Comments Add Comment

हुलाकी राजमार्गः १३ वर्षमा पनि पूरा भएन मधेसको लाइफलाइन

१३ साउन, विराटनगर । हुलाकी राजमार्ग निर्माण शुरु भएको १३ वर्ष बितेपनि पूर्व-पश्चिम जोड्ने सडक निर्माणको काम अहिलेसम्म पूरा हुन सकेको छैन । तराई मधेसका जिल्ला जोड्ने ‘लाइफ लाइन’का रुपमा परिभाषित यो सडकलाई सम्पन्न गर्न भन्दै सरकारले आर्थिक वर्ष ०७५/७६ मा थप पाँच अर्ब बजेट निकासा गरेको छ ।

हुलाकी राजमार्ग आयोजना इटहरीका प्रमुख विजयकुमार महतोले पछिल्लो पटक विनियोजित रकम इटहरी, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालय मार्फत खर्च गरिने जानकारी दिए । ‘चार वटै कार्यालयका लागि ५ अर्ब पैसा निकासा भएको छ,’ कार्यालय प्रमुख महतोले भने, ‘कामको अवस्था हेरेर बजेट बाँडफाँट गरी अपुरो सडकलाई पूरा गर्ने कार्य अघि बढाउने योजना छ ।’

उनले पूर्व-पश्चिम जोड्न बाँकी रहेका स्थान र विषेश गरी सो राजमार्गलाई उत्तर-दक्षिण जोड्ने सहायक राजमार्ग निर्माणको काम बजेटले भ्याएसम्म पूरा गरिने बताए ।

हुलाकी राजमार्गलाई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्गका रुपमा समेत चिनिन्छ । यो राजमार्ग पूर्व-पश्चिम ९ सय ७५ किलोमिटरमा फैलिएको छ । उक्त राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किलोमिटरको ३२ वटा सहायक राजमार्गहरू छन् ।

योसहित जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर छ । अझै पनि हुलाकी राजमार्गको कतिपय स्थानमा सडक निर्माणको काम अधुरै छ । पूर्व-पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर विस्तार गर्ने सरकारको योजना छ ।

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटोका रुपमा चिनिएको यस मार्गलाई पद्मशमशेरले आगाडि बढएकाले ‘पद्मरोड’ पनि भनिन्छ । यो राजमार्ग निर्माणका लागि भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ मा नेपाल भ्रमणकै क्रममा प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजमार्ग निर्माणका लागि भारतीय सहयोगको सैद्धान्तिक सहमति भने ०६१ सालमा भएको थियो ।

६७ किलोमिटर मात्रै कालोपत्रे

०६२/६३ को परिवर्तनपछि नेपाल सरकारबाट छनोट भएका १ हजार ४ सय ४० किलोमिटर सडकहरूको डिजाइन, सुपरीवेक्षण र निर्माण गरी तीन चरणमा गर्नेगरी सम्पन्न गर्ने समझदारी दुई देशका सरकारबीच भएको थियो ।

त्यसबापत लाग्ने सम्पूर्ण खर्च भारतले व्यहोर्ने, तर जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने समझदारी भएको थियो । तर, सहमतिअनुसार नेपालले सहयोग र समन्वय नगरेको भन्दै भारतले सडक निर्माणको कामबाट हात झिकेको थियो ।

राजमार्ग निर्माणको प्रथम चरणको काम लगभग ३३ प्रतिशत हो, जुन अझै अलपत्र छ भने दोस्रो चरणको ६६ प्रतिशत निर्माण अन्योलमा छ ।

एक हजार सात सय ९२ किलोमिटरमध्ये हालसम्म ६७.८४ किलोमिटर मात्र कालोपत्रे भएको छ । कतिपय ठाउँमा सडकको आधारभूत संरचना नै छैन ।

०६२/६३ सालदेखि हुलाकी राजमार्गको निर्माणको काम सुरु गरिएको थियो । तर, अझै पनि प्रयाप्त बजेट अभावमा निर्माणको कामको दूरावस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तर्गतको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर सडकमा अहिले पनि हिँड्न नसकिने अवस्थ्ाा छ ।

नामोनिसान भेटिँदैन सडकको

सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हँुदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म्ा चारपांग्रे सवारी साधन चल्ने अवस्था छैन । यो खण्डमा साइकलको यात्रा गर्न पनि धेरै सास्ती व्यहोर्नुपर्ने अवस्था छ ।

कतिपय स्थानमा कालोपत्रेमात्र होइन, सडकको नामोनिसान भेटिँदैन । धेरै स्थानमा पुल निर्माणको काम अधुरो छ ।

मुख्यत झापा र मोरङ जिल्लाको सिमाना भएर बग्ने रतुवा नदीले गत वर्ष हुलाकी राजमार्गअन्तर्गत मोरङ खण्ड बगाएको थियो । यो खण्ड पनि निर्माण हुन सकेको छैन ।

राजमार्गकै मोरङको सुनवर्षी नगरपालिका हुँदै जाने सडक खोलालेे बगाएको थियो । तर, पुनर्निर्माण अघि नबढ्दा सडकको करिब २ सय खण्ड नै हराउन पुगेको छ ।

राजमार्गको झापा र मोरङमा ४८/४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर पर्छ ।

यी जिल्लाअन्तर्गत पर्ने झापामा राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटर र सप्तरीमा कल्याणपुर बर्साइन हुँदै ब्रहृमपटी १८ किलोमिटर सहायक राजमार्ग छन् ।

हुलाकी राजमार्ग आयोजनाका प्रमुख महतोका अनुसार सरकारले गएको आर्थिक वर्षका लागि ५३ करोड रुपैयाँ निकासा गरेको थियो । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा २ करोड रुपैयाँ लागत रहेका साना-ठूला गरी १५ वटा पुलको निर्माण भइरहेको छ । यसबाहेकका काम भने स्थगित भएको छ ।

त्यसैगरी झापामा ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा एक दर्जन पुल निर्माणको चरणमा छन् । झापाकै चारआलीमा ४० किलोमिटर सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ । यसबाहेक उल्लेखनीय काम हुन सकेको छैन ।

ठेकेदारले भुक्तानी लियो, पुल निर्माण अलपत्र

आयोजना प्रमुख महतोले सरकारले हुलाकी राजमार्गका लागि पर्याप्त बजेट निकासा नगर्दा प्रत्येक वर्ष ठेक्का लगाइएको कामको भुक्तानी समेत निर्माण कम्पनीलाई निकासा दिन समस्या पर्ने गरेको छ ।

हुलाकी राजमार्ग अन्तर्गतकै मोरङ र झापाको सिमानामा पर्ने रतुवामाई नदीको पुलको पनि बेहाल छ । पुल निर्माण भएपनि नदीले पूर्वतर्फको क्षेत्र कटान गरेपछि सञ्चालनमै नआइ अलपत्र परेको छ । पुल नहुँदा बर्खाको समयमा नदी वारपारका लागि डुंगाको सहायतामा वारपार गर्नुपर्ने स्थिति छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजनाले ११ करोड रुपैयाँ लागतमा २ सय ५ मिटर लम्वाइको पुल ७ वर्ष अघि निर्माण सुरु गरेको थियो । जसअनुसार निर्माण कम्पनी कालिका आशिष जेवीले ठेक्का पाएको पुल निर्माण ३ वर्ष अघि नै सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजना सुनसरीका प्रमुख कैलाश साहले पुल हस्तान्तरण नहुँदै बाढीले केही भाग बगाएको बताए । अहिले उक्त पुलको बीच भाग मात्र छ ।

पुलको डिजाइन स्वीकृत भएन

पुनर्निर्माण नगरिँदा पुल प्रयोगमा आउन सकेको छैन । यसको पुनर्निर्माणका लागि पनि पहल भएको छैन ।

आयोजनाका प्रमुख साहका अनुसार क्षति पुगेको भागमा थप संरचना निर्माणका लागि सडक विभागअन्तर्गतको पुल महाशाखामा नयाँ डिजाइन पठाएपनि हालसम्म स्वीकृत भएको छैन ।

पुल सञ्चालनमा ल्याउन नसकिँदा यस क्षेत्रका वासिन्दालाई निकै सास्ति परिरहेको छ । दुई वर्ष अघि नदी तर्न खोज्दा डुङ्गा पल्टिएको थियो, जसमा डुङ्गामा सवार २७ जनालाई उद्धार गरिएको थियो । समयमा नै उद्दार हुँदा ठूलो मानवीय क्षतिबाट जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment