Comments Add Comment

‘रविन्द्र मिश्र र बाबुरामलाई मिलाएर ‘तेस्रो पोल’ बनाउँछु’

'कम्युनिष्ट र कांग्रेस गिद्धजस्तै हुन्, पुतलीजस्तो पार्टी बनाइन्छ'

८ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी परित्याग गरेका केशव दाहाल शुक्रबार विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । तर, उनले दुबै पार्टीभित्र केही कमजोरी रहेको स्वीकार गर्दै अब आफ्नो मिसन रविन्द्र मिश्र, डा. बाबुराम भट्टराई र अन्यलाई समेत मिलाएर तेस्रो राजनीतिक धारको निर्माण गर्नेतर्फ केन्द्रित हुने बताएका छन् ।

विगतमा सुनसरीमा तत्कालीन नेकपा एमालेमा रहेर काम गरिसकेका दाहाल नयाँ शक्ति पार्टीका संस्थापक केन्द्रीय नेता हुन् । नयाँशक्तिमा लाग्नुअघि उनले इटहरीमा डम्बर खतिवडासँग मिलेर वैकल्पिक विचारमञ्च गठन गरेका थिए । दाहालका सहयात्री खतिवडा अहिले नयाँशक्ति पार्टीका प्रवक्ता छन् । दाहाल भने रविन्द्र मिश्रतिर लागेका छन् । दाहाल र खतिवडा दुबै वौद्धिक व्यक्तित्व मानिन्छन् । उनीहरु राष्ट्रिय पत्रिकामा लेख समेत लेखिरहने विश्लेषक हुन् । दुबैले पुस्तकसमेत लेखेका छन् ।

डा. बाबुराम भट्टराईको साथ छाडेर रविन्द्र मिश्रतिर लागेका दाहालले अनलाइनखबरसँगको संक्षिप्त अन्तरवार्तामा नेकपा र नेपाली कांग्रेस ठूला भए पनि गिद्धजस्तै भएको बताए । उनले भने- ‘पुराना पार्टीहरु ठूला त छन्, तर सुन्दर छैनन् । हामीले चाहेको के हो भने पुतलीजस्तो सुन्दर पार्टी बनोस् ।’

दाहालले डा. भट्टरार्इलार्इ छाडेर किन रविन्द्र मिश्रलार्इ राेजे ? सुनाैं उनका कुराः

तीन वर्ष पहिले आफैंले स्थापना गरेको नयाँ शक्ति पार्टीमा एकाएक परित्याग गर्नुभयो, किन ?

खासगरी मैले पार्टीमा राजीनामा जेठ ११ गते नै दिएको हो । लामो समयदेखि नै हामी पार्टीमा छलफल गर्दैथियौं, वैकल्पिक पार्टी कस्तो बनाउने, वैकल्पिक पार्टीका मानकहरु के हुन् । हामीले कसरी जनतालाई अपील गर्ने भन्ने विषयमा हामी लामो समयदेखि छलफल गर्दै थियौं र त्यहाँ कुरा मिलिराखेको थिएन । खासगरी वैकल्पिक पार्टीको सिद्धान्त र व्यवहारलाई जोड्ने कुरामा हामीमा केही समस्याहरु थिए, ती विषयमा छलफल चलिराखेको थियो । त्यसमा अलिकति कुरा मिलेन । त्यही कारण मैले जेठ ११ गते डा. बाबुरामजीलाई हार्दिकतापूर्वक राजीनामा दिएँ ।

हाम्रो नयाँ शक्तिको पार्टी स्थापना दिवस जेठ ३० गते थियो । पार्टीको एउटा संस्थापक सदस्य भएको हिसाबले मेरो दायित्व त्यो स्थापना दिवससम्म जो साथीहरु जोश जाँगरका साथ स्थापना दिवस मनाउँदै हुनुहुन्छ, उहाँहरुलाई किन दाँतमा ढुंगा लागेजस्तो गरेर मेरो राजीनामाले डिस्टर्ब गर्ने, त्यो दिवस अगाडि बढोस् र असार १ गते पार्टीको बैठकमा मेरो राजीनामाबारे छलफल होस् । त्यो छलफलले अलिकति नयाँ दिशा समात्यो भने म मेरो राजीनामाबारे विचार गर्छु । अन्यथा म पार्टीमा योगदान गर्न सक्दिनँ भनेर मैले भनेको थिएँ । र, असार १ गतेको बैठकमा साथीहरुले मेरो राजीनामा स्वीकृत गर्नुभो । मैले ३ वर्ष सँगै काम गरेका साथीहरुलाई धन्यवाद दिएँ ।

तपाईले डा. बाबुरामजीसँग कुरा मिलेन भन्नुभयो । के कुरा मिलेन ?

खासगरी विचारमा हामीले अलिकति काम गर्‍यौं । डा. साहेबले ५ स भन्नुभयो, त्यो ठीकै थियो । हामीले दुईवटा अलि महत्वपूर्ण कुरा गर्‍या होः एउटा- डेमोक्रेसीलाई कसरी बुझ्ने ? हामीले भनेको के हो भने पार्टी सहभागितात्मक लोकतन्त्रमा जानुपर्छ । दोस्रो- समाजवादको कुरा गर्दा पनि लेनिनले कुरा गरेको राज्य नियन्त्रित समाजवादको मोडलमा होइन कि जनसहभागितामूलक समृद्ध समाजवादको मोडलमा भन्यौं । यी दुईवटा कुरा हामीले अलि दर्‍होसँग भन्यौं, त्यो ठीकै थियो ।

तर, यसलाई व्यवहारमा प्रयोग गर्ने कुरामा गहिरो लोकतन्त्र भनिसकेपछि पार्टीभित्रको लोकतन्त्र के हो त ? पार्टीमा हामीले कार्यकर्तालाई सार्वभौम भन्यौं । सार्वभौम कार्यकर्ताहरुको अभिव्यक्ति कसरी गर्ने ? पार्टीमा हामीले सुशासन र सदाचारलाई कसरी अभिव्यक्त गर्ने ?
त्यसैगरी हामीले शक्ति पृथक्कीकरणको कुरा गरेका छौं, वैकल्पिक पार्टीहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मोडलमा हुनुपर्छ । र, शक्ति पृथक्कीकरण हुनुपर्छ । एउटै मान्छे प्राधिकार बन्ने र उसले सबैखालका निर्णयहरु गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्यौं । हामीले कलेक्टिभ लिडरसीपको कुरा गर्‍यौं । यी चिजहरुमा हामीले उत्कृष्ठ उदाहरणहरु प्रस्तुत गर्न सकेनौं ।

तपाईले उठाउनुभएका यी विषयमा डा. बाबुराम भट्टराई पनि सिद्धान्ततः असहमत हुनुभएजस्तो लाग्छ र ?

सिद्धान्तमा बाहिर कुरा गर्दाखेरि त कुरा यही नै हो । यसमा त्यति धेरै फरक पनि छैन । तर, यसलाई व्यवहारमा प्रयोग गर्ने कुरामा केही विरोधाभाषहरु भए । भनाइ र गराइमा फरक पर्‍यो भने हामी टुंगोमा पुग्न सक्दैनौं । त्यसैले हामीले जे भनिरहेका छौं, त्यो गरौं भन्ने मेरो प्रस्ताव हो । नगरौं भन्ने त उहाँको कुरा पनि भएन, गरौं गरौं, गर्ने त्यही हो भन्ने तर व्यवहार त्यतातिर गएन । त्यसैले गर्दा मेरो अलिकति असहमति त्यहाँनेर थियो ।

जनसंगठनकै कुरामा पनि मेरो भनाइ के थियो भने बेतनधारीहरुको संगठन नबनाऔं । जस्तो प्राध्यापक, कर्मचारीहरको संगठन नबनाऔं । विद्यार्थी संगठनको कुरा गर्दा पनि प्लस टुपछि, रेगुलर विद्यार्थी र ३० वर्षभन्दा कम उमेरकालाई मात्रै विद्यार्थी संगठनमा राख्ने जस्ता कुराहरु हामीले पार्टी निर्माणका बेलामा भनेका थियौं । यसलाई व्यवहारमा प्रयोग गर्न सकिएन ।

अर्को कुरा कम्युनिष्ट पार्टीहरु मिलेर यत्रो ठूलो म्यासेज दिइराखेका छन्, हामीले वैकल्पिक पार्टी र वैकल्पिक शक्तिहरुको तेस्रो पोल बनाउनुपर्छ र वैकल्पिक शक्तिहरुको एकीकरणको आह्वान गर्नुपर्छ भन्यौं । र, यो एकीकरणको नेतृत्व डा. भट्टराईले लिनुपर्छ भनेर हामीले भन्यौं ।
मेरो भनाइ के थियो भने निर्वाचनपछि अरुले एक ढंगको म्यासेज सिर्जना गरिराखेका छन् । हामीचाहिँ अलि ठहरावमा आयौं । हामीले अलिकति ‘पुस’ गरौं । गाडी बाटोमा रोकियो भने ठेल्नुपर्छ नि हैन ? त्यसैगरी अलिकति पुस गरौं भन्ने मेरो कुरा थियो । केही प्लानहरु पनि मैले प्रस्तुत गरें । तर, त्यसलाई कार्यान्वयन गर्ने कुरामा अलि धेरै उदासीनता हो कि जस्तो मलाई लाग्यो ।

जस्तो-विवेकशील साझा पार्टीसँगको एकता हामीले प्रस्ताव गरेको हो । कम्युनिष्टहरु मिलिराखेका छन्, विवेकशील साझा मात्रै होइन, बाहिरका अरु शक्तिहरु पनि मिलाएर एउटा समूह बनाऔं र एकताका लागि वार्ताको प्रक्रिया अगाडि बढाऔं, साझा अभियानहरु पनि सँगै गर्दै जाऔं र एउटा वैकल्पिक शक्तिको बलियो ध्रुब निर्माण गरौं । यसो गर्दा हामी तेस्रो शक्ति हो भनेर दाबी गर्न सक्छौं । तर, यसमा जुन लेबलको गतिशीलता चाहिन्थ्यो, त्यो भएन भन्ने मेरो कुरा हो ।

तर, रविन्द्र मिश्रहरुकै अरुचीका कारण नयाँशक्तिसँग एकता हुन नसकेको चर्चा सुनिन्छ नि नयाँशक्तिभित्र ?

समस्याचाहिँ दुईतिर नै हो । मेरो भनाइ के हो भने सिनियर लिडरको हिसाबले डा. भट्टराईले यसको प्रयत्न गर्नुपथ्र्यो । उहाँ त वैकल्पिक पार्टीको एउटा सिनियर लिडर हो नि त । किनभने उहाँ पूर्वप्रधानमन्त्री हो । उहाँले एकताको पहल र अभिभावकत्व लिनुपथ्र्यो ।

तर, विवेकशील साझा पार्टीका नेताहरु डा. बाबुराम लगायतका कम्युनिष्ट पृष्ठभूमिका मान्छेलाई मन पराउँदैनन् र घृणा गर्छन् भन्ने पनि सुनिन्छ नि ?

स्वाभाविक हिसाबले यो नयाँ पार्टी हो । कम्युनिष्टहरुको आफ्नै खालको ‘न्यारेसन’ छ । त्यो न्यारेसन विवेकशील साझाका साथीहरुले बुझ्नुहुन्न, स्वाभाविक हो । र, अहिले त्यो न्यारेसनले काम गर्दैन भन्ने मलाई पनि लाग्छ । कांग्रेस र कम्युनिष्टहरुले समाजलाई जुन न्यारेटिभ दिइराखेका छन् त्यसले अब काम गर्दैन । तर, नयाँ भन्दैमा राजनीतिक न्यारेसन भएन भने त्यसले पनि काम गर्दैन । त्यसैले यहाँनेर म योगदान गर्छु ।

तपाई अहिले दुबै पार्टी मिल्नुपर्छ भन्दै हुनुहुन्छ, यी दुई पार्टीलाई मिलाउनुको साटो एक्लै पार्टी परिवर्तन किन गरेको ? यो त अलि मिलेन कि ?

निश्चय नै मैले मिलाउने प्रयत्न गरें । तर, मेरो प्रयत्न परिणाममुखी हुन सकेन । नयाँ शक्तिभित्र मेले यो प्रस्ताव लामो समयदेखि गरिराखेको थिएँ । त्यसैले मैले के भनें भने नयाँशक्तिमा भन्दा अलिकति राम्रो क्यारेक्टर मैले विवेकशील साझातिर देखिराखेको छु, त्यही भएकाले म त्यतातिर योगदान गर्छु । दोस्रो मेरो काम के हो भने वैकल्पिक शक्तिहरुको एकीकरण । त्यतातिर म योगदान गर्न चाहन्छु ।

र, अहिले पनि मैले डा. बाबुरामजीलाई अथवा रविन्द्र मिश्रजीलाई अथवा सबै साथीहरुलाई भन्ने कुरा के हो भने यही काममा म अगाडि बढ्छु । वैकल्पिक पार्टी र वैकल्पिक शक्तिहरुको एकीकरण गराउने काम म गर्छु । नयाँशक्ति पार्टी, बाहिरका शक्तिहरु अनि विवेकशील साझा सबै एक भएर एउटा बलियो तेस्रो धु्रब बनाउनुपर्छ ।

तर, अब पार्टी छाडिसकेपछि नयाँशक्तिसँग तपाईको सम्बन्ध बिग्रिएन र ?

नयाँ शक्ति पार्टी हामीले बनाएको हो । तर, हामीले भनेको जस्तो भएन । तर, जहाँसम्म सम्बन्धको कुरा छ, मैले सबै साथीहरुलाई भनेको छु, व्यक्तिगतरुपमा मेरो कुनै गुनासो छैन । हाम्रो सम्बन्ध अहिले पनि हार्दिकतापूर्ण छ । त्यसैले सम्बन्ध विग्रनुपर्ने कुनै कारण छैन । तर, एउटा ठूलो मिसनका लागि मैले यो प्रयत्न गर्न खोज्या हो । मेरो मिसन भनेको यी पार्टीहरुको एकीकरण नै हो ।

पार्टी परिवर्तन गरिरहँदा तपाईको सूरताल कहाँनेर नमिलेको जस्तो देखिन्छ भने यी पार्टीलाई एकीकृत गर्नै छ त वीचैमा काँध किन फेरिराखेको ?

साथीहरुले एउटा हिसाबले त्यो भन्न सक्नुहुन्छ । तर, मलाई के लाग्यो भने विवेकशील साझामा अलिकति राम्रा सम्भावनाहरु छन् भने त्यसलाई पनि प्रवर्द्धन गर्दै जाने । तपाईले अघि भनेजस्तो त्यहाँ केही कन्फ्युजन छ र पोलिटिक्सलाई अलि फरक ढंगले बुझ्ने साथीहरु छन् भने म गएपछि त्यहाँ अलिकति पोलिटिकल ओरियन्टेसन पनि बढ्छ । यसका लागि म प्रयत्न गर्छु । एक्लै हिँडेर काहीँ पनि पुगिँदैन भनेर म साथीहरुलाई अनुशिक्षण गर्छु । यसले एकीकरणमा बल पुग्छ भन्ने मलाई लाग्छ ।

विवेकशील साझामा प्रवेश गरिरहँदा तपाईले त्यहाँ के त्यस्तो राम्रो चिज देख्नुभयो, जसले तपाईलाई आकषिर्त गर्‍यो ?

विवेशकशील साझामा अलिकति युवाहरुको आकर्षण देख्छु । पछिल्लो समय राजनीतिप्रति युवाहरुमा जुन वितृष्णा छ, त्यसलाई हामीले ब्रेक नगरिकन अब नयाँ सम्भावनाको पार्टी बनाउन सक्दैनौं । अलिकति नयाँ मान्छेहरु, पछिल्लो समयको ज्ञान विज्ञानलाई बुझ्ने मान्छेहरु, पछिल्लो समयको समाजको आवश्यकतालाई बुझ्ने मान्छेहरु र पछिल्लो समयको भाषा बुझ्ने मान्छेहरु राजनीतिमा चाहिन्छ । यो अलिकति विवेकशील साझामा छ भन्ने म देख्छु । यद्यपि त्यहाँ राजनीतिक अभिमूखीकरण आवश्यक छ ।

तपाईलाई विवेकशील साझा पार्टीले कुन पदीय जिम्मेवारी दिएको छ ?

अहिले म संयोजन समितिमा छु । साथीहरुले यो निर्णय गरिसक्नुभएको छ ।

तपाई अब ‘तेस्रो पोल’ बनाउने भन्दैहुनुहुन्छ । माओवादी र एमाले मिलेर बलियो कम्युनिष्ट शक्ति बनिरहेको अवस्थामा अब त्यस्तो तेस्रो पोल बन्ला र ? नेपाली कांग्रेसकै अवस्था त दयनीय भैराखेको छ…

ठूलो पार्टी बन्ने कुराले नयाँ सम्भावनालाई छेक्दैन । निश्चय नै वामपन्थीहरुको एकीकरणपछि एउटा बलियो कम्युनिष्ट पार्टी त बन्यो । तर, यो पुरानोहरुको एकता हो । त्यो बलियो त छ, तर त्यो पुरानोहरुको एकता हो ।

कांग्रेस पक्कै पनि बलियो छ, तर त्यो पुरानो पार्टी हो । कांग्रेसले भन्ने गरेको लोकतन्त्रले अहिलेका जनताको अपेक्षा पूरा गर्दैन । कम्युनिष्टहरुको संगठनात्मक प्रणाली हेर्नोस् न, दुईजना नेता मिलेपछि सम्पूर्ण पार्टीको विचार र संगठनात्मक संरचनाहरु एक हुने ! त्यस्तो हुन्छ र ?
हामीले त नदीजस्तो चलायमान पार्टीको कुरा गरिराखेका छौं । त्यसैले यी पुराना शक्तिहरु ठूला होलान्, तर तेस्रो पोल बन्ने सम्भावना पुराना ठूलाहरु हुँदैमा अवरुद्ध हुँदैन ।

म कहिलेकाहीँ के भन्ने गर्छु भने गिद्ध ठूलो छ नि हैन ? पुतली सानो छ । कुन राम्रो हुन्छ ? पुराना पार्टीहरु ठूला त छन्, तर सुन्दर छैनन् । हामीले चाहेको के हो भने पुतलीजस्तो सुन्दर पार्टी बनोस् । जनताले खोजेको जस्तो पार्टी बनाउन सक्यौं भने जनताको समर्थन हुन्छ र ठूलो पार्टी बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment