Comments Add Comment

आमा कांग्रेस, बा र श्रीमती नेकपा, म स्वतन्त्र !

‘यमराज’ अहिलेका प्रधानमन्त्रीलाई भनेको होइन

८ फागुन, काठमाडौं । पछिल्लो तीन/चार दिनमा राष्ट्रिय बहसको विषय नै बन्यो एउटा गीत । पशुपति शर्माले गाएको सो गीतलाई लिएर एकाएक उत्पन्न तरंग अझै मत्थर भइसकेको छैन ।

‘लुट कान्छा लुट..’ बोलको गीत युट्युबमा अपलोड गरेको दुई दिनपछि शर्माले हटाएका थिए । त्यसपछि सत्तारुढ दलका कार्यकर्ताको दबाव र धम्कीका कारण गीत हटाउन वाध्य भएको भनेर सामाजिक सञ्जालमा व्यापक चर्चा भयो । गीतको पक्ष र विपक्षमा जनता बाँडिए ।

शर्माले शब्दहरु परिमार्जित गरेर फेरि राख्छु भनेका थिए । उनलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत जस्ताको त्यस्तै फेरि अपलोड गर्न आग्रह गरेको थियो । तर, अब उनी यो गीत फेरि युट्युबमा अपलोड गर्ने मनस्थितिमा छैनन् ।

अनलाइनखबरसँगको वार्तामा शर्माले आफूले कसैको चित्त दुखाउन नचाहेको भन्दै गीत अपलोड नगर्ने मनसाय बनाएको बताए । उनले भने, ‘मेरो गीतले दिन खोजेको सन्देश सबैकहाँ पुगिसकेको छ, अब युट्युबमा फेरि हालिरहनुपर्छ भन्ने लागेको छैन ।’

प्रस्तुत छ गायक शर्मासँगको कुराकानी–

‘लुट्न सके लुट.. गीत के उद्देश्यले कसरी सिर्जना गर्नुभयो ?

म यो गीत सिर्जना गरेको होइन, संकलन गरेको भन्न रुचाउँछु । म बन्द कोठाभित्र बसेर गीत रच्दिनँ । कार्यक्रमका सिलसिलामा धेरै ठाउँमा गइन्छ । धेरै मानिसहरुका कुरा सुनिन्छ । देशका बारेमा बुढापाकादेखि युवाले गर्ने कुराहरु लगभग निराशावादी हुन्छन् । बुढापाकाहरु पनि नेताहरुले देश बिगारे भन्छन् । युवाहरु देशमा बसेर केही गर्न सकिएन, सिस्टम भएन भन्छन् । हजुरबा पुस्तादेखि हाम्रो पुस्तासम्म कुनै सुधार छैन ।

म कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छु किनभने कलाकार सबैको साझा हो । परिवारको कुरा गर्ने हो भने मेरी श्रीमती नेकपाका समर्थक हुन् । बुवा पनि नेकपा । उहाँ त झण्डै नेकपाबाट वडा अध्यक्षमा उठ्नुभएको थियो । आमाचाहिँ कांग्रेस ।

सञ्चारमाध्यम हेर्दा पनि प्रायः नकारात्मक समाचारहरु नै आइरहेका हुन्छन् । खासगरी भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको छ । यीनै कुराहरुलाई संकलन गरेर मैले गीतको रुप दिएको हुँ । यति राम्रो सुन्दर देशलाई भ्रष्टाचारले थिलथिलो पारेको देख्दा संगीतको माध्यमले केही सन्देश दिनुपर्छ भन्ने लागेर गीत बनाएँ ।

तर, गीतले त गलत सन्देश दियो नि होइन ?

यो त बुझाइमा भर पर्छ । गीतका शब्दहरुलाई कसले ग्रहण गर्छ भन्ने हो । शब्दमा लुट कान्छा भए पनि यो भ्रष्टाचारविरोधी गीत हो । व्यंग्यात्मक गीत भएकाले शाब्दिक अर्थमा जानु भएन ।

सबैले व्यंग्यका रुपमा नबुझ्न सक्छन् । उनीहरुले गीतलाई सीधा अर्थमा बुझ्न पनि त सक्छन् नि ?

हामीले म्युजिक भिडियोमा अगाडि नै लेखेका छौं कि यो व्यंग्यात्मक गीत हो । गीतको व्यंग्यलाई बुझौं, भ्रष्टाचारीलाई बहिष्कार गरौं भनिएको छ । नेपालमा व्यंग्यात्मक कुरा आमजनताले बुझ्दैनन् भन्ने म मान्दिनँ । जनता सचेत छन् । गाईजात्रादेखि प्रहसनहरुमा व्यंग्य गरिएका हुन्छन् । यो पहिलेदेखि नै चली आएको छ । मैले मात्रै पहिलोपटक व्यंग्य गरेको होइन ।

यो गीत लेखिरहँदा र रेकर्ड गरिरहँदा यति ठूलो विवाद होला भन्ने पूर्वानुमान थियो ?

पटक्कै थिएन । भ्रष्टाचारीलाई चोट पर्ला, अरुबाट स्यावासी पाउँला भन्ने सोचेको थिएँ । स्याबासी पाएको पनि छु । ९९ प्रतिशतले राम्रो भन्नुभएको छ । १ प्रतिशतले विरोध गर्नुभएको छ । उहाँहरुको पनि आत्माले त ठीकै भनेको होला, खाली राजनीतिक कारणले आलोचना गर्नुभएको हुनसक्छ । वा, एकाध शब्द चित्त नबुझेको हुन सक्छ ।

अहिले तपाईंको समर्थनमा उर्लेको जनलहर हेर्दा हतारमा गीत डिलिट गरेर बेठीक गरेछु भन्ने लाग्छ ?

म आफ्नो मनले जे भन्छ, त्यो गर्छु । आफ्नो मनले डिलिट गर भन्यो, गरेँ । सबैको चित्त बुझाउनु कलाकारको दायित्व हो । मैले दुई शब्द फेर्दैमा उहाँहरुको आत्मसम्मान फर्किन्छ भने भने ठीकै छ भन्ने सोचेँ । म एकदम सोझो व्यक्ति हुँ । सकभर कसैको चित्त दुखाउन चाहन्न ।

तर, नेकपाका कार्यकर्ताको धम्की र दबावका कारण गीत हटाउन वाध्य हुनुभयो भन्ने चर्चा छ नि ?

मलाई युवा संघबाट एउटा फोन आएको थियो । उहाँले गीतका केही शब्दहरुमा असन्तुष्टि जनाउनुभयो । त्यसपछि विज्ञप्ति पनि आयो । त्यसमा अलिकति धम्कीको भाषा पनि थियो ।

तर, त्यही विज्ञप्तिबाट डराएर, आत्तिएर गीत हटाएको होइन । यदि मैले एकाध शब्दहरु मिलाउँदा उहाँहरु खुशी हुनुहुन्छ भने किन नमिलाउने भन्ने सोचेँ । केही शब्द यताउता गर्दैमा गीतको मर्म मेटिने होइन । त्यही सोचेर हटाएको हुँ ।

तपाईंलाई फोन गर्ने व्यक्ति को हुनुहुन्थ्यो ?

व्यक्ति जो भए पनि युवा संघको भनेपछि सत्तारुढ दलको भातृसंगठन भएकाले मैले त्यसलाई गम्भीर रुपमा लिएँ ।

गीतमा आपत्ति जनाएर अरु पनि फोन आए कि त्यही एउटा हो ?

त्यो एउटा मात्रै हो । अरु त सबैले गीतको प्रशंसा गर्नुभएको थियो । फेसबुक, युट्युबमा राम्रा प्रतिक्रियाहरु आइरहेका थिए ।

सरकारी तहबाट चाहिँ गीतलाई लिएर कुनै आपत्ति, प्रश्न केही आयो कि आएन ?

अहँ छैन । नेताहरुबीच गीतको विषयमा छलफल भएकोसम्म सुनेको हुँ ।

गीतका केही शब्द परिमार्जन गरेर फेरि हाल्छु भन्नुभएको थियो, कहिले हाल्नुहुन्छ ?

यसमा म अझै सोचिरहेको छु । तर, सम्भवतः अब यो गीत फेरि हाल्दिनँ होला ।

पुरस्कार दिन खोज्ने सांसदलाई धन्यवाद दिन चाहन्छु । त्यो पैसाचाहिँ एकसरो लाउन, पेटभरी खान नपाएका बाबुनानी र वृद्धवृद्धाहरुलाई दिँदा राम्रो हुन्छ ।

किन नहाल्ने ?

गीत बजारमा गइसक्यो । सबैलाई थाहा पनि भइसक्यो । सुन्नुपर्नेले सुनिसके । अरु च्यानलहरुले हालेका छन् । अब मैले हाल्ने भनेको उही भ्यूअर्स र सब्सक्राइबका लागि हो । मलाई त्यसको लोभ छैन । बरु अर्को सिर्जनातिर लागिरहेको छु ।

गीत नहाल्दा अलिकति आर्थिक घाटा त होला । तर, गीतले पाउनुपर्ने माया पाइसकेको छ । त्यसैले कुनै ग्लानी हुनेछैन । सबैको मनमा खट्केको आवाजलाई व्यक्त गरेको रहेछु भन्नेमा नै आत्मसन्तुष्टि छ ।

तपाईंले हटाए पनि धेरै च्यानलहरुले तपाईंको गीत कपी गरेर हालेका छन्, उनीहरुलाई के गर्नुहुन्छ ?

मैले जिम्मेवारीपूर्वक आफ्नो च्यानलबाट हटाएँ । अब अरु च्यानलहरुले हालिरहेका छन् । यसमा म केही गर्न सक्दिनँ । गरेर अर्थ पनि छैन । मेरो गीतबाट अरुले पैसा कमाए भनेर म आफ्नो भाग माग्न पनि जान्न ।

लोकदोहोरी प्रतिष्ठानले त गीत जस्ताको तस्तै हाल्न आग्रह गरेको थियो नि ?

हो । मसमेत सहभागी बैठकले गरेको निर्णय हो । तर, अन्ततः हाल्ने/नहाल्ने मेरो हातमा छ । अझै पनि सोचिरहेको छु । अन्तिम निर्णय लिइसकेको छैन । अग्रजहरुको सल्लाह सुझावलाई समेत मनन गर्नेर निर्णय लिनेछु ।

स्टेज कार्यक्रमहरुमा दर्शकले यो गीतको डिमान्ड गरे भने के गर्नुहुन्छ ?

पक्कै गाउँछु । नगाउनुपर्ने कारण छैन ।

जस्ताको तस्तै गाउनुहुन्छ कि शब्दहरु मिलाएर ?

दुई–तीन वटा शब्दहरु संशोधन गरेर गाउँछु होला । फेरि स्टेजमा गाउँदा प्रायः गीत जस्ताको त्यस्तै गाइँदैन पनि ।

भनेपछि यमराज र कुकुर जस्ता शब्द प्रयोग गर्नुहुन्न ?

यमराज भनेको भन्दा पनि त्यसको भिडियोमा नेकपाको झण्डा प्रयोग गरिएको विषयमा उहाँहरुको आपत्ति हो । यमराज भनेर मैले अहिलेका प्रधानमन्त्रीलाई ईंगित गर्न खोजेको होइन । मैले हजुरबाको पालादेखिको कुरा गरेको हुँ ।

यति राम्रो स्वर्गजस्तो देशमा इन्द्रको शासन कहिल्यै भएन भन्न खोजेको मात्रै हुँ । यो शब्दमा कसैको आपत्ति भएजस्तो पनि लाग्दैन । कुकुर भन्ने शब्द पनि लाक्षणिक हो । बरु राष्ट्रपतिलाई मुछिएको भनेर गुनासोहरु छन्, त्यसमा केही मिलाउनुपर्ने हुन सक्छ ।

यो गीतको रेकर्डिङ र म्युजिक भिडयोमा कति खर्च गर्नुभएको थियो ?

खर्चको यकीन हिसाब आएको छैन । पैसा तिर्न पनि बाँकी नै छ । पोखरामा सुटिङ गरेको हुँ । केही दिनमा हिसाब निस्किन्छ ।

तपाईंको गीतलाई विपक्षी पार्टीहरुले राजनीतिकरण गर्न खोजेजस्तो लागेको छैन ?

म एउटा स्वतन्त्र कलाकार हुँ । कहिल्यै कुनै पार्टीसँग निकट भइनँ । गीत सिर्जना गर्दा पनि कुनै पार्टीलाई लक्षित गरेको होइन । यो गीतलाई लिएर जस–जसले मेरो समर्थन गर्नुभएको छ, उहाँहरुप्रति आभारी छु । यदि कसैले राजनीतिक हिसाबले यसलाई उछाल्न खोज्नुभएको हो भने त्यो म जान्दिनँ ।

कांग्रेसका एक सांसदले त तपाईंलाई २५ हजार पुरस्कार दिने घोषणासमेत गर्नुभएको छ । यो रकम चाहिँ स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न ?

मैले कुनै पुरस्कार वा अवार्डको आशाले गीत बनाएको होइन । पुरस्कार दिन खोज्ने सांसदलाई धन्यवाद दिन चाहन्छु । त्यो पैसाचाहिँ एकसरो लाउन, पेटभरी खान नपाएका बाबुनानी र वृद्धवृद्धाहरुलाई दिँदा राम्रो हुन्छ । मेरो त हौसला बढाइदिए पुग्छ । जुन उद्देश्यले गीत सिर्जना गरेको छु, त्यो पूरा भए पुग्छ । अरु आशा केही राखेको छैन । मलाई पुरस्कार चाहिँदैन ।

भनेपछि २५ हजार लिनुहुन्न ?

तपाईंले मेरो भाव बुझ्नुभएन । मैले पैसाका लागि, पुरस्कारका लागि गाएको होइन भनेपछि आफैं बुझ्नुस ।

अब कस्तो गीत सिर्जना गर्दै हुनुहुन्छ ? जनचेतनामुलक कि मनोरञ्जनात्मक ?

चुनावमा धेरै कलाकारले पार्टीका कार्यक्रममा गीत गाउनुभयो । मलाई पनि धेरै पार्टीबाट प्रस्ताव आएको थियो । तर, कतै गइनँ । बरु दुई महिना घरमै बसेँ । मेरा मामा मेयरमा उठ्नुभएको थियो । गीत गाएर उहाँलाई भोट माग्न गइनँ ।

सधैं एउटैखालको गीत गायो भने पनि खासै राम्रो नहोला ।

तर, तपाईंको आगामी गीतबाट फेरि यस्तै आगो दन्किनुपर्छ भन्ने धेरैले चाहेका होलान् नि ? त्यो प्रेसर कति छ ?

मेरो फ्यान भनेका ३० देखि ७० वर्षका छन् । सबैलाई सोचेर गाउनुपर्छ । मैले तीजका गीतदेखि रोइलासम्म गाएको छु । देशको मौलिकता झल्किने गीतहरु गाएको छु । हरेक वर्ष एउटा व्यंग्य गीत गर्छु भन्ने हो ।

अर्को कुरा, सिर्जना भनेको पहिल्यै यस्तो गर्छु भनेर हुँदैन । यो त अचानक प्रष्फुटन हुने हो । आफ्नो वरिपरिका घटनाक्रमहरुले प्रेरित गर्ने हो ।

साँच्ची, तपाईंलाई त गत वर्ष युवासंघले आफ्नो कार्यक्रममा बोलाएर सम्मान गरेको रहेछ होइन ?

म उहाँहरुको एउटा कार्यक्रममा गएको हुँ । सम्मान गर्नुभएको चाहिँ याद भएन ।

तर, यो गीत गाएपछि युवा संघका अध्यक्षले तपाईंलाई कांग्रेसी भन्नुभएको छ । साँचो हो ?

उहाँले के आधारमा भन्नुभएको हो, मैले बुझेको छैन । म अहिलेसम्म कहिल्यै कुनै पार्टीमा आवद्ध भइनँ । यतिसम्म कि कुनै पार्टीको कार्यक्रममा बोलाउँदा समेत जान्न ।

चुनावमा धेरै कलाकारले पार्टीका कार्यक्रममा गीत गाउनुभयो । मलाई पनि धेरै पार्टीबाट प्रस्ताव आएको थियो । तर, कतै गइनँ । बरु दुई महिना घरमै बसेँ । मेरा मामा मेयरमा उठ्नुभएको थियो । गीत गाएर उहाँलाई भोट माग्न गइनँ ।

चुनाव अगाडि एउटा सन्देशमूलक गीत गाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि एउटा गीत रेकर्ड गराएँ । त्यो गीतको बोल यस्तो थियोः

रोएर होइन, नेपालीको जीवन हाँसीखुशी बित्नुपर्छ

नेताले होइन, पार्टीले होइन, चुनावमा देशले जित्नुपर्छ

धेरैका सपना फाटेका छन्, मिलाएर सिलाइदेऊ

विदेशमा सपना बेच्ने युवालाई देशमै रोजगारी मिलाइदेऊ

हामी कसैले भनेका छैनौं, आकाशका तारा खसाइदेऊ

देशभित्रै केही गर्छु भन्नेलाई एउटा सिस्टम बसाइदेऊ

मैले गाएको एक मात्र ‘चुनावी गीत’ यही हो । उहाँले कसरी मलाई कांग्रेस देख्नुभयो कुन्नि ।

तपाईंको कुनै राजनीतिक दलप्रति समर्थन वा सहानुभूति त होला नि ? जुन हरेक नागरिकको हुन्छ ।

म कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छु किनभने कलाकार सबैको साझा हो । परिवारको कुरा गर्ने हो भने मेरी श्रीमती नेकपाका समर्थक हुन् । बुवा पनि नेकपा । उहाँ त झण्डै नेकपाबाट वडा अध्यक्षमा उठ्नुभएको थियो । आमाचाहिँ कांग्रेस । साइँलो अंकल कांग्रेस, माइलो अंकल राप्रपा ।

चुनावमा भोट त हाल्नुहुन्छ नि ?

मैले पार्टी हेरिनँ, राम्रो नेता छानेर हालेँ । हरेक चुनावमा व्यक्ति हेरेर भोट हाल्छु । एकछापे कहिल्यै हालेको छैन । कुनै दलप्रति आशक्ति नभए पनि नागरिकको अधिकार प्रयोग गर्नुपर्छ भनेर भोट हाल्छु ।

अहिलेको सरकारको विषयमा तपाईंको मूल्यांकन के हो ? के देशको अवस्था गीतमा वर्णन गरिएजस्तो भयानकै छ ?

मैले गीतमा अहिलेको कुरै गरेको होइन । ३५/३६ वर्षको भएँ । मैले बुझेदेखि देश र जनताका लागि निस्वार्थ भावले काम गर्ने कोही पनि भेटेको छैन ।

सबै एउटै ड्याङका … हुन् त त्यसो भए ?

गीतले भनेकै त्यही हो त । गीतको व्यंग्य सबै पार्टी र नेताहरुलाई हो ।

यो तीन–चार दिन कसरी बित्यो, कत्तिको तनावमा रहनुपर्‍यो ?

म थकित र व्यस्त थिएँ । फोन आएको दिन बुटवलमा थिएँ । त्यहीँबाट गीत डिलिट गरेको हुँ । गीत हटाएपछि जुन प्रतिक्रिया जन्मियो, सामाजिक सञ्जालमा, त्यसको कल्पना गरेको थिइनँ ।

तनावभन्दा पनि एक किसिमको व्यग्रता भयो । फोन उठाएरै साध्य नभएपछि अफ गरेर राख्नुपरेको छ ।

यति ठूलो जनसमर्थन पाउनुभयो, के भन्न चाहनुहुन्छ आफ्ना शुभचिन्तकलाई ?

सबैप्रति आभार र सम्मान छ । देश राम्रो होस भन्ने सबैको चाहना हो । देश राम्रो भयो भने हामी सबैले छाती फुकाएर हिँड्न सक्छौं । मलाई गाली गर्नेहरुप्रति पनि कुनै दुखेसो छैन । आलोचनाले पनि कलाकारलाई सुधार्न सहयोग गर्छ ।

भोलिका दिनमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने भयो । म हरेक कुरालाई नकारात्मक रुपमा लिन्न । आलोचनाहरुलाई पनि सकारात्मक रुपमै लिएको छु । कसैले मलाई कुकुर भन्यो भने तँ पनि कुकुर भन्नेतिर लाग्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment