Comments Add Comment

कर वृद्धिको विरोध गर्दै रत्ननगरमा अनसन सुरु

२७ साउन, चितवन । चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा आइतबार रिले अनसन सुरु भएको छ ।

नेपाली कांग्रेसलगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्तरुपमा विरोधस्वरुप रिले अनसन सुरु गरेका छन् ।

नगरपालिकाले गरेको कर वृद्धिलगायतको ११ विषयमा संयुक्त संघर्ष समिति बनाएर उनीहरुले आन्दोलन थालेका हुन् ।

चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दासमेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाई नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए । आन्दोलनमा उत्रिएका दलहरुले वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् ।

रत्ननगर नगरपलिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको आरोप उनीहरुको छ । रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर जग्गाको मूल्याङ्कन बढेकोले करको रकम बढेको बताउँदै आएको छ ।

अघिल्लो वर्ष १५ लाख ६१ हजार रुपैयाँ मूल्याङ्कन भएको जग्गाको अहिले मूल्याङ्कन बढेर ८६ लाख ९७ हजार पुगेकोले करको रकम बढेको नगरपालिकाको दाबी रहेको छ ।

मालपोत कार्यालयको मूल्याङ्कन अनुसार जग्गाको मूल्याङ्कन गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीयले भने जग्गा बिक्रीवितरण गर्दा एक पटक तिर्ने करको मूल्याङ्कन र प्रत्येक वर्ष तिर्ने करको लागि मूल्याङ्कन एकै बनाउनु व्यवहारिक नहुने बताएका छन् ।

अनशनमा उपस्थित हुन आएका विभिन्न पार्टीका कार्यकर्ताहरुले नगरपालिकाको राजस्व शाखामा अवरोध पुर्‍याएका छन् ।

अवरोधपछि कर राजस्व संकलन कार्य बन्द भएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले चित्त नबुझेको विषयमा वसेर छलफल गर्न सकिने बताएका छन् । दलहरुको आन्दोलनका विषयमा एक दुई दिनमै केही निष्कर्ष निस्कने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment