Comments Add Comment

सार्वजनिक जग्गाको लगत संकलन गर्दै भरतपुर महानगर


१९ साउन, चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको खोजी तथा संरक्षणको काम अघि बढाएको छ ।

महानगरले वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको संयोजकत्वमा ७ सदस्यीय सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन उपसमिति गठन गरेर त्यस्ता जग्गाको खोजी थालेको हो ।

उपसमितिमा वडाध्यक्ष अरुण भण्डारी, कर्णबहादुर गुरुङ, शम्भु भण्डारी, चक्र रुचाल, किशोर पौडेल र सदस्य सचिवमा विसुँराम कुँवर छन् । सर्भेयर विकास देवकोटाले सहजीकरण गरेका छन् ।

महानगरपालिकाले गत आर्थिक वर्षमा नै सार्वजनिक जग्गाको लगत संकलन गर्ने नीति बनाए पनि काम अघि बढेको थिएन । तर यसपटक उपसमिति नै बनाएर काम अघि बढाएको महानगरका प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

उपसमितिले महानगरको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राखिने सदस्यसचिव बिसुराम कुँवरले बताए । महानगरमा विभिन्न प्रकृतिका सार्वजनिक जग्गा भेटिएको कुँबरको भनाइ छ ।

महानगरमा कति सार्वजनिक जग्गा छ, कुन जग्गा कुन अवस्थामा छ, सुकुम्बासीका नाममा कति जग्गा प्रयोग गरिएको छ भन्ने तथ्याङ्क महानगरपालिकासँग नहुँदा योजना बनाउन समस्या भएको थियो । ७ महिनाभित्रै महानगरका २९ वटै वडाका सार्वजनिक जग्गाको अवस्थासहितको रिर्पोट महानगरलाई बुझाइने सदस्य–सचिव कुँवरले दावी गरे ।

महानगरको सबैभन्दा सार्वजनिक जग्गा पश्चिम चितवनमा छ । जंगल किनारका सार्वजनिक जग्गाहरु सुकुम्बासीहरुले घर बनाएर कब्जा गरेका छन् । अहिलेसम्म महानगरको १०, २१ र २३ नम्बर वडामा काम गरिएको संयोजक ज्ञानप्रसाद खनालको भनाइ छ । २१ र २३ मा देखिएको सार्वजनिक जग्गा सम्बन्धी विवाद भने उपसमितिले मिलाएको छ ।

‘महानगरको सार्वजनिक जग्गा जहाँ जे जस्तो अवस्थामा छ, त्यसको रिर्पोट उपसमितिले बनाएर महानगरको कार्यपालिका बोर्डमा पेश गर्दछ’, महानगरका प्रशासकीय अधिृकत सुवेदीले भने, ‘रिर्पोटका आधारमा सुकुम्वासीको व्यवस्थापन कसरी गर्ने, अन्य संरचनाहरु कहाँ कसरी बनाउने भन्ने निर्णयमा जान त्यसपछि महानगरलाई सजिलो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment