१५ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसँग छलफल गरेका छन् ।
सुर्खेतमा भएको भेटमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लबीच छलफल भएको हो ।
मंसिर १६ देखि २६ गतेसम्म सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफलकेन्द्रित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ ।
छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा छन् ।
प्रतिक्रिया 4