Comments Add Comment

लिस्नु कप फुटबल: ट्राइब्रेकरमा फर्साटिकर विजयी


१० साउन, बुटवल । रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा फर्साटिकर युवा क्लब प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा बुधबार भएको खेलमा फर्साटिकरले भैरव फुटबल क्लब सिद्धार्थनगरलाई ट्राइब्रेकरमा पाखा लगाएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएको खेलको ट्राइब्रेकरमा भैरवका विमल बस्नेतको प्रहारलाई फर्साटिकरका गोलरक्षक सिजयकुमार श्रेष्ठले रोकिदिएपछि नतिजा फर्साटिकरको पक्षमा आएको हो ।

यसअघि खेलमा पहिलो हाफको ३३ औं मिनेटमा फर्साटिकरका रोशन सेनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २५ औं मिनेटमा भैरवका रोशन गुरुङले गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।

बुधबारको खेलमा फर्साटिकरका गोलरक्षक सिजयकुमार श्रेष्ठ घोषित भए । बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल र जनज्योति युवा क्लब डिङगरनगर तिलोत्तमा रुपन्देहीबीच प्रतिस्पर्धा हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए ।

साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी,दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment