Comments Add Comment

ठोरी-केरूङ मार्ग कालोपत्रे हुँदै, चितवन-काठमाडौंको दूरी पनि छोटिने

७ असार, चितवन । भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार चितवनतर्फको साढे चार किलोमिटर कालोपत्रे र साढे ६ किलोमिटर सडकको बेस विच्छ्याउने काम भइरहेको छ । राप्ती नगरपालिकाको आँपपानीदेखि थाकलटारसम्म सडक कलोपत्रे गर्न बेस बिच्छ्याइएको छ ।

धादिङतर्फ भने ११ किलोमिटर कालोपत्रे गर्ने ठेक्का बमोजिम ८ किलोमिटर सडक चौडा पार्ने काम भएको प्रमुख झाले जानकारी दिए । चितवन र धादिङबाट ११/११ किलोमिटर कालोपत्रे गर्न २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको छ ।

२२ किलोमिटर सडक निर्माणको काम असोज महिनाभित्र सम्पन्न गरी बाँकी सडक खण्ड निर्माणको लागि अर्को टेण्डर आहृवान गर्ने सरकारी योजना रहेको झाले बताए । ठेक्का सम्झौता भएको २२ किलोमिटर सडकको काम ७० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख झाले दावी गरे ।

भण्डारा-मलेखु सडक चार वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । सो सडक खण्डअन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पहाडी सडक निर्माण हुनेछ ।

भण्डाराबाट मलेखुसम्मको सडकखण्ड ६२ किलोमिटर भए पनि ठोरीदेखि मलेखुसम्म १३२ किलोमिटर सडक निर्माण हुने छ । यो सडकमा साढे पाँच मिटर कालोपत्रे र सोल्जरसहित सात मिटरको निर्माण हुने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख झाले बताए । ठोरीबाट भण्डारा जोड्न चितवन निकुञ्जले अनुमति दिनुपर्ने भएकाले केही झन्झट रहेको कार्यालयका प्रमुख झाको भनाई छ ।

पुल निर्माण पनि हुँदै

चेपाङ मार्गअन्तर्गत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाप र वडा नं. १२ ढिटार जोड्ने लोथर खोलामा ९० मिटरको पुल निर्माणको काम भइरहेको छ । १४ करोडको लागतमा पुल निर्माणको काम भइरहेको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।

ठोरीबाट सुरु गरेर रसुवागढीसम्म सो सडक पुर्‍याउने सरकारी योजना रहे पनि तत्काल चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धार्दिङबाट निर्माण कार्य सुरु भएको छ । वासवाङ ताल्तीखोला छेउबाट सुरूङमार्ग बनाउने प्रस्ताव एशियाली विकास बैंकले गरेको छ । यसो हुँदा भण्डारा-मलेखु सडकको ६२ किलोमिटरको दूरी ५० किलोमिटरमा छोटिने छ ।

‘पुरानो ट्रयाकबाट माथि स्थानीयहरुको घरसम्म जाने सडक पनि कायम हुन्छ मुुख्य हाइवेका रुपमा खोलाको किनारै किनार सडक जान्छ,’ चितवन १ का सांसद सुरेन्द्र पाण्डेले भने, ‘जनताको वस्ती वस्तीमा सडक लैजानु राम्रो कुरा हो तर हाइवेलाई अनावश्यक घुमाउनु राम्रो होइन ।’

चेपाङ मार्ग यसै वर्षदेखि एडीबीको प्रोजेक्टमा परेको छ । सन् २०१९ बाट सडकको स्तरोन्नती र पिचको काम अगाडि बढ्ने नेता पाण्डेले जानकारी दिए । सडक २ लेनको हुनेछ ।

चीन र भारतलाई सबैभन्दा छोटो दूरीमा जोड्ने मार्गको घाँटी नै यही चेपाङ मार्ग हो । धुन्चेको बाटो परिवर्तन गरी बेत्रावतीदेखि त्रिशुली खोलाको किनारै किनार स्याफ्रुबेंसीसम्म नेपाली सेनाको ट्रयाक खोल्ने भर्खरै सिध्याएको छ । धादिङको गल्छीदेखी त्रिशुलीसम्म पनि सडक फराकिलो बनाउने काम सुरु भएको छ ।

भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ । चेपाङमार्गले १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो हुनेछ । यसले समय र इन्धन दुवैको बचत गर्छ

चेपाङ मार्गका तीन फाइदा

भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाइदा देखिएको छ । पहिलो, नारायणगढ-काठमाडौं सडक खण्डमा सवारी साधनको चाप घट्नेछ भने सडककै कारणले पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधारिने छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाउनेछन् ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ । भण्डारा-मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दूरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । मलेखु-भण्डारा ६२ किलोमिटर दूरीलाई ५० किलोमिटरभित्रै झार्ने तयारी गरिएको छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखुसम्म पुग्न ४४ किलोमिटर छोटो दूरी छोटो पर्नेछ ।

साथै यो सडक नारायणगढ-मुग्लिन सडकखण्डको विकल्पका रुपमासमेत प्रयोग सकिने सजिलो सडक खण्डमध्येको एक बन्ने छ । १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो भएसँगै यसले समय र इन्धनको बचत गर्छ ।

चेपाङहरू बसमा सरर…

सो सडकको ट्र्याक खोलेपछि भण्डाराबाट यौरेलीटारसम्म सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङ समुदायलाई आफूले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ,’ राप्ती नगरपालिका १३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिँडेर भण्डारामा जानुपर्थ्यो अहिले चाँडै पुगिन्छ ।’

उनले आफूले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको सुनाए । सडकको सहज पहुँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अवस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा बेच्नुपर्ने बाध्यता थियो ।

चेपाङले उत्पादन गरेका खसीबोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए । तर अहिले भाउ समेत पाउन थालेका छन् ।

उनीहरुको सामान बिक्री गर्ने मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मूल्यमा बिक्री गर्न थालेको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । ‘सडककै कारण चेपाङ बस्तीमा चहलपहल सुरु भएको छ,’ मेयर बरालले भनिन्, ‘अहिले सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन हुँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment