Comments Add Comment

भाग्यमानी मेस्सी अब हुन सक्नेछन् खतरनाक !


काठमाडौं । विश्वकपको पहिलो खेलमा आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेर १-१ को बराबरीमा रोकिँदा र दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हार्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी निरिह देखिएका थिए ।

अहिले उनी आरामको स्वास फेरिरहेका छन् । शान्त भएका छन् । अपमानको घेराबाट बाहिरिएका छन् । मंगलबार राति नाइजेरियालाई २-१ ले हराएर अन्तिम १६ मा स्थान सुरक्षित गर्दा पहिलो गोल मेस्सीले नै गरेका थिए ।

१४ औं मिनेटमा गोल गर्दै मेस्सीले दिलाएको अग्रता ५० मिनेटसम्म मात्रै टिक्यो । ५१ औं मिनेटमा पाएको पेनाल्टीमा नाइजेरियाका मोसेसले बराबरी गोल फर्काए ।

विश्वकपबाटै बाहिरिने डर यथार्थ बन्दै गर्दा ८६ औं मिनेटमा मेस्सी र टिम अर्जेन्टिना भाग्यमानी सावित भयो । रोजोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनी समर्थकलाई खुसीमात्र दिएनन्, टिमको उद्दार पनि गरे ।

जितपछि मेस्सीले भने, ‘मैले यस्तो तनाव र पीडाको स्थिति अहिलेसम्म भोगेको थिइनँ ।’ उनको भनाइबाट पनि उनी खेलअघि कस्तो अवस्थामा थिए र खेलपछि कस्तो स्थितिबाट बाहिरिएका छन् भन्ने प्रस्ट हुन्छ ।

विश्वकपमा पहिलो चरणबाटै बाहिरिनु परेको भए मेस्सी र उनका साथी खेलाडीका लागि योभन्दा दुःखद अवस्था अरु हुने थिएन । केही खेलाडीले सन्यासको घोषणा गर्थे, भित्रभित्रै बिग्रिरहेको अर्जेन्टिनी फुटबल झनै कमजोर हुन पुग्थ्यो ।

क्लबका लागि राम्रो गर्ने र राष्ट्रिय टिममा कमजोर भनेर मेस्सीमाथि लाग्ने गरेको आरोपले झनै बल पाउथ्यो । यसले विश्व फुटबल उत्कृष्ट भनेर चिनिएका मेस्सीमाथि कमजोर खेलाडीको आलोचित छाया पर्ने थियो ।

यो सबैबाट मेस्सी यसपटक जोगिएका छन् । विश्वकपसम्म कठिन बनेको अर्जेन्टिनी यात्रामा हृयाट्रिक गरेर होस् या विश्वकपमा खेलसँगै खेलाडीको मनोबल बढाउने काममा होस् उनी लागिपरेका छन् । यसैले अपमान र कठिन परिस्थितिको सामनाले उनी झनै डरलाग्दो भएका छन् ।

यो विश्वकपमा अर्जेन्टिनालाई जे भइरहेको छ, त्यो मेस्सी अनुकुल छैन । आइसल्याण्डसँग, क्रोएसियासँग होस् या त नाइजेरियासँग नै उनीहरु निकै सकस गरिरहेका छन् । अर्जेन्टिनाको खेलले जुन आकार लिने अपेक्षा गरिएको थियो त्यो अझै भएको छैन ।

अहिलेकै अवस्थामा त्यसलाई सुधार गरेर अघि बढ्नुबाहेक उनीहरुसँग विकल्प पनि छैन । के भएन र के हुनुपथ्र्यो भनेर छलफल गर्नेभन्दा अब के गर्ने भन्ने योजनामा उनीहरु बढ्नु पर्ने छ । यसले फुटबल जगतका स्टार मेस्सीलाई पनि राष्ट्रिय टिमको कमजोर अवस्था फेर्ने मौका मिल्नेछ ।

फुटबलका धेरै कीर्तिमानमा नाम लेखाइसकेका मेस्सीले नाइजेरियाविरुद्ध गरेको गोल पनि नजानिदो पारामा फुटबल समर्थकले सम्झिरहने माध्यम बन्यो । रसिया विश्वकपमा उनले गरेको गोल जारी विश्वकपको सय औं गोल थियो ।

मेस्सी विश्वकप फुटबलमा आफ्नो उमेरका हरेक दशकमा गोल गर्ने पहिलो खेलाडी पनि बने । उनले किशोरावस्था, उमेरको २० को दशक र ३० को दशकमा गोल गरे ।

सन् २००६ को विश्वकपमा पहिलो गोल गर्दा मेस्सी किशोर थिए । २०१४ मा गोल गर्दा २० काटेको अवस्थामा थिए । अहिले ३१ वर्षमा पनि उनले गोल गरे ।

मेस्सीले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ । उनी तीन विश्वकपमा गोल गर्ने अर्जेन्टिनाका तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि डिएगो म्याराडोना (१९८२, १९८६ र १९९४) तथा गाबि्रएल बाटिस्टुटाले (१९९४, १९९८ र २००२) मा गरेर तीन विश्वकपमा गोल गरेका थिए ।

फुटबल समर्थकमाझ गएको १० वर्षदेखि क्रिष्टियानो रोनाल्डो कि लियोनल मेस्सी भनेर हुने गरेका चर्चा र आलोचनाले पनि स्टार खेलाडीहरुलाई असर पुगिरहेको छ । त्यस्तै परिस्थितिमा छन् मेस्सी पनि ।

फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि मेस्सी र रोनाल्डोले पाँच/पाँच पटक जितेका छन् । यसपटक पनि जारी विश्वकप बालोन डि’ओरको आधार भएको हुँदा दबाव बढेको छ ।

मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वार्टरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भयो ।

त्यो सबै बिर्साउने र आˆनै कप्तानीमा विश्वकप जिताउने अवसर मेस्सीका लागि अर्कोपटक नजुर्न सक्छ । रसिया विश्वकपपछि कतारमा सन् २०२२ मा हुने विश्वकपमा मेस्सी ३५ वर्षका हुने छन् । जतिबेला उनको यो खेलशैली र क्षमता रही नरहन सक्छ ।

जब अर्जेन्टिनाको कुरा आउँछ हेर्दा त मेस्सीबिना पनि टिम पूर्ण नै हुनुपर्ने हो । पूरै अनुभवी र सक्षम खेलाडीको लाइन अर्जेन्टिनासँग छ । सर्जियो अग्युरो, गोन्जालो हिग्वेन, एन्जेल डिमारिया, पाउलो डिबाला नामहरु पनि सक्षम हुन् ।

फरवार्डको लामो तालिका हुँदाहुँदै पनि विश्वकपमा कमजोर बनेको अर्जेन्टिना र विश्वकप छनोटदेखि नै मेस्सीमा भएको निर्भरताले टिममा उनी केन्द्रमा छन् ।

अनुभवी मेस्सीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ । यसैले कमजोरीबाट गुजि्ररहेको अर्जेन्टिनी टिमले नाइजेरियालाई पाखा लगाउँदा भाग्यमानी सावित भएका उनी अबका खेलमा खतरनाक हुन सक्छन् ।

यो सबैका बीच पनि यो विश्वकपमा मेस्सी समस्याले घेरिएका छन् । खेलमा हुनुपर्ने लय र तालमेल मिलाउन सकेका छैनन् । अर्जेन्टिनालाई विश्वकप जित्ने लक्ष्यका साथ अगाडि बढाइरहँदा उनीहरु अन्तिम १६ को खेलमा फ्रान्सविरुद्ध के गर्लान् भन्ने चासो धेरैमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment