Comments Add Comment

पहिलो पटक मेलबर्नमा नेपाल-अस्ट्रेलिया बिजनेस फोरम हुँदै

नेपालमा वैदेशिक लगानीको अवसरबारे मन्थन गरिने

भिक्टोरिया / अस्ट्रेलियाको मेलबर्नमा नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ हुने भएको छ ।

नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पहिलो पटक यहाँका नेपाली समुदायमा यस्तो कार्यक्रम आयोजिना गरिएको हो ।

जुन ३० तारिख शनिबार विहान ९ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म संचालन हुने महावाणिज्यदूतको कार्यालय भिक्टोरियाले जानकारी दिएको छ ।।

कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा वक्ताहरुले मन्थन गर्ने बताइएको छ ।

राफल चिट्ठा र साँस्कृतिक, मिथिला चित्रकला, अन्य चित्र र झाँकी प्रदर्शन गर्ने लगायतका कार्यक्रमसमेत रहेको जनाइएको छ ।

कार्यक्रममा नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी शुक्रबार अस्ट्रेलिया आइपुग्नेछन् ।

यस्तै भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, लेजिस्लेटिभ काउन्सिलका सभापति ब्रुस अटकिन्सन, वैदेशिक सम्बन्ध हर्ने डिफ्याटकी निर्देश फियोना म्यकग्रा, नेपाली मूलका अष्ट्रेलियाली सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्व शेष घले , एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, महावाणिज्यदूत फ्रंयांकी रिडसहित १०० बढी अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी हुने छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपालमा राजनीतिक स्थिरता आएको भन्दै वैदृशिक लगानी अभिबृद्धि गर्न यो कार्यक्रम सावित हुने धारणा व्यक्त गरेकी छन् । ‘हामीले नेपाल विजनेस काउन्सिल निर्माण गर्ने तयारीको रुपमा यसलाई लिएका छौं,’ उनले भनिन्, ‘नेपाल सरकारले भनेको समृद्ध नेपाल, खुसी नेपालीको नारालाई नै सहयोग गर्न चाहेको र अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेको अवस्थामा पनि संयोजन गर्न तयार छौं ।’

यस्तै भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ५८ वर्ष वितिसक्दा पनि अस्ट्रेलियामा गार्मेन्टसहित केही थोरै मात्र सामग्रीहरु निर्यात गरेको तर यहाँबाट नेपालमा पेयपदार्थ, हवाई उड्डयनका सामगि्रहरु लैजाने गरेको भन्दै अब भने दुई देशबीच आर्थिक कुटनीतिको पनि छलफल हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment