Comments Add Comment

गोलपोस्टका दुई हिरो : हृयुगो लोरिस र डानिजेल सुवासिक

३१ असार, काठमाडौं । जितसँगै समाचार हेडलाइनमा केलियन एमबाप्पे र लुका मोडरिकहरु छाए पनि फ्रान्स र क्रोएसिया विश्वकप फाइनलमा पुग्न गोलकिपरले देखाएको खेल निकै उत्कृष्ट छ ।

फ्रान्सका गोलकिपर हृयुगो लोरिस र क्रोएसियाका डानिजेल सुवासिकले समूह चरणका खेलदेखि नै आफ्नो लय देखाइरहेका छन् । आइतबार राति पौने ९ बजे हुने फाइनल खेलमा पनि मुख्य नजर दुवै गोलकिपरमा रहने छ ।

हृयुगो लोरिस -फ्रान्स

इंग्लिस क्लब टोटनहृयामबाट क्लब फुटबल खेल्ने ३१ वर्षका लोरिसले फ्रान्स टिमबाट पनि आफ्नो क्षमता देखाइरहेका छन् । उनकै खेलले फ्रान्स टिममा एकरुपता ल्याएको छ । डिफेन्स लाइनसँग बल मिलाउनेदेखि राम्रा बचाउ गर्न उनी सक्षम देखिएका छन् ।

सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनको बेल्जियमसँगको सेमिफाइनल खेल राष्ट्रिय टिमबाट १ सय ३ औं खेल थियो । यसको अनुभवले पनि फ्रान्स टिमलाई फाइदा मिलिरहेको छ ।

अहिले लोरिस आफ्नो गोलकिपिङ करिअरकै सबैभन्दा राम्रो लयमा देखिन्छन् । समूह चरण र त्यसपछिका खेलमा पनि उनले ठूलो गल्ती गरेका छैनन् ।

फ्रान्स टिमको कप्तानसमेत रहेका उनी आफ्नो खेलमा विश्वस्त देखिन्छन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्सले पनि आफ्नो रणनीतिमा गोलकिपरलाई राम्ररी प्रयोग गरिरहेका छन् ।

पेरु, उरुग्वे र बेल्जियमसँगको खेलमा फ्रान्स टिममा उनको भूमिका प्रमुख थियो । राम्रा प्रहारहरु पनि बचाएर उनले टिमको हौसला बढाइरहेका थिए ।

उरुग्वेसँगको खेलमा लोरिसले गरेको उत्कृष्ट बचाउपछि त प्रशिक्षक डेसच्याम्प्सले भइसकेको गोल बचाएको भन्दै उनको निकै तारिफ गरेका थिए ।

डानिजेल सुवासिक – क्रोएसिया

सन् २००९ मा क्रोएसियाको राष्ट्रिय टिमका डेब्यू गरेका सुवासिकले हरेक खेलमा आफ्नो क्षमता देखाइरहेका छन् । क्रोएसियाको २१ वर्षमुनिको टिममा उनले देखाएको खेलले राष्ट्रिय टिममा स्थान बनेको थियो ।

३३ वर्षका उनी क्लब फुटबलमा फ्रान्सको क्लब मोनाकोमा आवद्ध छन् । यसले पनि फाइनलमा फ्रान्सविरुद्ध उनको भूमिका प्रमुख रहने छ ।

समूह चरणको पहिलो तीन खेलमा एक गोल मात्रै खाएका सुवासिकले कठिन समूहबाट विजेता बनाउँदै टिमलाई अघिल्लो चरणमा लान महत्वपूर्ण काम गरेका थिए ।

रसिया विश्वकपमा क्रोएसियन टिमको टाइब्रेकरमा छुट्टै कथा छ । जसमा प्रमुख रुपमा जोडिन्छन् उनै सुवासिक ।

क्रोएसियाले अन्तिम १६ को खेलमा डेनमार्कलाई टाइब्रेकरमा ३-२ ले हराएको थियो । क्रोएसियाले क्वार्टरफाइनलमा पनि रसियालाई ४-३ ले टाइब्रेकरमा नै हराएको थियो । जसमा पेनाल्टी बचाउने उत्कृष्ट गोलकिपरका रुपमा सुवासिक चिनिए ।

डेनमार्कविरुद्ध त उनले निकै आकर्षक रुपमा तीन पेनाल्टी बचाएका थिए । यसैले फाइनल खेलमा फ्रान्सविरुद्ध उनको खेल कस्तो रहन्छ त्यसमा नै जितको आधार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment