+
+

समूह ईबाट तीन टिमको सम्भावना : ब्राजिललाई पनि डर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १९:१३

१३ असार, काठमाडौं । विश्वकपमा समूह ‘ई’ बाट अन्तिम १६ मा ब्राजिल, सर्बिया र स्वीट्जरल्याण्डमध्ये दुई टिमले स्थान बनाउने छन् ।

तीनै टिमको समूह विजेता बन्ने, उपविजेता बन्ने र बाहिरिन सक्ने सम्भावना छ । यसै समूहमा रहेको कोस्टारिका भने दुई खेल हारेर बाहिरिसकेकाले बुधबारको खेल प्रतिष्ठाको लागिमात्र हुनेछ ।

बुधबार राति पौने १२ बजे ब्राजिलले सर्बियासँग र स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेल्ने छन् । ब्राजिल र स्वीट्जरल्याण्डको चार/चार साथै सर्बियाको तीन अंक छ ।

यस्तो छ समीकरण

ब्राजिललाई सर्बियासँगको खेल बराबरी मात्रै भए पनि अघिल्लो चरणमा जान प्रर्याप्त हुने छ । ब्राजिल सर्बियासँग तथा स्वीट्जरल्याण्ड कोस्टारिकासँग पराजित भएमा सर्बिया अघिल्लो चरणमा जाने छ भने ब्राजिल स्वीट्जरल्याण्डबीच गोल अन्तर हेरिने छ ।

कोस्टारिकासँगको खेलमा कम्तीमा बराबरी भए या सर्बिया ब्राजिलसँग पराजित भएमा स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्ने छ ।
यदि स्वीट्जरल्याण्ड पराजित भएमा र सर्बियाले ब्राजिलसँग बराबरी गरेमा सर्बिया अघिल्लो चरणमा जाने छ ।

ब्राजिल भर्सेस सर्बिया

ब्राजिल कोस्टारिकासँग खेलाएको सुरुवाती ११ नै सर्बियाविरुद्ध खेलाउने तयारीमा छ । कोस्टारिकालाई इन्जुरी समयमा गोल गर्दै तीन अंक सुरक्षित गरेको ब्राजिलले सर्बियाविरुद्ध पनि आक्रामक खेल्ने रणनीति बनाएको छ । ब्राजिलका ड्यानिलो र डुगलास कोस्टा भने घाइते छन् ।

सर्बियाका ६ खेलाडीले अघिल्लो खेलमा पहेँलो कार्ड पाएका छन् । उनीहरु अन्तिम १६ मा पुग्ने आश रहेकाले ब्राजिलविरुद्ध जोगिएर खेल्नुपर्ने छ । सर्बियाका प्रशिक्षक म्लादेन क्रेस्तेजिकले पहिलो रोजाइकै ११ खेलाडी खेलाउने तयारी गरेका छन् ।

सर्बिया पहिले युगोस्लाभियामै रहँदाको समेत गरेर ब्राजिल र सर्बियाबीच यसअघि विश्वकपमा चार पटक भेट भएको छ । दुवैले एक/एक खेल जितेका थिए भने दुई खेल बराबरी भएको थियो ।

विश्वकप बाहिरसमेत गरी भएका १९ खेलमा सर्बियाले दुई खेल मात्रै जितेको छ । ७ खेल बराबरी भएको छ । १० खेल हारेको छ । पछिल्लो पटक सन् २०१४ जुनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सर्बियालाई १-० ले हराएको थियो ।

ब्राजिलको अपराजित खेल १३ पुगिसकेेको छ । जसमध्ये ९ मा जित र ४ मा बराबरी भएको छ । तर युरोपियन देशसँग विश्वकपमा भएका पछिल्ला ७ खेलमा ब्राजिलले एक खेल मात्रै जितेको छ । दुई बराबरी भएका छन् भने चार खेल ब्राजिलले हारेको छ ।

सर्बियाका लागि विशेष चुनौती ब्राजिलका फिलिप कोउटिन्हो हुने छन् । उनले ब्राजिलका पछिल्ला तीन खेलमा नै गोल गरेका छन् ।

स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका

सर्बियासँगको खेलमा जितपछि खुसी मनाउँदा विवादमा परेर प्रतिबन्धमा परेका स्वीट्जरल्याण्डका ग्रेन्ट जाका र जेरदान साकिरी प्रतिबन्ध फुकुवा भएकाले कोस्टारिकाविरुद्धको खेलमा मैदानमा हुने छन् ।

कोस्टारिकालाई हराएर अघिल्लो चरणमा जान स्वीट्जरल्याण्डलाई बराबरी मात्रैले पुग्ने भए पनि आक्रामक खेल्ने रणनीतिमा रहेको छ ।

स्वीट्जरल्याण्ड र कोस्टारिकाबीच यसअघि दुई पटक खेल भएकोमा एक/एक खेल दुवै टिमले जितेका छन् । सन् २००६ मा स्वीट्जरल्याण्डले कोस्टारिकालाई २-० ले हराएको थियो भने सन. २०१० मा १-० ले हारेको थियो ।

युरोपियन देशसँग विश्वकपमा भएका पछिल्ला चार खेलमा कुनै पनि खेल कोस्टारिकाले जित्न सकेको छैन । तीन खेल बराबरी भएको छ भने एक खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?