Comments Add Comment

फ्रान्सविरुद्ध आक्रामक खेल्ने सोचमा पेरु

७ असार, काठमाडौं । विश्वकप समूह चरणको आफ्नो दोस्रो खेलमा बिहीबार राति पौने ९ बजे फ्रान्स र पेरु खेल्दैछन् । पहिलो खेलमा अस्ट्रेलियालाई हराएर तीन अंक लिएको फ्रान्स बलियो र डेनमार्कसँग हारेको पेरु कमजोर स्थितिमा छन् ।

फ्रान्सले पेरुसँग पनि अस्टे्रलियाविरुद्ध खेलेकै खेलाडीलाई उतार्दै छ । तर, त्यसमा ओलिभर जिरउडलाई सुरुवाती ११ मा नै राख्ने सम्भावना धेरै छ । अस्ट्रेलियाविरुद्ध विजयी गोल गर्दा उनको भूमिका प्रमुख थियो ।

यस्तै डेनमार्कसँग १-० ले हारेको खेलमा पछि मात्रै मैदान प्रवेश गरेका पेरुका पाउलो गुरेरो फ्रान्सविरुद्ध भने सुरुवाती ११ मै रहने सम्भावना छ । पेरुले अट्याकिङ खेल्नुपर्ने भएकाले पनि उनलाई सुरुमै खेलाउन लागिएको हो । फिफाबाट १४ महिनाको प्रतिबन्धमा परेका उनलाई खेल्न दिन अस्टे्रलिया, डेनमार्क र फ्रान्सले नै फिफासँग आग्रह गरेका थिए ।

विश्वकपको दाबेदार टिमका रुपमा हेरिएको फ्रान्सले अस्टे्रलियासँगको खेलमा अन्तिम समयमा गोल गरेर जित निकालेको थियो । यसैले पनि पेरु सम्हालिएर खेल्ने हो भने नतिजा यसै हुन्छ भन्न सहज छैन । फ्रान्स टिमका स्टार स्ट्राइकरहरु नै पेरुका लागि मुख्य चुनौती हो ।

फिफा वरियतामा सातौं स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह ‘ए’ को विजेता बनेर विश्वकपमा आएको हो । फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ ।

अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको टोली हो ।

यता पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसअघि उसले सन् १९३०, १९७० र १९७८ को विश्वकप खेलेको थियो । लामो समयपछि विश्वकपमा फर्किएको टोलीको हौसला बढाउन अहिले ४० हजारभन्दा धेरै समर्थक पनि रसिया पुगेका छन् ।

पेरुका धेरैजस्तो खेलाडी मेक्सिकोमा व्यावसायिक फुटबल खेल्छन् । यसपटक पहिलो खेल हारे पनि समूह चरणमा पेरुको सम्भावना कमजोर छैन । फिफा वरियतामा ११ औं स्थानमा रहेको पेरु अप्रत्याशित टोलीको रुपमा खेलमा र्फकन सक्छ ।

यसअघि सन् १९८२ मा भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १-० ले हराएको थियो । त्यसपछि यी दुई टोलीबीच भेट भएको छैन ।

फ्रान्सले प्रमुख प्रतियोगितामा गरेका पछिल्लो १३ गोलमध्ये ९ गोलमा एन्टोनी गि्रजम्यानको भूमिका प्रमुख छ । त्यसमा सात गोल उनले गरेका छन् भने दुई गोलको अवसर मिलाएका छन् । यसैले पेरुसँगको खेलमा पनि गि्रजम्यान नै फ्रान्सका लागि प्रमुख छन् ।

पेरुले विश्वकपमा युरोपियन देशसँगका पछिल्लो पाँच खेलमा जित्न सकेको छैन । जसमा दुई खेल बराबरी भएको छ भने तीन खेल हारेको छ । युरोपियन देशलाई पेरुले पछिल्लो पटक हराएको सन् १९७८ मा हो । जतिबेला पेरुले स्कटल्याण्डलाई हराएको थियो ।

यसपटक पहिलो खेलमा डेनमार्कविरुद्ध १७ पटक पोस्टमा बल प्रहार गरेको पेरुले गोल भने गर्न सकेको थिएन । यसैले फ्रान्सविरुद्ध आक्रामक रुपमा खेल्न लागेको पेरुले कडा चुनौती दिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment