Comments Add Comment

गंगामायाको प्रश्न : २०६९ सालदेखि अनसन बसिरहेकी छु, फेरि बसौं ?

६ वर्षदेखि वीर अस्पतालको १८ नम्बर बेडमा सुतेको सुत्यै

१५ साउन, काठमाडौ । गंगामाया अधिकारीको अनसन डा. गोविन्द केसीको भन्दा धेरै नै लामो, जटिल र विरक्तलाग्दो छ । विगत ६ वर्षदेखि बारम्बार अनसन बस्दै आएकी गंगामाया अहिले पनि वीर अस्पतालभित्रै छिन् । १० दिनको अल्टिमेटम दिएर उनले अनसन त तोडेकी छिन्, तर सरकारलाई उनको प्रश्न छ– ‘म फेरि अनसन बसौं ?’

सोमबार दिउँसो अनलाइनखबरकर्मी वीरअस्पतालमा पुग्दा आइसीयुको १८ नम्बर बेडमा गंगामाया भेटिइन् । उनले अर्को १७ नम्बर बेडतर्फ औंल्याउँदै उनले भनिन्– ‘त्यही बेडमा अनसन बसेका बेला मेरा बूढाको तड्पिएर मृत्यु भयो । अब म यही बेडमा मर्न चाहन्छु ।’

गंगामायाका साथमा हरियो लुगामा सजिएकी एक महिला थिइन्, जसले उनका सुन्निएका दुबै खुट्टा बुहारीलेझैं मालिस गरिहेकी थिइन् ।

खुट्ट मालिस गरेको देख्दा हामीले ती युवती गंगामायाकै कोही आफन्त होलिन् भन्ने सोच्यौं । तर, पछि थाहा भयो, उनी गंगामायाको सेवामा खटाइएकी महिला प्रहरी रहिछन् । उनलाई नेपाल प्रहरीले गंगामायाको रेखदेखका लागि खटाएको धेरै समय भइसकेछ, ६ वर्ष ।

खुट्टा मालिस गर्ने ती प्रहरीसँगै गंगामायाको सेवामा खटिएकी अर्की एक महिला प्रहरी पनि रहिछिन्, जसले २४ घण्टाको आलोपालोमा गंगामायाको रेखदेख गर्दै आएका रहेछन् । दुःखका साथ जागिर खाइरहेका उनीहरुले आफ्नो नाम सार्वजनिक गर्न इन्कार गरे ।

‘म त बुवा (नन्दप्रसाद) हुदाँ देखि नै थिएँ, बुवा बित्नु भएपछि पनि अहिले आमासितै छु’, एक महिला प्रहरीले भनिन् ।

गंगामायाले थपिन् ‘यी कसकी छोरी, कहाँबाट आएको भनेर मैले पनि भनेको छैन । यिनीहरुले आफ्नो ड्युटी मात्रै पूरा गरेका छैनन्, मेरो सेवा पनि गरेका छन् । खुट्टा दुख्योभन्दा खुट्टा मिचिदिने, ढाड दुख्यो भने ढाड सुम्सुम्याइदिने लगायतका सम्पूर्ण काम गरेका छन् ।’

महिला प्रहरीबारे कुरा सुनिसकेपछि हामीले  गंगामायासँग उनको अनसन र सरकारसँग उनले उठाइरहेको मागबारे कुरा कुरा गर्‍याैं ।

‘खै, के छ र भन्नु ? माग पूरा गर्छु भन्छन् । कहिले हो गर्ने ? यसैगरी थुपारेको छ, स्लाइन पानी दिएको छ, राखेको छ,’ गंगामायाले अनलाइनखबरसँग भनिन्– ‘मैले त स्लाइन पानी पिएर बाँच्न खोजेको पनि छैन । भन्यो भने मानवअधिकारकर्मी तथा शुभचिन्तकहरु चुप लागेर बस न, काम कुरा अगाडि बढिरहेको छ, अहिले हतार छैन भन्छन् ।’

भोलि त यहाँ अस्पतालमा आएको पनि ६ वर्ष पूरा भएर ७ वर्ष लाग्छ । त्यसबेला हामी बुढाबुढी दुबैलाई सिधै आईसीयुमा ल्याएर भर्ना गरेका थिए । त्यसबेला बुढा १७ नम्बरमा थिए, म १८ नम्बरमा । बुढाको १७ नम्बरमै निधन भयो

दुई साताअघि अनसन तोडेपछि आफ्ना वकिल र मानव अधिकारकर्मीबाहेक अरु कोही भेट्न नआएको गंगामायाले बताइन् । । उनले भनिन्– ‘कोही आइदिए हुन्थ्यो भन्ने लागेको पनि छैन । आखिर उनीहरु आएर पनि मेरो माग पूरा हुँदैन । माग पूरा नभएपछि म मात्र किन बाँचिरहने ? मेरो बुढा मरेको पनि यहीँ हो, म मर्ने पनि यहीँ हो भनेको छु, बसेको छु ।’

यति भनिसकेर उनले वीर अस्पतालको भित्तामा टाँसेको छविलाल पौडेलको फोटो देखाउँदै भनिन्– ‘यी यो एउटा अपराधी आत्मसमर्पण गर्न गयो भनेर अनसन स्थगित गरेकी छु म आफैंले । मलाई कसैले स्थगित गर् भन्या पनि हैन । भन्या पनि छैन । अनशन तोडाउन सरकार भनाउँदाहरु पनि आएका थिए क्यार । उनीहरुले अनसन तोड्नुस् भन्दा पनि मैले अहिले म अनसन तोड्दिनँ, झोल पदार्थ नै खान्छु भनेकी थिएँ । योभन्दा अगाडि पनि मैले झोल पदार्थ नै खाइरहेको हो ।’

अनसन तोडेको विषयमा सोध्दा उनले भनिन्– ‘अब माग पूरा गर्ने सवालमा अझै १० दिन वा १५ दिन त लाग्ला । अब जति दिन लाग्ला… म स्थगित गर्छु त भनेको हो । तर, अब त्यो दश दिन पनि कटिसक्यो । अहिले खानामा त हस्पिटलले त्यही दूध दिन्छन् । दालको झोल दिन्छन् । त्यही नै खाइरहेकी छु । अरु त केही खाएको पनि छैन । न्याय नपाएसम्म म खादाँ पनि खान्न ।’

गंगामायाले करिब ४ मिनेटजति आफ्नो बेदना यसरी सुनाइन्–

आखिर, सबैलाई मर्नु त छँदैछ एकदिन । तर मलाई दिन, महिना, वर्ष गरी लम्बेतान बनाएर ढिलो बनाइदिए । । ढिलै भए पनि आखिर मर्ने त सबैजना मर्ने नै हो एक दिन । तर मेरो, मेरो बुढाको र छोराको मराई भने अलि बेग्लाबेग्लै भयो ।

बच्चा छोराले गोली खाएर मर्नुपर्‍याे । बुवा (नन्दप्रसाद) ले ३३४ दिन अनसन बसेर, तड्पिएर मर्नुपर्‍याे । म पनि त्यति नै दिन तड्पिएकी हो । तर, मलाई चाहिँ मर्न दिएनछन् , त्यसबारे पहिले त थाहा पाइनँ ।

ओठमा ग्लुकोजको धुलो राखेर कपासले पानी चुहाएर मलाई बचाएको रहेछ । पाँच दिन पछि झुलुस्स आँखा हेर्दा मानव अधिकारकै मान्छे आएर मलाई पानी चुहाइरहेको देखें ।

ठीक छ, अब म बाँचेर पनि हुने त केही छैन । (सुन्निएको खुट्टा देखाउँदै ) खुट्टा मोलेर तथा खुट्टा थिचेर बाँचेको पनि केही अर्थ छैन । मैले त चाहेको पनि मर्न नै हो ।

किनकि, न त यिनीहरुले न्याय दिन्छन् जस्तो नै लाग्छ, न मैले न्याय पाउँछु भन्ने लाग्छ । मेरो माग पूरा हुन्छ होला भन्ने पनि लाग्दैन । तैपनि हेर्छु । अनसन त यसै स्थगित गरें, उसै स्थगित गरें ।

उनीहरु (मानवअधिकारकर्मीहरु) आएपिच्छे काम भैरहेको छ त, अनि तपाई किन हतार गरेर मर्नुपर्‍याे भनेर हप्काउने गर्छन् । काम हुने नै हो भने त मैले पनि मर्न त खोजेको छैन नि ।

मेरो पनि एउटा छोरा छ, नाति छ । उनीहरुको पनि फल्ला फुल्ला, केही होला भन्दै छु नि त । बाउ मरेर गए । भाइ मारेर सिध्याए । एउटा भए पनि छोरा छ । त्यसको पनि भविश्य मैले हेरिदिनुपर्‍याे नि ।

त्यसको पनि केही न केही चित्त त बुझाइदिनु त पर्‍याे नि । जे भए पनि अनसनकै कारण बाउ मरेर गए । आमा अनसन बसिरहेकी छ । अनि मेरो छोराको चित्तबुभझ्दो माग नभए म किन बाँच्ने ? हो कि हैन ? तपाईहरुलाई कस्तो लाग्छ ? त्यसैले, मैले बुझिसकें । म अनसन बसेरै मर्ने हो ।

यति लामो अनसन बस्दा जिउले कसरी थामिरहेको होला ? हामीले सोध्यौं–

कति भयो यसरी अनसन बसेको ? कसरी बस्नुभयो यति लामो अनसन ?

अनसन बसेको त धेरै भइसक्यो । ०६९ साल माघ २२ गतेदेखि बुढाबुढी सँगै अनसन बसेको हो । बुढा ३३४ दिनमा जानुभयो । भाग्यमानी हुनुहुँदोरहेछ, मलाई र मेरा छोरालाई भारी बिसाएर जानुभयो । मचाहिँ जान पाएको छैन । वा भनुँ जान दिइएको छैन । नत्र त म पनि त्यतिबेलै जान्थे ।

त्यतिबेलै नगए पनि मेरो अनसन धेरैचोटि भैसक्यो । स–साना अनसनको त के कुरा गर्नु र ? २० दिन, २५ दिन, २८ दिन, ४० दिनको धेरै लामो लामो अनसन बसेको पनि ७ पटक भैसक्यो । अस्ति पनि ४५ दिनमा नै अनसन तोडेको हो ।

पानी पनि नखाई अनसन बसेपछि ५ बुँदे माग राखेर मलाई अनसन स्थगित गर्न लगाएका छन् । अझ भनांै, अनशन स्थगित गरेको छु म आफैंले । मलाई कसैले अनसन स्थगित गर् भनेको छैन । यसरी हस्पिटल बस्दा मेरो खर्च अस्पतालले बेहोरेको छ कि सरकारले बेहोरेको छ कि, यसबारे मलाई केही थाहा छैन ।

मलाई त हुनेसम्मको औषधी ख्वाएको छ । लगाउन हुने, नहुने सबै औषधी लगाएको छ । त्यो सबै सरकारले नै गरेको त होला नि । यसबारे त मलाई जानकारी भएन । जहाँसम्म हस्पिटलको कुरा छ, हरेक दिन अस्पतालका निर्देशक आउनुहुन्छ, कस्तो छ आमा भन्नुहुन्छ ।

अस्पतालको बेड ओगटेकोमा म आफैंले पनि भनिरहेकी छु, अरु बिरामीलाई ल्याएर राख्ने बेडमा म नबिरामी मान्छेलाई किन ल्याएर राखेको त भनेर म आफैंले भनिरहेकी पनि छु ।

अहिले त म आफैं अशक्त र बिरामी पनि भैसकेकी छु । अनसन बस्दाबस्दै, चार ठाउँमा घोप्दाघोप्दै कहिले घाँटी छेडेको छ, कहिले हात, कहिले खुट्टा छेडेको छ । घाँटी छेडेकै पनि अस्ति एक महिना पुग्यो । औषधी हाल्न भनेर घाँटी छेडेको रे । बचाएका रे डाक्टरहरुले । आजै बिहान मात्र पनि मैले डाक्टरलाई घाँटीमा लगाएको पाइप निकाल्दिनू, मलाई गाह्राे भयो भनेकी थिएँ । दाल भात खाएको भए चाँडै तग्रिएर निकाल्न सजिलो हुन्थ्यो । झोल मात्र खाएकाले निकाल्न गाह्राे हुन्छ, फेरि तपाईले भोलिदेखि पानी पनि खान छोड्नुभयो भने फेरि स्लाइन लगाउनुपर्छ भन्छन् ।

शरीरमा स्लाइन लगाउने ठाउँ कतै नभएकाले यसलाई निकाल्न त समय लाग्छ नै । फेरि यो निकाल्न त मिटिङ्ग बस्नैपर्छ, सिनियर डाक्टरहरु, मानव अधिकारकर्मीहरुलाई सोध्नैपर्छ भनेर डाक्टरहरुले भन्नुभएपछि अफ्ठेरो सहेरै भए पनि बसिरहेकी छु । यसकै कारण राति सुत्न पनि पाइँदैन । मुन्टो हल्लाउन पनि पाइँदैन । सास फेर्दा पनि छाति दुख्छ, चर्किन्छ । तर, अब डाक्टरले नै निकाल्न हुँदैन भनेपछि मैले कराएर पनि के गर्ने ?

डाक्टरहरुले त दाल भात खाएपछि निकाल्न मिल्छ भन्छन् । तर, म खादिनँ भनेर डाक्टरहरुलाई भनिसकें । मैले अहिले दालभात खान जरुरी पनि छैन । यत्रो ६/७ वर्ष त खाइनँ भने अब केका लागि खानुपर्‍याे  ?

भोलि त यहाँ अस्पतालमा आएको पनि ६ वर्ष पूरा भएर ७ वर्ष लाग्छ । त्यसबेला हामी बुढाबुढी दुबैलाई सिधै आईसीयुमा ल्याएर भर्ना गरेका थिए । त्यसबेला बुढा १७ नम्बरमा थिए, म १८ नम्बरमा । बुढाको १७ नम्बरमै निधन भयो । मचाहिँ अहिलेसम्म पनि जिवितै छु भन्नुपर्‍याे । खुट्टा पनि चल्दैन । खुट्टा पनि चिरेका छन् ।

अनसन स्थगित गरेर पनि वीर अस्पताल किन नछाडेको ?

मलाई त गाउँ जाँदा यही छविलाल पौडेलले घरमा पनि मलाई कुटेरै खेदेको हो । अब यतै कतै बस्न जाउँ भने पनि मलाई काठमाडौको घरमा कसले बस्न दिन्छ ? कसले मेरा लागि घर बनाइदिन्छ र कहाँ गएर बसौं ? शुभचिन्तक तथा आफन्तकहाँ जाउँ भने देवर, देउरानी, भाइ भतिज, दिदीबहिनी सबैजना छन् । तर, त्यहाँतिर सेप्रे लगाएर म जादाँ पनि जादिनँ ।

म मेरो छोराले नै आएर जाउँ भने पनि म जाँदिनँ । हुने भए र पाएसम्म म यहीँ नियति लगाउँछु । नपाए यही बेडमा मर्छु । हुन त बुढा मरुन् र म बाँचु भनेर म अनसन बसेकी पनि हैन । मलाई त नचाहँदा नचाहँदै पनि यो अवस्थामा पुर्‍याइदिए । कमसेकम बुढामात्र सँगै भइदिएको मात्र भए पनि मेरो मनले अलिकति भए पनि शान्ति त पाउँथ्यो ।

आफन्तहरु भेट्न आउँदैनन् ?

सासू छन्, देवर छन्, देउरानी छन् । पोहोर–पोहोर भेट्न आउँथे । अहिले आएका छैनन् । दाई नन्दप्रसाद हुदाँ आउँथे, दाइ बितेपछि पनि बेलाबेलामा आउने गरेका छन् । मेरा आफ्नै दाइभाइहरु पनि कहिलेकाहीँ भेट्न आउँछन् । तिनीहरु आएर खाने भए केही ल्याइदिन्छु, लगाउने भए केही ल्याइदिन्छु भन्छन् । आ…मेरै बुढाको सर्ट लगाएकी छु, मैले के खाएकी छु र ? मैले खाने के हुनु ? मुख देखाउन आए हुन्छ भनेर भन्दिछु । यस्तो विजोग हेर्न कसलाई पो आउन मन लाग्छ र ? त्यही पनि उनीहरु आइरहन्छन् । सुझाव सल्लाह दिइरहन्छन् । नआत्तिनु हुन्छ भन्छन् ।

अब हुने त कसले भनेर पो हुने होला र ? यत्रो बर्षदेखि पर्खेको छु । बसेको छु । हेर्दै जानुहोला ।

अब के गर्नुहुन्छ त ?

अब म भनेको त अनसन बसेरै मर्ने हो । म विष खाएर पनि मर्दिनँ । झुण्डिएर पनि मर्दिनँ । म यसैगरी अनसन बसेर मेरो थोपाथोपा रगत गनेर सरकारलाई दिएपछि मात्रै जुन दिन रगत सकिन्छ, त्यही दिन मात्र मर्छु भनेर बसेकी छु ।

अस्ति पनि ४६ दिनको दिनमा खुस्किई, सकिई भनेरै बाध्य भएर अनसन तोडाउन आएका हुन् । त्यसबेला के–के के–के गरौंला, पाँच बुँदे माग पूरा गरौंला भनेर मलाई अनसन तोडाएका थिए । अब गर्छन् कि गर्दैनन् हेरौं । मैले १० दिन भनेकी थिएँ । आज १५ दिन भैसक्यो ।

म त डाक्टरहरुलाई पनि भन्दिन्छु, मर्ने बेड त यही हो । तपाईहरुले आयु लम्ब्याइदिएको मात्र हो । फेरि मैले उनीहरुसित न्याय खोज्या पनि हैन । डाक्टरहरुको पाटो पनि हैन यो । उनीहरुको काम भन्या त मेरो आयु लम्ब्याइदिने मात्र हो । बरु मिल्छ भने आयु नलम्ब्याइदिनुस् पनि भन्ने गर्छु । तर, डाक्टरहरु चाहिँ बाँचेरै न्याय लिनुपर्छ आमा भन्छन् । हामीले त खाली आयु लम्ब्याउने हो । माग पूरा गर्ने जिम्मा त सरकारकै हो भन्छन् ।

डाक्टरहरुको कुरा सुन्दा ठिकै पनि हो जस्तो लाग्छ । अहिले मैले खाने औषधीहरु पनि अस्पतालले नै हेरेको छ । डाक्टरहरुले औषधीहरु लेखिदिनुहुन्छ । यहाँ भएका प्रहरी नानीहरुले डाक्टरले लेखेको दबाइ किनेर ल्याउनुहुन्छ । त्यहीअनुसार औषधी चलाएको छ ।

तपाईको विचारमा के–के भयो भने माग पूरा हुन्छ ?

यो मुद्दालाई मैले त अन्तराष्ट्रिय अदालतमा लैजान सक्या छैन । तपाईहरुको मिडियामार्फत मिडियाले र मानव अधिकारकर्मीहरुले अन्तराष्ट्रिय अदालतमा यो मुद्दा बुझाइदिए यो सरकारले केही गर्न बाध्य हुन्थ्यो कि ? मलाईचाहिँ त्यस्तै लाग्छ ।

सरकारलाई के भन्न चाहनुहुन्छ ?

मैले सरकारलाई भन्नुपर्ने केही पनि छैन । नबुझेको सरकार हैन । गिरिजाप्रसाद कोइरालाको सरकारपछि ११ वटा सरकार आए । माओवादी तथा एमालेका सरकार नै ३ वटा भए । कांग्रेसका पनि सरकार आए । त्यसैले मलाई उनीहरुसित भन्नु केही पनि छैन । म त भन्छु– मेरो बुढालाई सरकारले नै मारिदिए । आखिर हामीले आमरण अनसन बसेर न्याय नै मागेका थियांै । कसैको सम्पत्ति वा ढुकुटी पनि मागेका थिएनाैं ।

हामीले त मेरो बच्चा मार्ने अपराधीलाई मार भनेको पनि छैन । बरु बच्चा मार्ने अपराधीलाई कानुनले तोकेबमोजिमको कारवाही गरिदेऊ, लुटेको सम्पत्ति फिर्ता गरिदेउ मात्र भनेको हो ।

तर, उनीहरुले त के के आरोप लगाएर अमेरिकामा घर मागेको छ रे, दुई अर्ब पैसा मागेको छ रे, अमेरिका जान–आउन निःशुल्क टिकट माग्या छ रे । अनि त्यस्तो माग राखेर अनसन बस्नेको माग कसले पूरा गर्न सक्छ भनेर झूठो आरोप लगाएरै मेरो बुढा मारिदिएका छन् ।

हेर्नुहोस् गंगामायाको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment