्यसपछिका कुनै पनि प्रतियोगितामा समूह चरणबाट माथि पुग्न नसकेको रसियामाथि घरेलु मैदानमा आश बढेको छ ।

सन् १९९० सम्म सोभियत युनियनका रुपमा विश्वकपमा सहभागी भएको रसिया १९९४ पछि रसियन टिमका रुपमा विश्वकपमा सहभागी छ । त्यसपछिका तीन विश्वकप सन् १९९४, २००२ र २०१४ मा खेलेको रसिया समूह चरणबाट माथि पुगेको छैन । सन् १९९८, २००६, २०१० मा रसिया विश्वकपमा छनोट हुन सकेको थिएन ।

उता पहिलो खेलमा उरुग्वेसँग १-० ले पराजित भएपनि इजिप्ट विश्वकप समूह ‘ए’को बलियो टोली मानिएको छ ।

रसियाविरुद्ध स्टार खेलाडी मोहम्मद सलाह मैदान उत्रने भएकाले पनि इजिप्टको मनोबल राम्रो छ । विश्वकप छनोटमा सलाहले पाँच खेलमा पाँच गोल गरेका थिए ।

सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्ट यो पटक लयमा पनि छ ।

यसअघिका विश्वकपमा भने इजिप्टको नतिजा सम्झनलायक छैन । इजिप्ट समूह चरणमै हार खाएको थियो । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश भने गरिएको छ ।

कसले के भने ?

रसियन टिमका मिडफिल्डर एन्टन मिरानचुकले इजिप्टलाई जित्नै पर्ने भएकाले सलाह मैदान उत्रने भए पनि आफूहरु पनि ११ खेलाडी नै रहकाले फरक नपर्ने बताएका छन् । ‘सलाह खेल्छन् नै । इजिप्टका लागि उनी आवश्यक पनि छन् । तर, खेल्ने ११ जनाले नै हो । हेरोँ सलाहले के गर्छन्’ उनले भने ।

इजिप्टका मिडफिल्डर मोहम्मद एलनेनीले आफूहरुले रसियालाई हराउने विश्वास रहेको बताउँछन् । ‘घरेलु टिम भएकाले उनीहरुसँगको खेल कठीन हुने निश्चित छ । हामीसँग जितको विकल्प छैन । यसैले हामी ध्यान लगाएर खेल्ने छौँ’ उनले भने ।

‘हामी जतिसक्दो पछिसम्म विश्वकपमा रहन चाहन्छौँ । यसैले पनि रसियासँगको खेल महत्वपूर्ण छ । विश्वकपमा हुनु र यहाँ खेल्नु ठूलो सपनाको कुरा हो ।’

हेर्न लायक खेलाडी

मोहम्मद सलाह – इजिप्ट

लिभरपुलका इजिप्टियन किंग मोहम्मद सलाहले भर्खरै सकिएको सिजनमा निकै राम्रो प्रदर्शन गरे । उनले पि्रमियर लिगका ३६ खेलमा ३२ गोल गरे र सिजनको मात्रै होइन आधुनिक पि्रमियर लिगको एक सिजनमा धेरै गोल गर्ने खेलाडी बने ।

यस्तै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म ल्याउने क्रममा उनले १० गोल गरेका छन् ।

उनले कंगोसँगको खेलमा गरेको उत्कृष्ट गोलकै कारण इजिप्टले विश्वकप यात्रा तय गर्न सक्यो । उनकै जोडबलमा इजिप्टले २८ वर्षपछि विश्वकप खेल्दैछ । पहिलो खेलमा उरुग्वेविरुद्ध चोटका कारण नखेलाइएका उनी रसियाविरुद्ध खेल्ने छन् ।

एलेक्जेण्डर गोलोभिन – रसिया

२२ वर्षका गोलोभिन रसियन टिमका राम्रा मिडफिल्डर हुन् । उनी सन् २०१५ देखि राष्ट्रिय टिममा छन् ।

गएको अप्रिलमा युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलविरुद्ध सीएसकेए मस्कोका गोलोभिन उत्कृष्ट देखिए । ४-१ ले हारेको खेलमा समेत समर्थक र फुटबल विश्लेषकको नजरमा पर्न सक्नु सानो विषय होइन ।

उनलाई ‘गेम चेञ्जर’को रुपमा हेरिन थालिएको छ । मिडफिल्डमा रहेर उनले पूरा खेल आˆनो टिमको पक्षमा मिलाउने खुबी राख्छन् । अहिले उनीमाथि स्पेनिस र इंग्लिस क्लबले नजर राखिराखेका छन् ।

मंगलबार इजिप्टविरुद्धको खेलमा उनको भूमिका प्रमुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?