Comments Add Comment

गोरखामा वडा कार्यालयले सुरु गर्‍यो निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा

२७ साउन, गोरखा । नजिकिदै गरेको शिक्षक सेवा आगोयको परीक्षालाई लक्षित गरी गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ को संयुक्त पहलमा निःशुल्क तयारी कक्षा संचालन भएको छ ।

घ्याल्चोकस्थित ज्ञानमार्ग माविमा संचालन भएको कक्षामा गण्डकी गाउँपालिकाका ३० जना सहभागी छन् ।

बिशेष गरी प्रावि तहको परीक्षालाई लक्षित गरी कक्षा संचालन गरिएको वडा नम्वर ७ का अध्यक्ष तुलसी रेग्मीले बताए । ‘तयारी कक्षा संचालनका लागी भनेर यो बर्ष हाम्रो वडाले डेढ लाख र ८ नम्वर वडाले डेढ लाख छुट्याएका छौ,’ रेग्मीले भने, ‘त्यही रकमबाट कक्षा संचालन गरेका हौ ।’

बेरोजगारपनलार्इ अन्त्य गरी दक्ष शिक्षक उत्पादन गर्ने उदेश्यले निशुल्क कक्षा संचालन गरिएको उनले बताए । ‘कक्षा लिन आउने मध्य धेरै जना पढाइरहनुभएका शिक्षकहरु नै हुनुहुन्छ त्यसैले हामीले बिदाको दिनमा मात्र कक्षा संचालन गरेका छौ,’ उनले भने ।

कक्षा संचालन गर्नुअघि वडा कार्यालयले निवेदन आव्हान गरेको थियो । ३६ जनाले निवेदन दिएको वडा कार्यालयले जनाएको छ ।

गण्डकी गाउँपालिका भित्रका व्यक्तिहरुलाई लक्षित गरी कक्षा संचालन गरिएको रेग्मीले बताए । शुक्रवार, शनिबार र अन्य विदाका दिन मात्र कक्षा संचालन हुने उनले जानकारी दिए ।

कक्षा संचालनका लागि काठमाडौ र चितवनबाट प्रशिक्षक झिकाइएको छ । दिनको दुइ घण्टाका दरले ३५ दिने कक्षा संचालन हुने उनले बताए ।

त्यस्तै उक्त वडाहरुले आगामी दिनमा हुने लोक सेवा आयोग परीक्षको तयारी कक्षा संचालनका लागि पनि डेढ/डेढ लाख रकम छुट्याएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख शिवप्रसाद रेग्मीले तयारी कक्षाको औपचारिकरुपमा उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment