४ साउन, झापा । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ ।
नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक समेत रहेका ७१ वर्षे खनाल नेपाल पत्रकार संघका पूर्व अध्यक्ष हुन् ।
बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा गएराति खनालको निधन भएको उनका भतिजा भानुभक्त खनालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो ।
ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
उनको शवलाई कनकाई नदीमा शुक्रबार नै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।
विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिएका खनालको बिर्तामोड–४ बसोबास थियो ।
उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरेका थिए भने ‘मेरो अमेरिका यात्रा’ र ‘बेलाबेलाको बोली’ नामक दुई वटा कृति प्रकाशित गरेका थिए । उनका एक श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया 4