Comments Add Comment

रोपाहारसँगै हिलोमा पसे कृषिमन्त्री

१५ असार, कपिलवस्तु । सधैं टिपटप भएर, गाडी चढेर सिंहदरबार धाउने कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) को हुलिया शुक्रबार फरक थियो । उनी सुटेटबुटेट थिएनन् बरु टाउकोमा सेतो फेटा, खरानी रंगको पुरानो टिसर्ट र हाफ पाइन्ट लगाएका थिए ।

सधैं सुकिलो मुकिलो भएर हिँड्ने मन्त्रीज्यूको यो हुलिया देख्दा आश्चर्य लाग्नु स्वाभाविक थियो ।

मन्त्री खनाल कपिलवस्तुको तिलौराकोटमा शुक्रबार बिहान धान रोपाईंमा सहभागी भए । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव आयोजना गरिएको थियो । मन्त्री खनालले त्यहाँ आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर पुगेका थिए । अनि स्थानीयबासीसँग नाच्दै गाउँदै धान रोप्न थाले ।

उनले रोपनन् मात्रै हिलाम्मे खेत केहीबेर जोते पनि । जोत्ने बेलामा भने एक जनाले उनलाई सघाएका थिए ।

‘वास्तवमै मन्त्री ज्यूको हुलिया निकै फरक थियो । टाउकोमा सेतो फेटा, फेटाभित्र धानको बीउ घुसारेर सिउर जस्तो बनाएको, निधारमा दशैंको टीका लगाएजस्तै हिलोको टीका लगाएको, वास्तवमा यो दृष्य निकै रमाइलो थियो,’ रोपाईं महोत्सव आयोजक समितिका राजेश ज्ञवालीले भने ।

कपिलवस्तुको तिलौराकोट त्यही ठाउँ हो जहाँ तत्कालीन राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्न सुरु गरेको किम्वदन्ती छ । सोही ठाउँमा लुम्बिनी विकास कोषले ‘धान रोपाईं मंगलोत्सव’ आयोजना गरेको थियो ।

सबै तस्वीरहरू शालिक बेलवासेको फेसबुकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment