Comments Add Comment

संस्मरणः रेडियो स्मृति

रेडियोसित मेरो आफ्नैखाले मोह थियो, नसुनी बस्नै नसक्ने । अद्यापि त्यो छँदैछ । शान्ति सेनामा इजराइल गएका मेरा माइला मामाले ६ वटा ड्राइसेल ब्याट्री लाग्ने नेशनल प्यानासोनिकको यामानको ‘मेड इन जापान, ५४३’ क्यासेटप्लेयरवाला रेडियो वि. संं. २०३१ सालमै ल्याउनुभएको थियो । मैले पहिलोचोटि रेडियो देखेको र सुनेको पनि त्यही रेडियो हो ।

त्यतिखेर मेरो अवचेतन बालमनमा अनौठो, अवर्णनीय र अतुलनीय कुत्कुती जागेर आएको थियो । मलाई रेडियो छोऊँछोऊँ, मुसारूँमुसारूँ लाग्थ्यो । मामा मलाई रेडियो छुन त दिनुहुन्थ्यो तर बोकेर हिँड्न पाउँदिन थिएँ । रेडियोको वजन निकै गह्रुङ्गो भएकोले सायद मामालाई भान्जाले रेडियो खसाउँछन् भन्ने डर थियो । मलाई भने रेडियो भिरेर हिँड्न पाए राजै हुन्थेँजस्तो लाग्थ्यो । सोच्थेँ, ‘मेरो पनि एउटा रेडियो भएको भए ।’

अन्तर्मनमा आफ्नै रेडियो आफैंले बोकेर हिँडेको कोलाजचित्र उतार्थेँ । त्यो कोलाजमा मेरो पनि एउटा असली रेडियो हुन्थ्यो र म हुन्थेँ । अनि रेडियो घन्किरहेको हुन्थ्यो । तर एकाएक कोलाज च्यातिन्थ्यो । म छाँगाबाट खस्थेँ । मानौँ, हठात् म खोलाका ढुङ्गामा बजारिन्थेँ । म रेडियोविहीन घाइते हुन्थेँ ।

क्यासेट हालेर प्लेबटम दबाएपछि रेडियो गाउँ नै थर्काएर बज्थ्यो । गाउँका भएभरका केटाकेटी झुम्मिन्थे । केटाकेटी मात्र हो र ! ठूलै मान्छेको भिड जम्मा हुन्थ्यो । त्यहाँ त्यै रेडियोको चर्चापरिचर्चा चल्थ्यो । मामा हाम्रो घर आउँदा प्रायः रेडियो भिरेर आउनुहुन्थ्यो । त्यसलाई मिल्ने गरी कपडा सिलाई पहिरन लगाइदिएको हुन्थ्यो ।

‘रेडियोभित्र कत्रा मान्छे होलान् ! त्यति धेरै बाजागाजा कता र कसरी अटाएका होलान् ! गीत गाउने र समाचार भन्ने मान्छे के खाँदा होलान् !’ मेरो सानो मनले सानै कुरा सोच्थ्यो । मनमा यस्तैयस्तै जिज्ञाशाको कुँडुलो लाग्थ्यो ।

रेडियोमा दुईओटा व्याण्ड थिए । सर्टवेभ र मिडियमवेभ । सर्टवेभमा दिउँसोमात्र रेडियो नेपाल बज्थ्यो । बेलुका बज्दैनथ्यो । कताकताका स्टेशन जुध्थे । रेडियो नेपाल बज्ने स्टेशनमा त अङ्ग्रजी, चाइनिज, अरु केके भाषा बज्थ्यो । बेलुका रेडियो नेपाल सुन्न व्याण्ड फेरेर मिडियमवेभतिर लानुपथ्र्यो ।

रेडियो नेपालमा कुमार बस्नेतका उट्पट्याङ्खालका लोकगीत अत्यधिक बज्थे । ‘लै बरी लै, लै बरी लै । गाउँका केटी सबैलाई ..’ अनि ‘तरुनी केटीको पोइ … जाती’ आदिआदि । जयनन्द लामाका गीत पनि यस्तैयस्तै हुँन्थे । अलि छिल्लिएका जस्ता । ती गीत सुन्दा मलाई अप्ठेरो लाग्थ्यो । यस्ता गीत बज्दा रेडियो बन्द गर्दिए हुन्थ्यो जस्तो लाग्थ्यो । मामा, आमा, हजुरआमा, ठूलाहरूका अगाडि त्यस्ता गीतहरू कसरी सुन्नु !

जम्माजम्मी दुई वर्ष बजाएपछि मामाले त्यो रेडियो सस्तोमा बेच्नुभयो । रेडियो बेचिएको दुखद् खबरले म भक्कानिएँ । सोच्थेँ, ‘को आउला र अब बनपाखा रन्काउँदै र घन्काउँदै रेडियो बोकेर मेरो घरमा ?’ एकमनले मामालाई सराप्यो पनि । तर अर्को मनलेे भन्यो, ‘अर्कोको सम्पत्ति अर्कैको खुस । मामाले बेच्नुभयो त मेरो के लाग्छ ?’ मैले मेरो मन बुझाएँ ।

मामा त दिनैजसो हाम्रोमा आउनुहुन्थ्यो तर मामाको साथमा रेडियो हुन्थेन । मामा फेरि जागिर खान जानुभएन । पछि थाह पाएँ, उहाँ त शाही सेनाबाट भागेर घर आउनुभएको रहेछ । भागेर आएको हुनाले पछिसम्म मामालाई सेनाले खोज्यो । मामा भने बनबुटामा लुकेको लुक्यै ।

***

काठमाडौँमा नोकर बस्दा वर्ष बिराएर हिउँदे छुट्टीमा मात्रै घर आउन पाएँ । वि. सं. २०३९ मा सहर पसेको मान्छे, २०४२ को हिउँदमा मात्रै घर आउन पाएँ । आमालाई काकाहरूले अंश लगाएर छुट्टयाइदिनुभएछ । माइलो काका (म सान्दाइ भन्छु) पनि शाही नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो । सान्दाइले चाहिँ दुई बेट्री लाग्ने नेशनल प्यानासोनिकको जापानी सानो रेडियो ल्याउनुभएको रहेछ । अंश लगाउँदा तामाको एउटा खड्कुँलो तीन भाग लगाउनुपर्ने भएपछि त्यसको साटो आमाले रेडियो माग्नुभएछ । आमाको भागमा फुच्चे रेडियो आएछ ।

काठमाडौँमा पनि म चोरीचोरी रेडियो सुन्थेँ । आफ्नो पनि एउटा रेडियो भएदेखि म ‘ठूलै मान्छे’ हुन्थेँ हुँलाजस्तो लाग्थ्यो । मालिकको कोठामा मात्र रेडिया बज्थ्यो । भान्छे र नोकरले सधैँ रेडियो सुन्न कहाँ पाउँनुथ्यो र !

मैले आमाको रेडियोमा आँखा गाढेँ । जसरी पनि मलाई रेडियो काठमाडौँ लैजानु थियो र देखाउनु थियो- ‘यसको घरमा पनि रेडियो बजाउने हैसियत रहेछ’ भन्ने कुरा । तर कसरी भन्नु आमालाई ! फुच्चे भाइले कति नराम्रो मान्ला ! आमाको सबैभन्दा ‘प्यारो वस्तु’ माग्न मलाई साह्रै गाह्रो भयो । मैले मागेपछि आमाले नलैजा त भन्नुहुन्थेन तर मुख खोल्न सकिनँ । आमाको एकाङ्गी जीवनमा मुखबोलो सहारा नै बनेको रेडियो छुटाएर कसरी लैजानु ! छोराले किनेर ल्याइदिनुपर्नेमा घरमा भएको त्यो एउटामात्र ‘मूल्यवान वस्तु’ उम्काउनु कतिपनि उक्तिसङ्गत थिएन । आमालाई भन्नै सकिनँ ।

अन्ततः मैले बहाना बनाएँ । रेडियो मागेरै छोडेँ । रेडियोले मेरो पढाइमा सहयोग पुर्‍याउने जिकिर गरेँ । आमाको अनुहार धमिलो भयो । ‘नलैजा’ भन्न सक्नुभएन । भाइले रुञ्चे मुख लगायो । घरबाट रेडियो फुत्काएर म हिँडेँ । आफूलाई निकै ‘ठूलो’ ठान्दै रेडियो घन्काएर घरबाट झरेँ ।

अब कुहीगन्धे मेरो कोठामा पनि रेडियो बज्न थाल्यो । मैले भान्छामा र सुत्ने छिँडीमा समेत रेडियो बजाएको सुनेर मालिकमालिक्नीले अनौठो माने । मालिकले सोधे, ‘बाजे, रेडियो कहाँबाट ल्यायौ ?’ मैले मनमा दम्भको पहाडै ठड्याएर भनेँ, ‘घरबाट ल्याएको हजुर !’ अबचैँ मेरो आफ्नै रेडियो भयो । जता लगेर पनि सुन्न पाइने । चोरीचोरी सुन्नु नपर्ने ।

रेडियो सुन्नमा निकै अभ्यस्त भएँछु म । हिन्दी र नेपालीका गीतको ट्रयाक बज्नेबित्तिकै गीतको बोल र गायकको नाम भन्न सक्ने भएँ । नेपाली गीत, सङ्गीत र गायनक्षेत्रका १०० जना पुराना प्रतिभाको नाम र गीतको बोल लेखेर राखेको रहेछु । ती नाम र गीतका बोलहरू मेरो नोटकपीमा अझै छँदैछन् । मेलवादेवी, रुबी जोशी, मुरलीधर, गौरी केसी, सुष्मा श्रेष्ठ, शिवशङ्कर, बच्चु कैलाश, कुमारी हाँक्स, हिक्मत माली, दीलमाया खाती, नातीकाजी, कोइलीदेवी, मित्रसेन, विमला केसी, वटुकृष्ण ज्वाला, तीर्थकुमारी, जगतमर्दन थापा, मधु क्षेत्री, चिनिँया राणा, मास्टर रत्नदास प्रकाश, रामलाल जोशी, पन्नाकाजी, विनोद ढकाल, कुमारी लिलीसिं, दिपक जङ्गम, गुलाम अली, अरूणा लामा, उस्ताद आनन्द, लालबहादुर खाती, भैरवलाल जोशी, गोविन्दलाल, नारायण गोपाल, गोपाल योञ्जन आदिआदि ।

रेडियो नेपालबाट प्रशारित केही कार्यक्रमले मलाई साहित्यिक-साङ्गीतिक क्षेत्रमा लागेकाहरूको बारेमा प्रसस्त जानकारी दिए । राती नौ बजेपछाडि बज्ने ‘अतितका गीत’ कार्यक्रमले मलाई साह्रै भावविभोर बनाउँथ्यो । त्यो कार्यक्रम छुटाउनै नसक्ने भएँ । बच्चु कैलाशको, ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र बन न’, धु्रव केसीको, ‘म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ’, नारायण गोपालको, ‘अल्झेछ क्यारे तिम्रो पछ्यौरी’, फत्तेमानको, यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैलेकैले’, विमला केसी र मा. रत्नदासको, ‘स्वामी, नजाऊ छोडी विदेश’ हरिप्रसाद रिमालको, ‘बिना बादल असिना आउँदैन’ जस्ता गीतले मेरो मनमस्तिष्कमा अनौठो भाव सञ्चार गर्थे ।

राजा सार्वभौम सत्ता सम्पन्न भएको र रेडियो नेपाल सरकारी सञ्चार निकाय भएकोले यस्ता गीत पनि बजिरहन्थे- ‘द्यौरालीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’, ‘जनता नै हुन् पञ्च, पञ्च नै हुन् जनता’, ‘…राजा र रानीको तस्विर छ यो मेरो रातो झोलामा ।’ यस्ता गीत सुन्नमा भने मेरो रत्तिभर दिलचस्वी रहेन ।

शनिवार दिउँसो १ः३० मा प्रशारण हुने ‘रेडियो नाटक’ मेरो अर्को पि्रय कार्यक्रम थियो । त्यसैबाट मैले नाटक लेख्न सिकेँ । एकदिन नाटक छुट्यो भने जिन्दगी नै कता छुट्योझैं हुन्थ्यो । श्यामदास वैष्णव, फणिन्द्रराज खेताला, देवकुमारी थापाका नाटकहरू सुनेँ । जितेन्द्र महत ‘अभिलाशी’ ले एउटा लोकपि्रय कार्यक्रम चलाउँथे, ०४२/०४३ सालतिर । कार्यक्रमको नाम ‘साँझ बिहान’ थियो । त्यो धारावाहिक नाट्यश्रृङ्खलाले त मलाई गाउँमै पुर्‍याउँथ्यो । त्यसमा उठाइएका विषयवस्तु, संवादशैली र प्रस्तुतिले मेरो अन्तर्मनमा गहिरो छाप छाडेको थियो । सैयौँ अङ्क चलेपछि एकसाँझ जितेन्द्रले ‘आजको कार्यक्रम अन्तिम हो’ भनेर बिदा मागे । त्यो सुनेर मेरो मन भक्कानिएर आयो । भावसंवेदित हुँदै रोएँछु, आफ्नै मुटु आफूबाट छुटि्टएझैं भयो ।

दाहाल यज्ञनिधिले चलाउने ‘साहित्य संसार’ त मेरो ‘संसार’ नै हुने भैहाल्यो । दाहाल सो कार्यक्रम बिहान लिएर आउँथे । निश्चित दिनमा मात्र बज्थ्यो । गति, यति, लय मिलाएर छन्द कविता भन्थे । उनको स्वरमा जादु थियो । त्यसले मलाई लठ्ठै पाथ्र्यो । यज्ञनिधि दूरदराजका प्रतिभालाई पनि स्थान दिन्थे । झन् कृषि कार्यक्रमकी बुढीआमैको ‘हरि ऽऽऽ शरणम्’ ले गाउँमै खेती गर्न पुर्‍याउँथ्यो ।

रेडियोप्रति मेरो मोह यति बढ्यो कि, रेडियोबिना बस्नै नसक्ने भएँ । तर कठै ! माया गर्दागर्दै पनि २०४४ बैशाखमा मेरो ‘आफ्नु’ रेडियो बिगि्रयो । मेरो मन नराम्ररी भत्कियो । रेडियो खोलखाल पारेँ । भित्र तार टुटेको रहेछ । वाइल्डिङ्ग गर्ने सामान थिएन । मैनबत्ती पगालेर जोडेँ । रेडियो बज्यो । भत्किएको मनको पुनर्सम्भार भयो । तर पटकपटक तार खुस्किइरह्यो । फेरि जोडेँ । फेरि खुस्कियो । मैनबत्तीले कति समय तार अडिन्थ्यो र !

डाक्टर मधु घिमिरे म बसेको घरमा आइरहन्थे । म उनलाई चिया, खाजा, खाना बनाएर दिन्थेँ । मैले बिगि्रएको रेडियो खोलखाल पारेर तार जोडेको देखेछन् । त्यसपछि उनी मलाई ‘ओ इन्जिनियर भाइ’ भनेर बोलाउन थाले । बच्चाका थोत्रा साइकलका पाङ्ग्रा जोडजाड पारी आफ्नै डिजाइनमा साइकल बनाएर त्यसमा नानीहरूलाई चढाई घरकम्पाण्ड घुमाउथेँ । त्यसपछि त घरमालिक इन्जिनियरको पनि ‘इन्जिनियर’ भएँ ।

मेरो लक्ष्य पनि इन्जिनियरै बन्ने थियो । तर मेरो इन्जिनियररूपी काल्पनिक महल नराम्ररी भत्कियो । मानौँ, मेरो लक्ष्य ट्यूनिसको कार्भेज, लेबनानको वालवेड, एथेन्सको अक्रोपलिस, शुद्धोदनको कपिलवस्तुको राजप्रासादझैं ध्वंस भयो । तिनकै ध्वंसावशेषमा म कता पुरिएँ कता !

मेरो प्यारो रेडियो म ‘इन्जिनियर’ को बुताबाहिर गयो । एउटा साथीले म बनाएर ल्याइदिन्छु भनेर लगेथ्यो । तर उसले त्यो भग्न रेडियो कहिल्यै फिर्ता गरेन । म भने त्यही भग्न रेडियोको नियति भोगिरहेँ । आक्कलझुक्कल आइरहन्छ स्मृतिमा, त्यै फुच्चे रेडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment