Comments Add Comment

रोकिएको जनता आवास कार्यक्रमको रकम निकासा

२५ असार, गोरखा । जनता आवास कार्यक्रमका लागि रोकिएको रकम जिल्लामा निकासा भएको छ ।

करिब तीन महिनासम्म अर्थ मन्त्रालयले नपठाएको रकम केही दिनअघि निकासा भएको शहरी आवास तथा भवन डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

‘कार्यक्रमका लागी भनेर पहिलो पटक चार करोड रकम आएका थियो,’ कार्यालय प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘त्यसपछि केही समय रकम आएन, अहिले दश करोड ६३ लाख रकम निकासा भएको छ ।’ निकासा भएको रकम लाभग्राहीलाइ वितरण भइरहेको उनले बताइन् ।

कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष जिल्लाको बिभिन्न ठाउँमा गरी कुल दुई सय ६२ घर निर्माण भएका छन् । गन्धर्ब, कुमाल, माझी, बोटे, दराइ, बराम, चेपाङ र दलित समुदायलाई लक्षित गरी आवास निर्माणको काम भएको हो ।

मन्त्रालयले रकम निकासामा रोक लगाउदा घर बनाएका लाभग्राहीले रकम पाएका थिएनन् भने जनता आवास कार्यक्रम प्रभावित बनेको थियो ।

रकम निकासा भएसँगै वितरणको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर अमेन्ऽ कुमार झाले बताए । ताङलीचोक, च्याङली र लापु वाहेक अन्य सबै ठाउँका लाभग्राहीले रकम लिइसकेको उनले जानकारी दिए । बाँकी लाभग्राहीहरुलाइ पनि केही दिन भित्र रकम वितरण भइसक्ने उनले दावी गरे ।

कार्यक्रम अन्तरगत चेपाङ समुदायका लागि मकैसिङमा २३, ताक्लुङमा १७, भूम्लिचोकमा २५, ताङलीचोकमा २५ र घ्याल्चोकमा १४ घर बनेका छन् ।

त्यस्तै दलित समुदायका लागि गोरखा नगरपालिकामा ४८ र लापुमा १९ घर निर्माण भएको कार्यालयले जनाएको छ । माझी समुदायका लागि घ्याल्चोकमा १५, कुमाल समुदायका लागि च्याङलीमा ३९, बराम समुदायका लागि थुमीमा ३१ र गन्धर्व समुदायका लाथि गोरखा नगरपालिकामा एक घर निर्माण भएको कार्यालय प्रमुख श्रेष्ठले बताइन् ।

आवास निर्माणका लाथि एक परिवारले तीन लाख ३२ हजार रकम चार किस्तामा पाउने प्रावधान छ । सम्झौता गरेर जग खन्न शुरु गरेपछि पहिलो किस्ता वापतको ८३ हजार, डीपीसी गरेपछि दोस्रो किस्ता वापतको ९९ हजार, गारो लगाउने काम सम्पन्न भएपछि तेस्रो किस्ता वापतको एक लाख १६ हजार र शौचालयसहित घर निर्माण सम्पन्न गरिसकेपछि चौथो किस्ता वापतको ३३ हजार रकम पाउने प्रावधान रहेको कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिइन् ।

अधिकांश लाभग्राहीले चौथो किस्ता लगिसकेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment