Comments Add Comment

रोग र शोकबाट उन्मुक्तिका लागि शरीर एवं मनलाई शुद्धिकरण गरौं

आज साउनको अन्तिम सोमबार । साउन महिना खासगरी नुहाइधुवाई, सात्विक भोजन गरी, पूजा आरधाना गर्ने महिना । धार्मिक विधी विधान अनुसार यस महिनाको खास महत्व छ । यतिबेला हामी मन्दिर धाउने गर्छौं । पूजाआजा गर्छौं । उपवास बस्छौं । वा, सात्विक भोजन ग्रहण गर्छौं ।

उपवास बस्नुको आत्मिक, शारीरिक फाइदा छ । यसले हाम्रो पाचन यन्त्रलाई विश्राम मिल्छ । हरेक दिन वा दिनभरमा कति पटक हामी केही न केही खाइरहेका हुन्छौं । यसरी खाइरहँदा पाचन प्रणालीले विश्राम पाउँदैन । त्यसमाथि कतिपय खानेकुरा यस्ता हुन्छन्, जो सजिलै पच्दैन । पचाउन गाह्रो हुन्छ । यसले पाचन प्रणालीलाई बोझिलो बनाउँछ ।

खानेकुरा कसरी विष बन्छ ?

खानेकुराकै कारण शरीर विषाक्त पनि भइरहेको हुन्छ । कतिपय खानेकुरा नै दुषित वा विषाक्त हुन्छ भने, कति खानेकुरा आपसमा जुधेर विषाक्त हुन्छ । यसले हाम्रो शरीरलाई हानी पुर्‍याउँछ ।

त्यसैले निश्चित समयमा उपवास बस्नु स्वास्थ्यका लागि एकदमै फाइदाजक हो । यदि उपवास बस्न सकिएन भने सात्विक भोजन गर्न सकिन्छ ।

त्यसो त उपवासको पनि विभिन्न विधी छन् । खाली पेट वा पानी पनि नपिइ उपवास बस्ने गरिन्छ । पानी पिएर वा फलफूलको जुस पिएर पनि उपवास बसिन्छ । त्यस्तै ताजा वा सुपाच्य भोजन खासगरी फलफूल सेवन गरेर पनि उपवास बसिन्छ । आफुलाई जस्तो अनुकुल हुन्छ, त्यस्तै उपवास बस्न सकिन्छ ।

सात्विक भोजनले शरीर र मन शुद्ध

तपाईंले पक्कै अनुभव गर्नुभयो होला, सात्विक भोजन गर्दा शरीर कति हलुंगो भयो । माछामासु, मदिरा, लसुन-अदुवा जस्ता खानेकुरा सेवन नगर्दा पेट कति हल्का भयो । वास्तवमा हामीले आफुलाई सात्विक भोजनमै अभ्यस्त गराउनु राम्रो हुन्छ । सात्विक भोजनले शरीरमा विकार पैदा हुँदैन । जब विकार पैदा हुँदैन, धेरैखाले रोगले शरीरलाई गाँज्दैन ।

सात्विक भोजन गर्दा शरीर शुद्ध हुन्छ । मन शुद्ध हुन्छ । भनौं समग्र जीवन शुद्ध हुन्छ ।

सात्विक भोजन के हो त ? कतिको मनमा यो प्रश्न पनि हुनसक्छ । सात्विक भोजन भनेको वास्तवमा त्यही खानेकुरा हो, जो सजिलै पच्छ । जहाँ माछामासु जस्ता खानेकुरा सामेल हुँदैन । धेरै चिल्लो, पिरो, मसलेदार हुँदैन । यस्ता खानेकुराले शरीरलाई विषालु बनाउँदैन ।

एउटा भनाई छ, जस्तो खानेकुरा खाइन्छ, त्यस्तै भइन्छ । कुरा सही हो । हामीले खाने खानेकुराको सोझो प्रभाव हाम्रो शरीरमा पर्छ । शरीरसँग मन, मस्तिष्क, स्वास्थ्य सबै जोडिएर आउँछ । यसकारण शुद्ध, सुपाच्य, साकाहारी भोजन नै हाम्रो शरीरका लागि उपयुक्त हो ।

मैलें यो सन्र्दभ किनपनि यहाँ जोडेको हो भने, साउनभर तपाईंले सात्विक भोजन गर्नुभयो । त्यसले तपाईंको शरीरमा प्रत्यक्ष अनुभूत हुनेगरी केही फाइदा पुगे नै । मासुमंस, मदिरापान गरेको अवस्थामा जस्तो भारीपन पक्कै भएन । अब यस्तो कुरालाई एक पटक वा एक महिनामात्र होइन, बर्षभर वा जीवनभर अभ्यास गर्नु राम्रो हो ।

भक्तिभावले मनको शुद्धिकरण

साउनमा हामीले मनलाई भक्तिभावमा लगायौं । साउनमा मात्र होइन, अरु महिना पनि हामी मनलाई भक्तिभावमा लगाउनुपर्छ । भक्तिभावमा लाग्नु भनेको भगवानबाट सोझै आर्शिवाद प्राप्त गर्ने होइन । बरु, मनलाई शान्त तुल्याउने हो । विनम्र, विनयी हुने हो । यसले हामीमा मानसिक विकार पैदा हुँदैन । क्रोध, लोभ, वासना सबै कुरा नियन्त्रण हुन्छ । शरीर जस्तै मन पनि शुद्ध हुन्छ । हामीले मनलाई शुद्धिकरण त गर्नैपर्छ ।

अहिले मनमा हुने उथलपुथलले विभिन्न किसिमको समस्या निम्त्याइरहेको छ । उच्च रक्तचाप त्यसैको एक उदाहरण हो । जब मन बेचैन हुन्छ, क्रोधित हुन्छ, चिन्तित हुन्छ, तब शरीरमा त्यसको सोझो असर पुग्छ । त्यसले उच्च रक्तचाप, डिप्रेसन जस्ता रोगको शिकार बनाउँछ । त्यसैले मनलाई शान्त तुल्याउनका लागि हामी भक्तिभावमा लाग्नुपर्छ ।

खानपानमा शुद्धता, मनमा शुद्धता भयो भने धेरै रोगबाट मुक्त भइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment