Comments Add Comment

संसदमा कांग्रेसको अवरोध, शिक्षामन्त्रीले बोल्न समय पाएनन्

३२ असार, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीप्रति सरकार गम्भीर नभएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

सोमबार दुई पटक बैठक बसेपनि कांग्रेसले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै गर्न सकेन । दोस्रो बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोल्न समय मागेपनि पाएनन् ।

सरकार गैरजिम्मेवार बन्योः कांग्रेस

सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए ।

उनले जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको आरोप लगाए । ‘सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, ‘यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गर्दा पनि मानेनन् ।

नेकपाको प्रतिवाद

विपक्षी सांसदहरु उभिरहेका बेला नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गरे । उनले केही सांसद उभिँदैमा संसद अवरुद्ध भएको नमानिने दाबी गरे ।

लगतै नेकपाका अर्का सांसद खगराज अधिकारीले पनि चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियामा ल्याउँदा अवरोध नगर्ने सहमति भनेपनि उल्लंघन भएको दाबी गरे ।

नेकपाका सांसदहरुले अल्पमतले बहुमतमाथि शासन गर्न नसक्ने भन्दै विरोध गरेका थिए । तर, विपक्षीको अवरोधका कारण संसद बैठक आधा घन्टाका लागि स्थगित भयो ।

शिक्षामन्त्रीले बोल्न पाएनन्

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद भवनमै कांग्रेस नेताहरुसँग वार्ता गरेपनि सहमति जुट्न सकेन ।

दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले अवरोध गरे । अवरोधका बीच शिक्षामन्त्रीले बोल्न समय मागे ।

सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरे । तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् र बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment