Comments Add Comment

कुमारी हिमाल माछापुच्छ्रे आरोहण खुलाउन गाउँपालिकाले पहल गर्ने

१० असार, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कुमारी हिमाल माछापुच्छ्रेमा आरोहण खोल्नुपर्ने प्रस्ताव गरेको छ ।

कुमारी हिमाल भनेर आरोहण गर्न प्रतिबन्ध लगाइएको माछापुच्छ्रे हिमाल पर्यटक आगमनमा भारी बृद्धि र रोजगारी सिर्जनाका लागी भन्दै माछापुच्छ्रे गाउँपालिकाले आरोहण खुलाउनुपर्ने बताएको हो ।

आरोहण खुलाउनका लागि गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारसँग पहल गर्ने गाउँपालिकाको आइतबार सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक पछि पत्रकारसँग बोल्दै गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले हिमाल अब हेरेर मात्र हैन चढेर आनन्द लिनुका साथै जिविकोपार्जनका लागी आयआर्जनको माध्यमसमेत बन्नुपर्ने बताए ।

उनले भने, ‘हामीले माछापुच्छ्रे हिमाल देखाएर ५ दशक बेच्यौं, अब यसमा चढाएर आर्थिक उपार्जन र रोजगारीको सिर्जना गर्नुपर्छ ।’ उनले २०२० मा पर्यटन वर्ष मनाउने हो र त्यसलाई सफल बनाउने हो भने संसारको ध्यानाकर्षण गराउने नयाँ प्रोडक्ट थप्नुपर्ने बताउँदै त्यसका लागि माछापुच्छ्रे उपयुक्त हुने बताए । उनले भने,’२०२० पर्यटन वर्ष मनाउने भनिएको छ, २० लाख पर्यटक एक वर्षमा भित्राउने भनिएको छ, त्यो त त्यत्तिकै त भित्रिदैन, नयाँ प्रोडक्ट थप्नुपर्छ संसारकै ध्यानाकर्षण हुने खालको, हो त्यो प्रोडक्ट माछापुच्छ्रे हिमालको आरोहण हुनसक्छ ।’

गाउँपालिका प्रमुख गुरुङले पवित्र ठाउँ चढ्नै हुँदैन भन्ने मान्यता गलत भएको बताउँदै पेरुमा एउटा धार्मिक रुपमा पवित्र हिमाल रहेको र त्यो आरोहण गर्न पाइने बताए । उनले पशुपतिनाथ, दामोदरलगायतका पवित्र ठाउँहरु पनि त्यहाँ नपुगी दर्शन गर्न पाईंदैन, तर त्यहाँ जाँदैमा अपवित्र वा जूठोपनि त हुँदैन रहेछ नि, हो त्यस्तै गरेर माछापुच्छ्रे पनि आरोहण गर्न पाउनुपर्छ ।’

उनले माछापुच्छ्रे हिमाल कुमारी नभएकोसमेत उनले दाबी गरे । सन् १९५७ मा वेलायती सेनाका कर्नेल जिम्मी रोवर्टसन्ले माछापुच्छ्रेको असफल आरोहण गरिसकेकाले अब माछापुच्छ्रे कुमारी नरहेको उनको तर्क छ । उनले भने,’माछापुच्छ्रे कसरी कुमारी हुन्छ ? यो हिमाल कुमारी नै हैन, रोवर्टसन्ले करीब ३८ मिटर मात्र हो नचढेको, नत्र त माछापुच्छ्रे हिमाल ६ हजार ९ सय ५३ मिटर चढिसकेका हुन् नि उनले, प्रतिकुल मौषमका कारण मात्र फर्किएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment