Comments Add Comment

आकाश हेरेर पानी कुर्दैछन् मर्चवारका किसान

'मर्चवारमा सिँचाइ अभाव, धान रोप्न आकाशे पानीको पर्खाइ'

१४ असार,बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रका किसान सिँचाइ नहुँदा आकाशे पानीको भरपर्न बाध्य भएका छन् । रुपन्देहीमा अहिलेसम्म ५ प्रतिशत जमिनमा मात्रै धान रोपाईं भएको छ ।

रुपन्देहीमा रहेको ८० हजार हेक्टर मध्ये २० हजार हेक्टर क्षेत्र मर्चवार क्षेत्रमा मात्रै पर्दछ । जिल्लाको सम्मरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाका मर्चवार क्षेत्रमा पर्छन् ।

विकासमा पछि परेको यो क्षेत्र कृषिका लागी भने उर्बर मानिन्छ । तर, पर्याप्त सिँचाइ नहुँदा किसानले आकाशको पानीको भरमा धान खेती गर्दै आएका छन् ।

कोटहीमाइका किसान रामचरण यादवले भने-‘धानको बीउ राखेपनि पानि नपरेपछि रोपाईं गर्न पाइएन ।’ पच्चिस कठ्ठामा धान खेती गर्दै आएका उनी असार लागेसँगै आकाश हेरेरै दिन बिताइरहेका छन् ।

नहर र कलोबाट सिँचाइ भएका क्षेत्रमा भने अहिले रोपाई शुरु भइसकेको छ । रुपन्देहीमा ८० हजार हेक्टरमध्ये ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये दक्षिणी मर्चवार क्षेत्रमा भने मुस्किलले १३ प्रतिशत मात्रै क्षेत्रमा सिँचाइ पुगेको छ । ‘खेतरोप्ने समय आयो पानी छैन, रोपाईं गर्ने बेला जसोतसो धान रोपेपनि पानी नपरे धान सुकेर जान्छ’ अर्का किसान राधेश्याम यादवले भने । उनले ४० वर्षदेखि आकाशको पानीकै भरमा खेती गर्नुपरेको बताए ।

खेतीका लागि उर्बरभूमि भएपनि सिँचाइको अभावले गर्दा उत्पादन बढाउन नसकिएको उनले बताए । कृषिभूमि भएपनि मर्चवार क्षेत्रका कुनै पनि गाउँपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन । असार शुरु हुँदासम्म केही मात्रै किसानले धानको बीउ राखेका छन् ।

मर्चवारमा नहरबाट पानी पुग्न नसकेपनि विकल्पको रुपमा स्यालो ट्यूबल रहेको छ । कोटहीमाई गाउँपालिकाले केहि क्षेत्रमा ट्यूबेलबाट सिचाई सुविधा पुर्‍याउने योजना अघि सारेको जनाएको छ ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले बोरिङ र टयूबेल मार्फत सिँचाइ सुविधा पुर्‍याउने योजना अघि सारिएपनि त्यो चुनौतीपूर्ण बनेको बताए ।

मर्चवार क्षेत्रको जमिनमुनी पानी नै नभएको उनले बताए । बोरिङ र टयूबेलबाट पानी नै आउँदैन कतै कतै निस्किहाले १/२ ईन्च मात्रै निस्कन्छ अध्यक्ष यादवले भने । मर्चवार सिँचाइ लिफ्ट आयोजना सञ्चालन भएपनि त्यसले नहर समेत मर्मत गर्न सकेको छैन ।

तिनाउ नदीमा पानीको सतह नबढेसम्म नहरमा पानी नचढ्ने भएकाले दक्षिणी क्षेत्रमा सिँचाइको अभाव भएको कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापेकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment