Comments Add Comment

नाटक समीक्षाः सकेको तिरौला, नत्र फिरिमा

सकी-नसकी दुई हातमा झोलाझाम्टा झुन्ड्याएकी एक अधवैंशे महिला मञ्चमा देखापर्छे । मञ्च नभनौं, कोठामा ।

त्यो कोठाको रुपरंग हेरेर थाहा हुन्छ, निम्न मध्यम बर्गिय परिवारको आश्रयस्थल हो यो । बर्गाकार कोठामा भान्सा छ, सयन कक्ष छ र वैठक पनि । अर्थात एउटै कोठामा खाने, एउटै कोठामा सुत्ने, एउटै कोठामा पाहुनापात राख्ने ।

अधवैंशे महिलाको नाम हो, सरिता । जसै उनी घरभित्र प्रवेश गर्छिन्, खुट्टामा बाँधिएको प्लाष्टिक निकाल्छिन् । झोलाझाम्टा बिसाउँछिन् ।

यहाँसम्म आइपुग्दा थाहा हुन्छ, घरबाहिर बाटो हिलाम्मे छ । त्यही कारण उनले खुट्टा जोगाउन प्लाष्टिक बाँध्नुपर्‍यो । माक्स उतार्छिन् । अर्थात बाटोमा धुलो र दुर्गन्धले वायु दुषित छ ।

आज सरिता दंगदास छिन्, फुरुंग छिन् । किनभने उनले नजिकैको एक डिपार्टमेन्ट स्टोरबाट हुलदंगा गरी सित्तैमा भएभरका सरसामन उठाएकी छिन् । यत्तिका सरसामनले घरायसी खर्च जोहो हुने कुराले उनलाई जति उत्साहित बनाएको छ, उत्तिनै थर्कमान बनाएको छ ति सरसामन लुकाउने कुराले । किनभने ‘इमान बेचेर नखाने’ श्रीमान् अनुपम यस्ता चोरी-चाकडीको कमाईले पेट भर्न चाहँदैनन् ।

त्यही कारण सरिताले आफुसँगै आएकी छिमेकी बहिनी प्रमिलालाई ति झोलाझाम्टा भिराएर पठाउँछिन् । तर, प्रमिलाले पनि लुकाउने ठाउँ कहाँ ?

अन्नतः उनले झोला यसरी बोकेर लुकाउँछिन्, मानौं उनले गर्भ बोकेकी हुन् । विवाह गरेको पाँच महिना वित्न नपाउँदै उनले कसरी पेट बोक्छिन् ? यो प्रश्नले एकातिर झटारो हान्छ भने, अर्कोतिर खोजतलास गर्ने सरकारी अधिकारी कोठाभित्र प्रवेश गरिसकेका छन् । अब कथाले कस्तो मोड लिन्छ ? यसका लागि भने अनामनगरस्थित मण्डला नाटकघरमा पुग्नुपर्नेछ । त्यहाँ हरेक दिन मञ्चन भइरहेको छ, ‘सकेको तिरौला, नत्र फिरिमा ।’

हास्यरसमा कटाक्ष

एक घण्टा २० मिनेट समायवधी निर्धारण गरिएको नाटकमा सुरुदेखि अन्त्यसम्म तपाईंको हाँसो रोकिनेवाला छैन । मञ्चमा जम्माजम्मी पाँच जना पात्र देखिनेछन्, अर्धशिक्षित गृहणी सरिता, अर्की नवविवाहित प्रमिला, सरिताका श्रीमान् अनुपम, प्रमिलाकी श्रीमान् विजय । र, खोजतलासमा जुटेका सरकारी अधिकारी उमेश । अनुपम र विजय ट्याक्सी चालक हुन् ।

यी पाँच पात्रले घटनामा आउने उतार-चढावलाई नाटकिय रुप दिएका छन् ।

सरकारले एकातिर ठूल-ठूला सपना बाँढेका छन्, अर्कोतिर दैनिक उपभोग्य बस्तुमा आयकर बढाएका छन् । सागदेखि चामलसम्मको बजार मूल्य छोइनसक्नु छ । यावत् कारण निम्न मध्यम बर्गियको चुल्हो बाल्नै धौ-धौ छ ।

यस्तो पृष्टभूमीमा डेरावाल जीवन विताइरहेका निम्न आयकका एकल परिवारको सपना र जीवनको तानाबाना कसरी बुनिन्छ ? नाटकले यसैको जवाफ पस्किएको छ ।

नाटक हेरिरहँदा हाँसो रोकिदैन । अनेक किसिमका झैझमेला, उतारचढाव आदिले दर्शकमा हाँसो पैदा गर्छ । तर, नाटकको मर्म फरक छ । खासमा उपभोक्तामुखी बजार अर्थतन्त्रले गलाउँदै लगेको समाजमा एउटा निमुखा परिवारले गुजारका लागि गर्ने संघर्षको कथा हो यो ।

महंगीले हरेक सामान आफ्नो पहुँचभन्दा बाहिर पुगिसकेको छ, यता आयआर्जनको मेलो राजीतिक उथलपुथलले खुम्चाइदिएको छ । पेट्रोलको भाउ बढेको छ, तर मिटरको व्यवस्था परिवर्तन भएको छैन । राज्यको यस्तो अकर्मण्यताले सर्वसाधरणको दिन-दैनिकी कसरी संकटमा परेको छ भन्ने कुरा नाटकले हास्यरसमा पेश गरेको छ ।

मनोरञ्जनको फुल डोज

नाटकले समयसापेक्ष र वर्तमानको कथा भन्छ । यसका लागि दुई परिवारको साहारा लिइएको छ । मञ्चमा देखापर्ने यी नै चार पात्र र अर्का खोजतलास गर्ने अधिकारीले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।

अहिले नेपाली सिनेमाघरमा हेर्नलायक फिल्म छैन । यो सुक्रवार नेपाली फिल्म रिलिज हुने छाँट छैन । बलिउडका राम्रा फिल्म पनि अहिले हलमा छैन । यस्तो अवस्थामा मनोरञ्जन खोज्नेहरुका लागि मन्डला थिएटरले पेश गरेको नाटक ‘सकेको तिरौला, नत्र फिरिमा’ले सक्दो रमाइलो गराउनेछ ।

नाटकका घटना, प्रसंग, त्यसमा आउने ट्वीस्ट र पात्रहरुको अवोधपनले राम्रैसँग हसाउँछ ।

सरिताको रुपमा सरिता गिरी, अनुपमको रुपमा अनुपम शर्मा, विजयको रुपमा विजय बराल, प्रमिलाको नाममा प्रमिला खनाल र सरकारी अधिकारीको रुपमा उमेश तामाङको अभिनय खास्सा छ । जोडदार छ । नाटकको अनुवाद तथा निर्देशन विकास जोशीले गरेका हुन् ।

सुधार गर्न सकिने कुरा

नाटक राम्रो हुँदाहुँदै पनि कतिपय कुराले खल्लो महसुष गराउँछ । पहिलो त, प्रस्तुती । नाटकको प्रस्तुतीलाई थप खँदिलो बनाउन सकिन्थ्यो । कतिपय ठाउँमा अनावश्यक गन्थनले समय खाइदिएको छ । त्यस्तो समयको बचत गरेर नाटकलाई केही छोट्याउन सकिन्थ्यो ।

सुरुका दृश्यहरु बढी नाटकिय लाग्छन् । त्यसलाई थप स्वभाविक बनाउन अभिनय, सेटिङ, लाइटिङ जस्ता प्राविधिक कुरामा पर्याप्त मेहनत गरिएको पाइदैन ।

दोस्रो, सेटिङ । एउटै सेटिङ (घरको कोठा) त्यती राम्रो लाग्दैन । कोठा बनौटलाई अझ प्राकृतिक एवं सुहाउँदिलो बनाउने सकिन्थ्यो । निम्न मध्यमबर्गिय परिवारकै झल्को दिने कोठाको बान्की मिलाउन सकेको भए हुन्थ्यो । ठूलो कोठा, झ्याल, दराज, ढोका र त्यसमा यत्रतत्र राखिएको सामाग्रीले यति भद्रगोल बनाएको छ कि, त्यसले दर्शकको ध्यान भंग गर्छ । अर्थात पात्रमा केन्दि्रत हुन दिदैन ।

फरक-फरक दृश्यलाई, फरक पृष्टभूमीमा पेश गर्न सकिएको भए नाटक त्यती दिक्कलाग्दो हुने थिएन ।

नाटकमा धेरै खड्किने विषय हो, संगीत । यस नाटकलाई थप रोमाञ्चक बनाउन संगीत र प्रकाशको समायोजन मिलाउन सकिन्थ्यो, जुन काममा अल्छी गरिएको छ ।

यद्यपी नाटक नरमाइलो छैन । साँझ साढे पाँच बजेदेखि मञ्चन हुने नाटक हेरेपछि फोक्सोको राम्रैसँग कसरत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment