Comments Add Comment

कस्तो रहला रोनाल्डोबिनाको रियल मड्रिड ?


१७ साउन, काठमाडौं । गत मे महिनामा रियल मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेर आधुनिक फुटबलमा नयाँ कीर्तिमान बनायो ।

उसले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेर विश्व क्लब फुटबलमा आफ्नो दबदबा देखाएको थियो ।

कीर्तिमानी जितपछि रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको बताएका प्रशिक्षक जिदेदिने जिदानले पदबाट जब राजीनामा दिए तब रियल मड्रिड अब के होला भन्ने प्रश्न आउन सुरु भयो ।

जिदान प्रशिक्षकको रुपमा आएपछिका हरेक सिजन रियल च्याम्पियन्स लिग विजेता बनेको थियो । सन् २०१६ मा मडि्रड आएका जिदानले आफ्नो खेल जीवन जस्तै प्रशिक्षण कला पनि उत्कृष्ट रहेको सावित गरेर बिदा भए ।

अब के होला भन्ने प्रश्न झनै चर्को गरी आयो, जब स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मड्रिड छाडेर इटालियन क्लब युभेन्टस लागे । रोनाल्डोले मड्रिड छाडेपछि जिदान बाहिरिएको पनि छायाँमा पर्‍यो ।

मड्रिडबाटै ४ च्याम्पियन्स लिग, ४ बालोन डि’ओर जितेका रोनाल्डोको खेल शैली मड्रिड समर्थकलाई जिदानको प्रशिक्षण शैलीभन्दा बढी प्रिय छ ।

रोनाल्डोले मड्रिडबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेर उपाधि यात्रामा सधैं प्रमुख भूमिका खेलेका थिए । उनले मड्रिडबाट ४४ हृयाट्रिक गरे, जसमा ला लिगाको ३४ हृयाट्रिक सामेल छ ।

रोनाल्डो २००९ मा त्यो समयको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएका थिए ।

अब मुख्य दुई पात्र नभएको रियल मड्रिडले अगाडिको यात्रा कसरी गर्ला त ? त्यही उचाइ र उपाधि यात्रा जोगाइराख्न सक्ला त ?

मड्रिडमा आफ्नो भविश्य नदेखेर रोनाल्डो युभेन्टस् लागेपछि उनको स्थानमा ल्याइने खेलाडीको बारेमा चर्चा भइरहे पनि उनको स्थानमा को भन्ने विकल्प निस्किसकेको छैन । क्लबमै रहेका ग्यारेथ बेलले रोनाल्डोको काम गर्न सक्ने नयाँ प्रशिक्षक जुलेन लोपेटेगीले विश्वास गरेका छन् ।
तर, नयाँ सिजनको तयारीका लागि भइरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा बुधबार म्यानचेस्टर युनाइटेडविरुद्ध बेलले उत्कृष्ट खेल देखाउन सकेनन् । मड्रिड युनाइटेडसँग २-१ गोलले पराजित भयो । मड्रिडका लागि करिम बेन्जेमाले गोल गरेका थिए ।
अमेरिकाको फ्लोरिडा मियामीमा सेतो जर्सीमा आएका हजारौं समर्थक रोनाल्डोलाई सम्झिरहेका थिए ।

उनैमध्येका एक युवक हसनले बीबीसीसँग भनेका छन्, ‘रोनाल्डो अझै मेरो मुख्य खेलाडी हुन् । उनीबिना रियलले के गर्ला भन्ने चिन्ता छ । इडन हजार्ड, नेइमार र एमबाप्पेमध्ये एक जना त ल्याउँछ नै होला ।’

अर्को महत्वपूर्ण कुरा १९९९/२००० को सिजन पछि व्यक्तिगत रुपमा दिइने विश्व फुटबलको ठूलो अवार्ड मानिने बालोन डि’ओरमा यसपटक मड्रिडका खेलाडी हुने छैनन् ।

सन् २००० देखि लुइस फिगो, माइकल ओभेन, जिनेदिने जिदान, रोनाल्डो, फाबियो कानाभारो, काकाले रियल मड्रिडको साख बालोन डिओरमार्फत पनि देखाइरहेका थिए । त्यसपछि आएका क्रिष्टियानो रोनाल्डोले त्यसको चमक अझै फैलाए ।

अब बालोन डि’ओरसम्म क्लबको नाम फैलाउन सक्ने त्यस्तै खेलाडी को होला त भन्ने चिन्ता मड्रिडमा छ ।

यो सबैमा प्रशिक्षक लोपेटेगीले ग्यारेथ बेलमाथि नै विश्वास गरेको भए पनि समर्थकहरु उनको कुरामा विश्वस्त हुन सकेका छैनन् ।

मियामीमा भएको खेलमा सुस्त रुपमा प्रस्तुत भएका बेलमा क्षमता भए पनि त्यो उचाइ लिन सक्लान् भन्नेमा शंका गर्ने ठाउँ प्रशस्त भेटिए । १८ वर्षका ब्राजिलियन खेलाडी भिन्सियस जुनियरलाई ३८.७ मिलियन पाउण्डमा भित्र्याएको रियलले उनमा पूरा विश्वास गरिहाल्ने बेला भएको छैन ।

बुधबार म्यानचेस्टर युनाइटेडसँगको खेलमा उनमा रहेको फुटबल कला देखिए पनि बेलसँग उनको तालमेल भने मिलेको थिएन । समग्रमा बेलले फन्ट लाइनमा उस्तो धेरै केही गर्नै सकेनन् ।

देब्रेतिरबाट खेलेका भिन्सियस एक सयम त दाहिनेतिर पुगेर हराएका थिए । बेल सेन्टरमा अलमलिएका थिए । बेन्जेमा, बेल, भिन्सियस र ड्यानि सेवालस चार जना अट्याकर रहेका बेला त्यस्तो बेमेल देखिनु मड्रिडका लागि सुखद होइन ।
हुन त म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोस मोरिन्होले भनेजस्तै ‘रियल मड्रिड कोही व्यक्तिभन्दा निकै ठूलो छ’ भन्ने कुरालाई पनि नकार्न सकिँदैन ।

यसैले जिदानको स्थानमा लोपेटेगीले काम सम्हालेजस्तै रोनाल्डोको स्थानमा पनि कोही त देखिएला नै । ‘रोनाल्डो को हुन् भन्ने सबैलाई थाहा छ । रियल मड्रिड के हो भन्ने पनि सबैलाई थाहा छ’ मोरिन्होले भनेका छन्, ‘रोनाल्डो जस्तो खेलाडी क्लबमा याद त आइ नै हाल्छ तर मड्रिड कोही व्यक्तिभन्दा धेरै ठूलो छ । उनीहरुले यो परिस्थितिको सामना पनि राम्ररी गर्ने छन् ।’

एमबाप्पे, नेइमार, केन, हजार्ड कसलाई क्लब भित्र्याउने भन्ने कुरा रियल मड्रिडका अध्यक्ष  फ्लोरेन्टिनो पेरेजले जारी गर्ने चेकबुकमा पनि निर्भर छ ।

मड्रिडले चाहिरहेका यी कुनै पनि खेलाडीलाई अहिले ल्याउन सहज देखिँदैन । एमबाप्पे र नेइमारलाई लामो समयको सम्झौतामा ठूलो रिलिज क्लज राखेर पेरिस सेन्ट जर्मेन बसिरहेको छ ।

केन र पेरेजको बीचमा टोटनहृयामका प्रमुख ड्यानियल लिभे रहेका छन् । केन आफै पनि टोटनहृयामबाट बाहिरिने मनस्थितिमा देखिँदैनन् ।

विश्वकपमा उत्कृष्ट खेल देखाएका हजार्डलाई ल्याउने हो भने पनि दुई सय मिलियन युरोभन्दा कम रकममा आँट्न सक्ने अवस्था छैन ।

स्तोमा रियल मड्रिडले च्याम्पियन्स लिगको फाइनल जितेपछि बेञ्चमा बसेका ग्यारेथ बेलले ‘म हरेक हप्ता खेल्न चाहन्छु’ भनेको भनाइले अब भने स्थान पाउने छ । उनैले आफूलाई प्रमाणित गर्दा उनको करिअरसँगै मड्रिडको उचाइ पनि रहिरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment