Comments Add Comment

राजसंस्थाका समर्थक राजावादीबाटै पीडित

विसं. ०३१ सालमा राजा वीरेन्द्रको शुभ राज्याभिषेकका लागि शिक्षा मन्त्रालयले एउटा नौलो योजना बनाएको रहेछ । त्यो योजना थियो, दशरथ रंगशालामा विशाल चित्र प्रदर्शनी गर्ने । शिक्षा मन्त्रालयको अतिरिक्त क्रियाकलाप शाखाको त्यो महत्वाकांक्षी योजनालाई ‘मास क्यालिस्थोनिक्स’ भनिन्थ्यो । त्यो योजनामा राजारानीको ६० फीट चौडा र २५० फीट लम्बाईको मुहार चित्र तेल रङमा बनाएर प्रदर्शन गर्ने विशेष कार्यक्रम रहेछ ।

खेलकुदका लागि चीनबाट प्राविधिकहरु आइसकेका थिए । राजारानीको विशाल मुहार चित्र बनाउनका लागि भने कुनै कलाकार तय भइसकेको थिएन । राजाको विशाल चित्र कसले बनाउने भन्दा कसैले जापानिज, कसैले चाइनिज त कसैले कोरियन कलाकारलाई दिनुपर्ने भनेछन् ।

एकदिन राजा वीरेन्द्रबाट कुनै बैठकमा हुकुम भएछ, ‘नेपाली कलाकारले गर्न सक्छ भने किन विदेशीलाई बोलाउने ? यहीँका कलाकारलाई खोज ।’

मनुजबाबुले पोट्रेट धेरै राम्रो बनाउँछन् भन्ने चर्चा जतासुकै चलिसकेको थियो । कुरै कुरामा राजाबाट हुकुम भयो, ‘मनुजले नै बनाउ न त ।’

‘कोशिस गर्छु सरकार’ मनुजबाबुले भने ।

मास क्यालिस्थोनिक्सका लागि चित्र बनाउने सम्बन्धी शिक्षा मन्त्रालयको पत्र नाफामा आयो । नाफाको कार्यकारीणी बैठकले त्यो चित्र बनाउने जिम्मा मनुजबाबुलाई दिने निर्णय गर्‍याे । उनी जनक शिक्षाबाट मन्त्रालयमा काजमा सरुवा भए । मास क्यालिस्थोनिक्सका बारेमा मनुजबाबुलाई त्यसअघि केही जानकारी थिएन । मन्त्रालयमा हाजिर भएर काम गर्दै जाँदा त्यो त बृहत अनुष्ठान पो रहेछ ।

राजाको नाक मात्रै सात फीटको बनाउनुपर्ने । त्यस्ता अनेक टुक्राहरु जोडेर एउटै चित्र बनाएपछि त्यसलाई बिद्यार्थीहरुको समूहले बोकेर जोड्ने । अनि विशाल चित्राकृति देखिने । विश्वमा त्योभन्दा ठूलो चित्र अहिले पनि कतै नभएको उनको दाबी थियो । उनी चीन र रुसमा घुम्न गएका थिए । त्यहाँ लेनिन र माक्र्सका विशाल चित्र उनले देखेका थिए । तर, उनले बनाएको २५० फीट बाई ६० फीटको चित्र कसैले बनाएको उनले पाएनन् ।

शिक्षा मन्त्रालयमा सबैभन्दा माथिल्लो तला सचिव कृष्णबहादुृर मानन्धर, राष्ट्रिय शिक्षा समितिका डा. त्रैलोक्यनाथ उप्रेती, डा. सुरेशराज शर्मा बस्थे । त्यही तलामै छेउको ठूलो कोठा मनुजबाबुको वर्कशप थियो । त्यो कोठा कत्रो भने केशरमहलको वारिदेखि पारिसम्म फैलिएको ।

राज्याभिषेक हुनुभन्दा तीन महिनाअघिबाट उनले काम थाले । विहान सात बजेदेखि बेलुका नौ बजेसम्म काममै । खाना पनि मन्त्रालयमै खान्थे । सहयोगका लागि २२ जना कलाकार कर्मचारी चाहिन्छ भनेर मागे । योजना बनाएर दिए । त्यो पास भयो । आखिर त्यो त मन्त्रालयको महत्वाकांक्षी योजना पो भयो । रङ मात्रै तीन लाख रुपैयाँको लाग्यो । न्यूरोडको सागर ट्रेडर्स थियो, ओइल पेन्टको सप्लायर ।

बिहानदेखि बेलुकासम्म काम गर्न थाले । मनुजबाबुको शीर जहिले पनि भुईमा निहुरिनुपर्ने । उही माइकेल एन्जेलोको अवस्थाजस्तो । इटालीको भ्याटिकन सिटीमा भित्ते चित्र बनाउँदा बनाउँदा उनको टाउको निहुराउनै नसक्ने भएको थियो । नेपालका एक महान कलाकारको जीवनकथा लेखिरहँदा विदेशका ती महान कलाकार माइकेल एन्जेलोका बारेमा संक्षिप्त  चर्चा गर्नु यहाँ सान्दर्भिक नै होलाः

माइकेल एन्जेलो (१४७५–१५६३) पुनर्जागरण युगका महान मूर्तीकार एवं चित्रकार थिए । ‘द लास्ट जस्टिस’ (अन्तिम न्याय) नामक चित्र बनाएका माइकेलको जन्म इटलीको फलोरेन्समा भएका थियो । उनका पिता कास्तेल काप्रेसे नामक गाउँका मुख्य मेजिस्ट्रेट थिए र आफ्ना छोरालाई धेरै पढाएर बुद्धीजीवी बनाउन चाहन्थे, मनुजबाबुका पिताजीझैं । तर, मनुजबाबुले झैं माइकल भने पढ्न लेख्न छाडेर मूर्ती र चित्र बनाउन थालेछन् । केही दिनमै धनीहरुमाझ उनी प्रख्यात भए । एकजना लोरेंजो द मेदिची नाम गरेका धनाढ्यले उनलाई तलब दिएर आफूसँग राखे ।

सन् १४९० मा माइकेल एञ्जेलो फ्लोरेन्सबाट भाग्नुपर्ने अवस्था आयो । त्यसैताक रोममा उनले बनाएको मूर्ति ‘क्यूपिड’ ग्रिक पुरातत्वका रुपमा धेरै मूल्यमा विक्री भयो । त्यो मूर्ति भर्खरका युवा कलाकारले बनाएको भेद खुलेपछि माइकेलको ख्याती रोममा धेरै नै चुलियो । उनको व्यापक प्रशंसा भयो र उनलाई रोम डाकियो ।

सन् १५०५ मा पोप द्वीतीय जुलियसको निमन्त्रणामा माइकेल एन्जेलो रोम पुगे । पोप चाहन्थे, आफ्नो अन्तिम विश्रामका लागि एक समाधिस्थल बनाइयोस् र त्यसलाई एन्जेलोले बनाएका मूर्तिहरुले सिंगारियोस् । त्यसका लागि सिंगमरमरको जोहो गर्न थालियो । प्रतिस्पर्धा र घात प्रतिघात त जहाँ पनि हुने नै भयो । माइकेल एन्जेलोको एक प्रतिस्पर्धी ब्रामान्तेले पोपलाई के भनेर उचाले भने, जीवितै हुँदा समाधिस्थल बनाउनु अशुभ हुन्छ । ब्रामान्तेको उक्साहटमा आएर पोपले एन्जेलोलाई कामबाट निकालिदिए ।

केही समयपछि पोपले एन्जेलोलाई फेरि रोममा निमन्त्रणा दिए । अब भने उनलाई ‘सिक्सटीन च्यापल’ नामक गिर्जाघरको छत(सिलिङ) मा चित्र बनाउन आदेश दिइयो । त्यसमा पनि ब्रामान्तेकै षडयन्त्र थियो । त्यो काम गर्न नसकेर एन्जेलोको बदनामी हुने उनको दाउ थियो । एन्जेलोका लागि त्यो बडा चुनौती थियो । उनले त्यसबारेमा आफ्ने डायरीमा लेखेका थिए– ‘१५ मार्च, १५०८–आज म माइकेल एन्जेलो, जो एक मूर्तिकार मात्र हो, चर्चको छत चित्रित गरीरहेको छु जुन मेरो योग्यताभन्दा बाहिरको काम हो ।’

तैपनि माइकेलले त्यो चुनौती स्वीकार गरेर एक्लै काम थाले । चार वर्षसम्म मेहनत गरेर उनले बाइबलमा उल्लेखित मानव इतिहासका कथाहरुलाई चित्रण गरे । सन् १५१२ मा त्यो चित्रकला आम मानिसहरुले देख्न पाए । माइकेलको प्रशंसा भयो । तर, त्यो कामको मूल्यांकन गर्नुअगावै पोपको निधन भयो । त्यसपछि आएका पोपले माइकेललाई त्यसको उचित पारिश्रमिक दिएनन् । माइकेल निराश हुँदै फलोरेन्स फर्किए ।

सन् १५३४ मा पोप तृतीय पालले माइकेललाई फेरि रोम डाके । अनि सिक्सटीन च्यापलको मुख्य पर्खालमा ‘अन्तिम न्याय’ ( लास्ट जजमेन्ट)को चित्रण गर्न आदेश दिए । त्यसबेला माइकेल ६१ वर्षका थिए । त्यो वृद्धावस्थामा पनि उनले अति मेहनत गरेर त्यो चित्र बनाएरै छाडे । यो काम सकिँदा नसकिँदै पोपले अर्को आज्ञा दिए, ‘भ्याटिकनको सन्त पीटरको गुम्बजको पुननिर्माण गर्न नक्सा डिजाइन गर्नु ।’ त्यो काम पनि उनले फत्ते गरे ।

अन्तिम घडीमा एन्जेलोले निकै एक्लो जीवन व्यतीत गरिरहेका थिए । बुढेसकालमा पनि उनको कला प्यास तृप्त भएको थिएन । ८८ वर्षको उमेरमा पनि उनी मध्यरातमा उठेर हथौडा र छेनीले मूर्ति बनाइरहन्थे । प्रकाशका लागि उनी आफ्नो टोपीमा मैनबत्ती कोचार्थे । अनि दुबै हातलाई मूर्ति निर्माणमा लगाउँथे । कलामा लिप्त रहँदारहँदै सन् १५६३ मा उनको निधन भयो ।

मनुजबाबु पनि मध्यरातमा उठेर स्केच गर्न थाल्थे । जीवनका आठ दशक बित्दै गर्दा पनि उनमा कलाकारिताको प्यास अझै मरिसकेको थिएन । चर्चका भित्ताहरुमा चित्र बनाउनुपर्दा माइेकेल एन्जेलोलाई चित्त नबुझेको भए पनि उनले नजानेको काममा हात हालेर त्यसलाई फत्ते गरेका थिए ।

राजारानीको त्यत्रो विशाल चित्र बनाउनु पनि मनुजबाबुले कहिल्यै नगरेको काम थियो । तर, त्यो चित्र बनाउँदा उनी बेखुश भने थिएनन्, त्यसबेला । आफ्ना प्यारा राजारानीको चित्र बनाउन पाउनुलाई उनले अपूर्व अवसर नै ठानेका थिए ।

त्यो अपूर्व अवसरमा उनले अनौठो अनुभव गरे ।

चित्र कति विशाल भने एउटा सरफेशमा एउटा नाक मात्र बनाउन ठिक्क हुन्थ्यो । त्यो विशाल पेन्टिङ बनाउँदा उनले चार सय बिद्यार्थीका लागि सरफेसलाई चार सय टुक्रामा बाँडे । उनले एक–एक पिसमा चित्र बनाए । ग्राफ पेपर बनाएर ब्ल्यु प्रिन्ट निकालीएको थियो । हरेक टुक्रामा नम्बर थियो । त्यो नम्बरका आधारमा विद्यार्थीले आ–आफना टुक्रा बोकेर उभिनुपथ्र्यो । त्यही हिसाबले हार्ड बोर्डका हरेक टुक्रामा चित्र बनाइयो । त्यो पुरै चित्र बनाउन तीन महिना ठयाक्कै लाग्यो । ती दिनहरुमा उनको पुरै शरीर रंगले लत्पत्तिएको हुन्थ्यो । रङको गन्ध उस्तै । रङले लत्पतिएका हातहरुले नै खाना खानुपर्ने । अहिले पनि केशरमहलको त्यो कक्षको भुईंमा कार्पेट उप्काएर हेर्ने हो भने रंगै रंग लतपत्तिएको देखिन्छ ।

राज्याभिषेकभन्दा २० दिनअघि नै काम फत्ते भयो । चित्र बनाएपछि मन्त्रालयका उच्च अधिकारीले हेर्ने योजना भयो । मन्त्रालयमै पार्ट–पार्ट जोडेर हेर्ने कुरा भयो । पूरै चित्र हेर्न नमिले पनि राजारानीको टाउको मात्र हेर्ने योजना बमोजिम केशरमहलको कम्पाउण्डभित्रको भुईमा चित्रका टुक्राहरु जोडेर ओछ्याइयो । अवलोकनकर्ताले त्यसलाई केशरमहलको तेस्रो तलाबाट हेरे । सबैले धुमधाम राम्रो माने । त्यो चित्र हेर्न दरबारका मानिस पनि आएका थिए । मनुजबाबुले सुरुमै ‘हुनेसम्म कोशिस गर्छु, मिलेन भने म हात काट्न तयार छैन’ भनेर भनेका थिए ।

जम्माजम्मी तीस लाख रुपैयाँ खर्च भयो । अनुहार नमिलेको भए त्यत्रो पैसा खेर जान्थ्यो । चित्र बनाइसकियो । आखिर सबैले राम्रो माने । प्रशंसाको पुल बाँधे । मनुजबाबुलाई बधाई दिए । उनको टाउको त बधाइको भकारीमा परिणत भयो ।

राज्याभिषेकको केही दिनअघि दशरथ रंगशालामा चित्रको रिहर्सल पनि गरियो । २०३१ साल फागुनमा रंगशालामा भव्यताका साथ त्यो चित्र प्रदर्शनी भयो, गीतको धुनका साथ । रंगशालामा राजा, रानी, राज परिवारका सदस्य उठेर बजाउनु ताली बजाए । राज दम्पतीले मग्ध कण्ठले प्रशंसा गरे । विश्वका धेरै मुलुकबाट ‘हेड अफ द स्टेट’ आएका थिए ।

अन्यत्र त्यस्तो काम चीन, रुस र कोरियामा मात्र हुन्थ्यो, नेपालमा पनि त्यो देखेर सबै तीन छक्क परे । तर, त्यो कार्यक्रममा कतै पनि मनुजबाबुको नाम उल्लेख गरिएन । कम्तिमा यो चित्र नेपाली कलाकारले बनाएको भनेर उदघोष गरिएको भए कलाकारको मन कति खुशी हुन्थ्यो होला ।

बिडम्बना त के भने भोलिपल्ट पत्रिकाले समाचार छापे, चित्र राम्रो भनेर बयान पनि गरे, तर पत्रिकामा मनुजबाबुको नाम कतै थिएन । कुनै पत्रिकाले त्यो चित्र चिनियाँ कलाकारले बनाएको भनेर लेखे त कुनै पत्रिकाले कोरियनले बनाएको भनेर छापे । मनुजबाबुको नाम कतै आएन । उदेकलाग्दो कुरा त के भने मन्त्रालयले त्यसको खण्डन पनि गरेन । राससले रिलिज गरेको समाचारै गलत पर्‍याे ।

हुनत मनुजबाबुले तीन महिनासम्म अथक मेहनत गरेर भुईमा निहुरमुन्टी लाएर त्यो चित्र बनाइरहँदा मन्त्री, सचिव, शिक्षाका उच्च अधिकारी पनि त्यसको अवलोकन गर्न हरेक दिन आएकै हुन्थे । तर ती सबै कृतघ्न भइदिए । कसैले पनि त्यो चित्र त मनुजबाबुको पुरुषार्थ हो भनेर बोलिदिएनन् । एउटा कलाकारको त्योभन्दा ठूलो अवमुल्यन, अपमान र अवहेलना अरु के हुन सक्थ्यो ?

मनुजबाबु बैगुनीहरुको त्यो माहौलमा उकुस–मुकुस हुन थाले । त्यसबारेमा उनले आफ्नो निबन्ध ‘अपूर्व अवसर, अनौठो अनुभव’मा उनले विस्तृत वयान गरेका छन् ।

अर्को बिडम्बना त के भने त्यो चित्रको कुनै संरक्षण गरिएन । उनले त्यो विशाल ऐतिहासिक चित्रलाई सेना वा प्रहरीले सुरक्षित राख्नुपर्छ भनेर नभनेका पनि होइनन् । तर, कसैले सुनेनन् । अहिले त्यो मौलिक चित्र कतै संरक्षित छैन ।

‘मास क्यालिस्थोनिक्स’को झमेलाले उनलाई त्यसपछि पनि छाडेन । ०३२ सालमा राजा पश्चिमाञ्चल भ्रमणमा सवारी हुने भए । पृथ्वीनारायण क्याम्पस अगाडिको खुला भागमा स्टुडियम बनाएर त्यहाँ पनि ‘मास क्यालिस्थोनिक्स’ देखाउने कुरा भयो । २०३१ सालले निराशा दिलाएको थियो, फेरि मन्त्रालयले उनलाई पोखरा जान दबाब दियो । पोखरामा भने राजारानीको नभई नेपालका दृश्य चित्र प्रदर्शन गर्ने योजना बनाइएको थियो, त्यो काम पनि उनलाई नै जिम्मा दिइयो, फगत तलबकै भरमा । हुन्न भन्दा जागिर छोडनुपर्ने, उनी मन लागीनलागी पोखरा गए । पछि पोखरा भ्रमण रद्द भएछ ।

त्यस्तै ०३३ सालमा चाँहि स्थानीय २० जना कलाकार भर्ना गरेर पहिलेकै हिसाबले उनले काम गरे, पोखरा बगरस्थित जनक शिक्षा कार्यालयको हलमा बसेर ।

त्यस्तै कार्यक्रम ०३४ सालमा नेपालगञ्जमा हुने भो । नेपालगञ्जमा पनि पाँच महिना बसेर उनले बनाएका चित्रहरुको ‘मास क्यालिस्थोनिक्स’ प्रदर्शनी भयो । उनले त्यसबेला २०० फीट लामा नेपालका दृश्य चित्रहरु बनाएका थिए ।

चौथो पटक ०३५ सालमा बिराटनगरमा हुँदा पनि उनी नै जानुपर्ने भयो । त्यसबेलामा शिक्षामन्त्री पशुपतिशसमेर थिए । उनी पेन्टिङ हेर्न मनुजबाबुको घरमा आइरहन्थे । उनकी पत्नी उशाराजे सिन्धिया पेन्टर भएकाले त्यो नाता थियो ।

एकदिन मनुजबाबुले भने, ‘अब पनि जानुपर्ने हो भने राजीनामा दिन्छु, अन्याय सहेर कति बस्ने ?’

पशुपतिशमसेरले भने, ‘विराटनगरको समारोहको काम पूरा गर्नुस्, त्यसपछि तपाईलाई विश्वविद्यालय सार्ने काम मेरो ।’

बिराटनगरबाट फर्केपछि उनले तत्काल राजीनामा दिए । उपसचिवमा पदोन्नति भइसकेका मनुजबाबु ‘मास क्यालिस्थोनिक्स’मै अल्झिएका थिए । राजीनामा दिएको भोलिपल्ट फर्केर पनि गएनन् । पाँच छ, महिनापछि मात्र पाउने रकम लिन गएका थिए ।

स्रोतः हर्मिताज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment