Comments Add Comment

दोस्रो विश्वयुद्धमा प्रयोग भएको ‘भिन्टेज’ विमान दुर्घटना, २० जनाको मृत्यु

२० साउन, काठमाडौं । दोस्रो विश्वयुद्ध ताका बनाइएको एक ‘भिन्टेज’ विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

शनिबार बिहान हिमाली क्षेत्रको साइटसिनका लागि १७ यात्रु लिएर गएको विमानमा ३ चालकदलका सदस्य थिए । जंकर्स जेयु-५२ एचबी-एचओटी विमान दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

वायुसेवा सञ्चालक कम्पनी जेयु एयरले दुर्घटनाले कम्पनी दुःखी भएको बताउँदै यात्रुका आफन्तहरुको सहयोगको लागि हेल्पलाइनको व्यवस्था गरेको बताएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अन्य उडानहरु पनि रद्द गरेको छ ।

दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन । आइतबार एक पत्रकार सम्मेलन गर्दै प्रहरीले यात्रुहरु ४२ देखि ८४ उमेर समूहको भएको बताएको छ ।

घटनाको एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्वीस अखबार ट्वान्टीमिनेट्सले लेखेको छ, ‘विमान एक्कसी १८० डिग्री दक्षिणतर्फ घुम्यो र जमिनमा ढुंगा जसरी नै बजारियो ।’

विमान समुन्द्री सतहबाट २, ५४० मिटरको उचाईमा रहेको पहाडी इलाकामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको विमान जर्मनहरुले दोस्रो विश्वयुद्धमा प्रयोग गर्नको लागि सन् १९३० को दशकमा बनाएका थिए । उक्त विमान दोस्रो विश्वयुद्धमा पनि प्रयोग भएको थियो ।

जेयु एयरले हिमाली क्षेत्रको दृश्यावलोकनका लागि दोस्रो विश्वयुद्ध ताका जर्मनहरुले बनाएको पुराना सैन्य विमानहरुबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment