Comments Add Comment

ब्राजिल भर्सेस बेल्जियम : उपाधि यात्रामा कसको लाग्ला ब्रेक ?

ब्राजिलका प्रशिक्षक भन्छन् : खेल निकै राम्रो हुनेछ

२२ असार, काठमाडौं । विश्वकपको दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुँदैछ । विश्वकप दाबेदारका रुपमा हेरिएको दुवै टोलीबीचको खेल क्वार्टरफाइनलकै प्रमुख भिडन्तका रुपमा हेरिएको छ ।

ब्राजिलका मिडफिल्डर क्यासेमिरो एक खेलको प्रतिबन्धमा छन् । उनको स्थानमा फर्नान्डिन्होलाई खेलाउने तयारी प्रशिक्षक टिटेले गरिरहेका छन् ।

घाइते रहेका डिफेन्डर मार्सेलो ठीक भएका छन् । फिलिप लुइसको स्थानमा उनैलाई सुरुवाती ११ मा खेलाइने भएको छ । यस्तै घाइते रहेका डुगलस कोस्टा पनि ठीक भएका छन् ।

बेल्जियमका घाइते रहेका फरवार्ड एडनान जानुज्याज फिट भएका छन् । उनी खेलमा फर्कन सक्ने विश्वास प्रशिक्षक रोबर्टो मार्टिनेजले गरेका छन् । मार्टिनेजले पहिलो रोजाइकै सुरुवाती ११ ब्राजिलविरुद्ध खेलाउने तयारी गरेका छन् ।

यसअघिको भेट

ब्राजिल र बेल्जियमबीच यो पाँचौ भेट हो । यसअघिका चार खेलमा ब्राजिलले तीन खेल जितेको थियो भने बेल्जियमले १ खेल जितेको थियो । जसमा ब्राजिलले १० गोल गरेको छ भने ६ गोल खाएको छ ।

ब्राजिल र बेल्जियमबीच पहिलो खेल सन् १९६३ मा भएको थियो । जसमा बेल्जियम ५-१ ले विजयी भएको थियो । त्यसपछिका तीनै खेल भने बेल्जियमले गुमायो ।

पछिल्लो पटक विश्वकपमा सन् २००२ को समूह चरणमा ब्राजिलले बेल्जियमसँग खेल्दा २-० ले खेल जितेको थियो । जतिबेला ब्राजिल पछिल्लो पटक विश्वविजेता बनेको थियो ।

रसिया विश्वकपमा यी दुई टिम

अन्तिम १६ को खेलमा जापानसँग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ ले खेल जितेको बेल्जियम टोली सन्तुलित देखिन्छ । रसिया विश्वकपमा यसअघिका सबै खेलमा राम्रो नतिजा निकालेको बेल्जियमले १२ गोल गरेर ४ गोल खाएको थियो ।

ब्राजिलले भने समूह चरणको पहिलो खेल स्वीट्जरल्याण्डसँग १-१ को बराबरी गरेपछि बाँकी सबै खेल २-० कै अन्तरमा जित्यो । यसले ब्राजिलको फरवार्ड लाइनसँगै डिफेन्स पनि बलियो देखिन्छ । ब्राजिलियन टिममा लामो समयपछि फर्किएको विश्वास र खेलाडीको लय दुवै बेजोड छ ।

ब्राजिलले समूह चरणका तीन खेल र अन्तिम १६ को खेलमा गरेर विपक्षीको पोस्टमा ६० सट प्रहार गरेको थियो । जसमा ११ पटक गोलका राम्रा अवसर बनाएको थियो । बेल्जियमले ५७ सट प्रहार गरेको थियो भने १८ पटक गोलका राम्रा अवसर बनाएको थियो ।

ब्राजिलले चार खेलमा २ हजार २ सय ६४ सही पास खेलेको थियो । बेल्जियमले २ हजार १ सय ५५ सही पास खेलेको थियो । पोस्ट नजिकको क्रस पासमा पनि ब्राजिल अघि देखिएको छ । ब्राजिलले ७९ क्रस पास खेलेको थियो भने बेल्जियमले ६२ क्रस पास खेलेको थियो ।

दुवै टिमका केही तथ्य

ब्राजिल यसपटकसमेत गरी लगातार सातौं पटक विश्वकप क्वार्टरफाइनलमा पुगेको हो । जसमा ब्राजिल दुई पटक मात्रै हारेको छ । जसमा २०१० मा नेदरल्याण्ड्ससँग र २००६ मा फ्रान्ससँग पराजित भएको थियो ।

पाँच पटकको विश्व विजेता ब्राजिल गएको विश्वकपमा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।

सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो ।

२० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । चार पटक क्वाटरफाइनलबाट बाहिरिएको छ ।
यसपटक ब्राजिलको अपराजित खेलको यात्रा १५ पुगिसकेको छ । जसमा ११ खेल जितेको छ भने ४ खेल बराबरी गरेको छ ।

प्रशिक्षक टिटेले ब्राजिलियन टिम सम्हालेपछिका २५ खेलमा २० खेलमा ब्राजिल विजयी भएको छ । ४ खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ ।

ब्राजिलका पछिल्ला १९ खेलका २० गोलमा स्ट्राइकर नेइमारको प्रमुख भूमिका छ । जसमा ११ गोल उनैले गरेका छन् भने ९ गोलका लागि पास मिलाएका छन् ।

बेल्जियमले पछिल्ला दुई विश्वकपमा दक्षिण अमेरिकी देशसँग नै हारेको थियो । बेल्जियम २०१४ को विश्वकपमा अर्जेन्टिनासँग र २००२ मा ब्राजिलसँग पराजित भएको थियो ।

बेल्जियमले ब्राजिललाई हराउन सके सन् १९८६ पछि विश्वकप सेमिफाइनलमा पुग्ने छ । त्यसबेला बेल्जियम सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

बेल्जियम पछिल्ला २३ खेलदेखि अपराजित छ । जसमा १८ खेल जितेको छ भने ५ खेल बराबरी गरेको छ ।

बेल्जियमको पछिल्लो १८ खेलमा भएको १९ गोलमा इडन हाजार्डको भूमिका प्रमुख छ । जसमा उनले १० गोल गरेका छन् भने ९ गोलका लागि पास मिलाएका छन् ।

के भन्छन् प्रशिक्षक ?

टिटे – ब्राजिल

यो निकै राम्रो खेल हुनेछ । दुवै टिम उत्कृष्ट फुटबलका लागि चिनिन्छन् । बेल्जियमका खेलाडी र प्रशिक्षक दुवै राम्रा छन् । मैले हरेक पटक विश्वकप जित्ने दाबेदार टिमको रुपमा बेल्जियमलाई लिएको छु ।

रोबर्टो मार्टिनेज – बेल्जियम

हामी सकेसम्म बचेर खेल्नेछौं । हामी ब्राजिललाई रोक्न शक्ति सञ्चयमा छौं । सकेसम्म हामी डिफेन्ड गर्ने छौं र बल पाएको अवसरमा गोलका लागि बढ्ने छौं । ब्राजिललाई यही तरिकाले हराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment