+
+

यूट्यूवमा दिपाको गीत चुस्त, रेखाको सुस्त

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १२:२९


साउन लागेपछि नेपाली चलचित्रको गीत रिलिज गर्ने होड नै चलेको छ । दुई साताको अन्तरालमा आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् ।

साउन, भदौ र असोजमा चलचित्रको भेल आउन लागेकाले पनि निर्माताहरु अहिलेदेखि नै गीत हिट गराउन लागिपरेका हुन् । किनकी, गीत-संगीतकै कारणले पनि चलचित्रको व्यापारमा धेरै ठूलो फरक पर्दछ ।

गीत-संगीतमा दर्शकले देखाएको चासोले पनि कुन चलचित्र र कुन कलाकारले कस्तो प्रभाव पार्न सकेका रहेछन् भनेर थाहा हुन्छ ।
कुरा गरौ, नायिका रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘मालिका’ को गीतको । ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक भएको २ साताभन्दा बढी भयो । यो गीतलाई अहिलेसम्म युटुबमा करिब ४ लाख २० हजार पटक हेरिएको छ । २ सातायता रिलिज भएका गीतमा यो सबैभन्दा कम हेरिएको गीत हो ।

कमेन्ट र लाइकको आँकडामा पनि रेखाको गीत कमजोर छ । यसको पछाडि केही कारण छन् । नायिका रेखा थापाको घट्दो क्रेज, उनलाई युटुबमा कम खोजिनुले ‘मालिका’को गीतले गतिलो भ्यूज पाएको छैन । हुनत, नायिका रेखा थापाले अरुका गीतलाई बुष्ट गरिएको तर आफ्नो गीतको भ्यूज अर्गानिक भएको बताएकी छिन् । तर, आफू कमजोर पर्दा अरुलाई आरोप लगाउने रेखाको यो पुरानै बानी हो ।

९ दिन अगाडि रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ को शिर्ष गीतले राम्रो भ्यूज पाएको छ । यो गीतलाई यो समाचार तयार पार्दासम्म १४ लाखभन्दा बढी पटक हेरिएको छ । उत्कृष्ट गीत, चलचित्रको ब्रान्ड, स्वस्तिमा खड्काको युटुबमा खोजी आदि कारणले गर्दा पनि यो गीतले राम्रो भ्यूज पाएको हो ।

यता, नायक आर्यन सिग्देलले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कायरा’को एक साता अगाडि रिलिज भएको ‘यो त माया हो’ बोलको गीतले साढे ६ लाखभन्दा बढी भ्यूज पाएको छ । आर्यन र साम्राज्ञीको स्टारडमको अगाडि यो कमजोर हो । एक महिनाभित्रै ट्रेलर र २ गीत सार्वजनिक भएकाले पनि यो गीतले आशातित भ्यूज नपाएको हुनसक्छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक धिरज मगरलाई फिचरिङ गरिएको चलचित्र ‘उडायो हावाले’ बोलको गीतले सार्वजनिक भएको ८ दिनमा ११ लाखभन्दा बढी भ्यूज पाएको छ । यो गीतलाई दर्शकले मन पराउन थालेका छन् ।

सार्वजनिक भएको २४ घन्टामै ८ लाख बढी भ्यूज पाएको चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतले हंगामा मच्चाएको छ । यो गीतलाई २ दिन नवित्दै १२ लाखभन्दा बढी पटक हेरिएको छ ।

यसरी हेर्दा करिब २ सातामा रिलिज भएका ५ वटा चलचित्रको गीतसंगीतमा ‘छक्का पन्जा ३’ र ‘नाई नभन्नु ल ५’ का गीतसंगीत लामो रेशको घोडा बन्ने संकेत देखिएको छ । नायिका रेखा थापाको चलचित्र ‘मालिका’ कमजोर बन्दा ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’ को गीतले राम्रै दर्शक बटुलिरहेका छन् ।

युटुबमा भ्यूज राम्रो आउँदैमा चलचित्रले हंगामा मच्चाउँछ भन्ने छैन । तर, यसले एक प्रकारको माहोल भने बनाउँछ । माथि उल्लेख गरिएका ५ वटै चलचित्रले यो बर्ष नाफाको व्यापार गर्छन् भन्ने अड्कल काटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?