Comments Add Comment

१९ वटा नयाँ विमान किन्ने सुगतरत्नको कार्ययोजना

भन्छन्- पाँच वर्षमा नयाँ उचाइ छुन्छौं

१८ साउन, काठमाडौं । पाइलटको अभाव भएको भन्दै विमानहरु ग्राउण्डेड भइरहेका बेला नेपाल वायु सेवा निगमले नयाँ विमानहरु किन्ने क्रम जारी राखेको छ ।

यसै सातादेखि कतारका लागि उड्न थालेको वाइडबडी जहाजले सस्तोमा यात्रुहरु बोकिरहेको छ ।

तर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार नेपालमा अझै विमान भित्र्याउने महत्वाकांक्षी कार्ययोजना बनाइरहेका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्ययोजना कंसाकारको नेतृत्वमा तयार भएको छ । ५ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा ठूलो फड्को मार्ने गरी निगमको कार्यकारी समितिले विभिन्न महत्वकांक्षी योजनाहरु पारित गरेको हो ।

यो कार्ययोजना कार्यान्वयन गर्न सकिएमा निगम ५ वर्षभित्रै निगम नयाँ उचाइमा पुग्ने दाबी महाप्रबन्धक कंसाकारको छ । निगमको ५ वर्षे रणनीतिलाई निगमको सञ्चालक समतिले पारित गर्न बाँकी छ ।

कार्ययोजनामा अन्तर्राष्ट्रिय उडानका लागि निगमले ५ वर्षभित्र आफ्नो अन्तर्राष्ट्रिय उड्न गर्ने विमानको संख्या १७ पुर्‍याउनेदेखि नयाँ ह्यांगर बनाउनेसम्मका विषय समावेश छन् । निगमले यसै वर्ष आन्तरिक उडानका लागि ६ वटा नयाँ विमान थप्दैछ । अहिले निगमसँग विदेश उडान गर्न ५ वटा र आन्तरिक उडानका लागि ८ वटा विमानमात्र छन् ।

नयाँ ह्यांगर बनाउने

निगमले तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ह्यांगर बनाउने तयारी गरेको छ । अहिले सञ्चालनमा रहेको ह्यांगर पुरानो भएको र वाइडबडी विमानका लागि उपयुक्त नभएको ठहर गर्दै राष्ट्रिय ध्वजावाहक निगमले नयाँ ह्यांगर बनाउने निर्णय लिएको हो ।

निगमको कार्यकारी समिति मंगलबार पारित गरेको आफ्नो ५ वर्षे कार्य योजनामा ह्यांगर निर्माणको विषय पनि समेटिएको छ ।

निगमका महाप्रबन्धक कंसाकारले नयाँ ह्यांगर निर्माणका लागि मित्रराष्ट्रसँग सहयोग माग गर्न प्रस्ताव गरिएको छ । अर्थमन्त्रालयमा यसका लागि प्रस्ताव पठाइसकिएको उनले बताए ।

यसका लागि झण्डै ५ अर्ब रुपैयाँ लाग्ने अनुमान निगमको छ । ‘मित्रराष्ट्र चीन, भारतसँग सहयोग मागेर ह्यांगर निर्माण गर्न हामीले प्रस्ताव गरेका छौं । अहिलेको ह्यांगरमा वाइडबडी विमानको मर्मत सम्भार कठिन छ,’ महाप्रबन्धक कंसाकारले भने, ‘जतिसक्दो छिटो नयाँ ह्यांगर बनाउन आवश्यक छ ।’

नयाँ ह्यांगरका लागि त्रिभुवन विमानस्थलभित्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्याप्त जग्गा उपलब्ध गराउन सहमति दिइसकेको निगमले जानकारी दिएको छ ।

विमान थप्ने योजना

निगमले आफ्नो ५ वर्षे कार्ययोजनामा अब ८ वटा न्यारोबडी र ५ वटा वाइडबडी किन्ने महत्वाकांक्षी योजना समेटेको छ । यसका लागि निगमलाई झण्डै १ खर्ब लगानी जुटाउन आवश्यक पर्नेछ ।

अहिले निगमसँग ३ वटा न्यारोबडी र २ वटा वाइडबडी र न्यारोबडी विमान छन् । जसमध्ये तीनदशक पुरानो रहेको बोइङ विमान लिलामी गर्ने घोषणा निगमले गरिसकेको छ ।

‘सरकारले नेपालमा पर्यटक आगमन आक्रामक किसिमले बढाउने योजना ल्याएको छ । त्यसलाई सहयोग गर्न पनि हामीले ठूला विमानको संख्या बढाउन खोजेका हौं,’ महाप्रबन्धक कंसाकारले भने, ‘निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय र पोखरा तथा भैरहवामा बनिरहेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि लक्षित गरेर योजना तयार भएको हो ।’

अब बुद्धिष्ट पर्यटक आगमनको सम्भावना धेरै रहेको चीनका विभिन्न प्रान्तसहित भियतनाम, क्याम्बोडिया, श्रीलंका, म्यान्मार र थाइल्याण्ड लगायतका गन्तव्यमा आक्रामक रुपमा उडान भर्ने गरी योजना तयार भएको सुनाए ।

निगमले हालै आएका विमानलाई अष्ट्रेलिया, जापान, कोरिया, युरोपलगायतका गन्तव्यमा उडाउने योजना बनाएको छ । पर्यटक आगमनमा हुने वृद्धिका आधारमा यस्ता गन्तव्यमा उडान थप्दै जाने महत्वकांक्षी योजनामा निगमको छ ।

निगमले अहिले ८ गन्तव्यमा अन्तर्राष्ट्रिय गन्तब्यमा मात्रै उडान भरिरहेको छ । निगमले बैंकक, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, नयाँ दिल्ली, मुम्बई र बेङ्लोरमा उडान भरिरहेको छ । अब तत्कालै जापानमा उडान भर्ने योजनामा निगम छ ।

निगमले यसैवर्ष आन्तरिक उडानका लागि ६ वटा ट्वीनअटर विमान थप गर्ने तयारी पनि गरेको छ । निगमसँग आन्तरिक उडानका लागि हाल २-२ वटा वटा एमए ६० र ट्वीनअटर तथा ४ वटा वाईड ई विमान छन् ।

‘दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको बन्छौं’

निगमले आफ्नो ५ वर्षे कार्ययोजनामा अनलाइन टिकेटिङलाई व्यवस्थित गर्ने, व्यवस्थापन सुधार गर्दै लैजाने, आवश्यक जनशक्ति थप्ने लगायतका विषय पनि समावेश गरेको छ ।

यसैगरी २ वर्षभित्र निगमलाई अन्तर्राष्ट्रिय स्तरको वायुसेवा कम्पनी भएको प्रमाणित गर्न ‘आईओएसए’ लिने योजना पनि बनाइएको कंसाकारले बताए ।

‘हवाई सुरक्षामा पनि हामी अन्तर्राष्ट्रियस्तरको हुन्छौं, त्यसका लागि सबै मापदण्ड पूरा गर्न पनि काम गर्नेछौं’ उनले भने,’सबै पक्षबाट सुधार गरेर ५ वर्षभित्रै निगमलाई नयाँ उचाईमा लैजान्छौं ।’

कंसाकारले २ वटा वाइडबडी विमान आएपछि निगमको आत्मविश्वास निकै बढेको बताउँदै अब सरकारले लइाउो पर्यटकीय योजनाअनुासर नै निगमले आफूलाई व्यवसायिक बनाउँदै लैजाने बताए ।

पर्यटनमार्फत देश विकासमा टेवा पुर्‍याउन निगमले पनि साथ दिने भन्दै उनले नयाँ नयाँ अन्तर्राष्ट्रिय गन्तब्यबाट पर्यटकलाई नेपाल ल्याउन निगमले मिहनेत गर्ने उनको दाबी छ ।

प्रधानमन्त्री असन्तुष्ट

उता महाप्रवन्धक कंसाकारले नयाँ नयाँ विमान थपेर निगमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी ओली चने निगमको वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । निगमले किनेका विमानहरु किन ग्राउण्डेड भए भन्दै प्रधानमन्त्रीले पर्यटन मन्त्रालयलाई प्रश्न गरेको स्रोतले बतायो ।

यदि निगमको नेतृत्वले विमान थन्क्याउने मात्रै हो भने नेतृत्व परिवर्तन गरेर भए पनि विमान उडाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् । यो अवस्थामा सुगतरत्नले आफ्नो कार्ययोजना अघि बढाउँछन् या सरकारले उनको विकल्प खोज्छ भन्ने द्वुविधा रहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment