Comments Add Comment

समाजशास्त्री भन्छन् : महिलाले रक्सी खान थाले, उच्छृंखलता बढ्यो

सरकारको आँट छ भने संस्कृत र नैतिक शिक्षा पढाओस्- माधव आचार्य

२७ साउन, काठमाडौं । पछिल्लो समय बलात्कारका घटना बढिरहेका छन् । उमेर पुगेका महिलामात्रै होइन, ५/६ वर्षकी बालिका, १३/१४ वर्षकी किशोरी र बृद्धाहरु समेत बलात्कृत भएका घटना छन् । महिलालाई आमा, दिदी, बहिनी, छोरी, नातिनीजस्तो साइनो लगाउने नेपाली समाज कसरी यो अवस्थामा आयो ?

समाजशास्त्री माधव आचार्य भन्छन्, १० वर्ष लामो सशस्त्र द्वन्द्वले समाजिक संरचना नराम्रोसँग बिगार्‍यो, धर्मलाई समाप्त पार्न खोजियो र महिला सशक्तीकरणका नाममा  उच्छृंखलता आयो ।

प्रस्तुत छ, बलात्कारका घटना बढ्नुका सामाजिक कारणबारे आचार्यसँग अनलाइनखबरले कुराकानीः

बलात्कारका घटनाहरु निकै बढेका छन् । महिला मात्र होइन, स-साना बालिकादेखि वद्धाहरु समेत बलात्कारको शिकार भएको खबर सुन्ने गरिएको छ । हाम्रो समाज किन यस्तो भयो ?

हाम्रो समाज द्वन्द्वबाट उठेर बाहिर आएको छ र भर्खर पुनः समगठित हुन खोजेको छ । द्वन्द्वमा धेरै सामाजिक संरचना बिगारियो, त्यसले मान्यता पनि बिग्रिए । हिन्दुराष्ट्र थियो, अहिले राज्यको कुनै धर्म हुँदैन भनेर धर्मलाई समाप्त पार्न खोजियो । सामन्तवादलाई समाप्त पार्ने भनेर छाडापान ल्याइयो, हतियार भएका व्यक्ति पनि मारिए, हतियार नभएका व्यक्तिहरु पनि मारिए, खास पेशामा भएकै कारण पनि मारिए ।

समाज आफैंमा ठूलो संगठित संस्था हो । सामाजिक मूल्य मान्यता विपरीत कसैले काम गरे त्यही समाजले सूचना दिन्थ्यो, तुरुन्तै कारवाही गथ्र्यो, यस्तो गर्न हुँदैन भनेर सिकाउँथ्यो । तर, राजनीतिक परिर्वतनका नाममा समाजको संरचनामाथि प्रहार भयो । त्यसैले यस्तो अस्तव्यतता आउँछ नै भन्ने कल्पना गरेको थिएँ । मैले चेतावनी दिएको पनि थिएँ, संक्रमणकाल जति लम्ब्याउनुहुन्छ, त्यति नै दुरगामी र खराब परिणाम राज्यले ब्यहोर्छ । आज त्यही स्थिति देखिएको छ ।

कहाँ-कहाँ भयो समाजको संरचनामाथि प्रहार ?

नैतिक शिक्षामा ह्रास आएको छ, धार्मिक अनास्था विस्तारित भएको छ,  उच्छृंखलतालाई प्रजातन्त्रको नाम दिइएको छ र अपराधलाई राजनीतिकरण गरिएको छ

संस्कृति शिक्षा हटाइयो । नीति शिक्षा भनेर आचार्य देवोः भव, मातृ देवोः भव, पितृ देवोः भव, अतिथि देवोः भव थियो । यो रुढिवादी भयो । त्यसको विकल्पमा क्रिश्चियन धर्म आयो, जसमा केही गर्नु नपर्ने, प्राथर्ना गरे पुग्ने भनेर प्रचार गरियो । प्रजातन्त्रका नाममा उछ्रृंखला बढ्यो, राजनीतिमा पनि विकृति भयो ।

यो सबैको असर समाजमा पर्‍यो, अपराधिक मानसिकता भएकाहरुका लागि अनुकुल भयो । एक त म पक्राउ नै पर्दिनँ, परिहाले पनि छुटाउन प्रभावशाली नेता छन्, प्रशासक छन् वा पैसा छ, त्यसैले प्रहरी, न्यायाधीशलाई प्रभाव पार्छु भन्ने भयो ।

वकिलहरुको जमातले कसुरदारलाई अदालतमा इन्कार गर्न सक्छन्, अन्त कतै थिए भनेर साक्षी पेश गर, मुद्दा बलियो हुन्छ भनेर सिकायो । खै नितिकता ? अपराध गरेकाहरुलाई उन्मुक्ति पाउन तिक्डम सिकाउने काम कानुन व्यवसायीहरुको होइन । त्यसले कानुन पालना नगरे पनि हुन्छ भन्ने वातावरण बनेर गयो ।

महिला हक अधिकार संरक्षण, महिला सशक्तीकरणका नाममा गर्भपतन गर्न पाइने कानुन बनाइयो । अर्का शब्दमा गर्भपतन बैधानिक भयो । यसले गैरविवाह यौन सम्बन्ध राख्ने महिलाहरुको जमात बढ्दै गएको छ । केही गरी गर्भधारण भइहाल्यो र त्यसमा पनि छोरी रहेछ भने भने भ्रण हत्या गर्ने क्रम बढ्दो छ । यो विकृति पुरुष समाजमा मात्र आएको होइन । महिला समाजमा पनि आएको छ ।

समग्रमा भन्दा नैतिक शिक्षामा ह्रास आएको छ, धार्मिक अनास्था विस्तारित भएको छ,  उच्छृंखलतालाई प्रजातन्त्रको नाम दिइएको छ र अपराधलाई राजनीतिकरण गरिएको छ ।

यसको सुरुवात बहुदलबाटै भयो कि कहिले ?

बहुदलपछि होइन, ०५२ सालपछि सुरु भएको हो ।

तर, बलात्कारका घटनासँग सशस्त्र द्वन्द्व कसरी जोडिन्छ ?

किनभने जहाँ कानुनी शासन छैन, कानुन लागू गर्ने प्रहरीको मनोवल उच्च छैन, त्यहाँ अपराध हुन्छ । मैले छल्न सक्छु भन्ने मानसिकता पाल्नेहरुले अपराध गर्छन् ।

यस्ता घटनाका पीडित निमुखा वर्गका हुन्छन् । तुरुन्तै सूचना उपलब्ध हुँदैन, प्रहरी पनि छैन । दबाव र प्रभावले पनि काम गर्छ । राजनीतिक पहुँच भएको वा समाजमा तथाकथित रुपमा प्रतिष्ठित छु भन्नेहरुलाई के को डर ? कसले छुन्छ र ? भन्ने स्थिति छ । कानुनका अगाडि कोही ठूलो सानो छैन, अपराध गर्नेहरुलाई जेल हाल्न सकिन्छ भन्ने वातवरण सिर्जना गर्न नसक्नु सरकारको कमजोरी हो ।

तर, सजाय हुँदैमा अपराध रोकिन्छ र ? मृत्युदण्ड दिने देशहरुमै पनि यस्ता घटना भएको पाइन्छ….

ठीक हो, सजाय कडा हुँदैमा अपरोध रोकिँदैन । बलात्कारसम्वन्धी कानुन कमजोर छैन ।
कडा कानुन भए हुन्थ्यो, मृत्युदण्ड नै भए हुन्थ्यो, अनि बलात्कार रोकिन्थ्यो भन्ने आम जनताको बुझाइ देखिन्छ । तर, मेरो अनुभवमा कडा कानुन हुँदैमा अपराध नियन्त्रण हुने होइन ।
अपराध नियन्त्रण त्यहाँ हुन्छ, जहाँ जहाँ निगरानी हुन्छ, पक्राउ गर्ने सम्भावना हुन्छ । पक्राउ परिन्छ भन्ने थाहा भएपछि अपराध गर्न डराउँछन् ।

मेरो विचारमा फास्ट ट्रयाकको व्यवस्था गर्नुपर्छ । बलात्कारको मुद्दा हेर्ने छुट्टै अदालतको व्यवस्था गर्नुपर्छ । प्रहरीको छुट्टै घुम्ती टोली राखेर भए पनि तुरुन्तै छानविन, कारवाही र सजायँ गर्ने हो भने अहिले देखिएका घटनाहरु धेरै हदसम्म कम हुन्छ ।

उसो भए अपराध गर्नेहरुले सजाय कति भन्ने होइन, उन्मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्ने हेर्छन् ?

मैले अपराध गरे पनि म उन्किन सक्छु भन्ने धारणाले काम गर्छ । यद्यपि बलात्कार जस्ता घटनामा पूर्वसोच बनाएर मात्र होइन, आवेश, अवसरमा पनि अपराध हुन्छ ।

तर, नारीलाई आमा, दिदी, बहिनी, छोरी जस्ता कुनै न कुनै साइनो लगाएको हुर्किएको हामी एक्लो महिला/बालिकालाई देख्यो भने अवसर छोपी हालौं भन्नेतिर पुग्यौं ?

हो, हाम्रो संरचना उच्च स्तरको थियो । हामी नारीलाई माता मान्छौं, छोरी चोलीलाई देउता मानेर टीका लगाएर ढोग्छौं । तर, पछिल्लो समय नैतिक चरित्रमा ह्रास आयो ।

यसको प्रमुख कारण सशस्त्र द्वन्द्व हो ।

अर्को, अपराध नियन्त्रण गर्ने प्रहरी हो । राजनीतिक दबावहरु आउन थालेपछि प्रहरीले उच्च मनोबलले कसरी काम गर्छ ? उसले हात हालेको जति केसमा सफल हुन्छ, त्यस अनुपातमा प्रमोसन हुन्छ भन्ने भए काम हुन्छ । राजनीतिक पार्टीको फेरो समातेको भरले माथि उठ्छु भन्ने सोचमा प्रहरी संगठनले काम गर्‍यो भने कसरी हुन्छ ।

धर्मलाई समाप्त पार्न खोजियो भन्नुभयो । बलात्कारका घटना र धर्मनिरपेक्षता कसरी जोडिन्छ र ?

हाम्रो समाज धार्मिक समाज हो । परम्परादेखि धर्ममा अगाध आस्था राखेर चलिएको समाज हो । त्यसैले आमा, दिदी, बहिनी, नातिनीको साइनो लगाएर आदर सम्मान गर्छौं ।

धर्मको सम्बन्ध नैतिकतासँग पनि जोडिएको हुन्छ । कोही नैतिकवाद बन्छ भने उ धर्मात्मा पनि हुन्छ । ईश्वरप्रति आस्था हुन्छ । नास्तिकता बढ्यो भने नैतिक धरातल खतरामा पर्छ । अहिले नास्तिकता बढेको छ र छाडापानलाई प्रोत्साहन गरिएको छ । पुरानो धर्म केही होइन, रुढीवादी हो, क्रिश्चियन राम्रो भनिएको छ । मानिसको मनमा जुन किसिमको शुद्धता, पवित्रता, नैतिकता बन्नु पर्ने हो, त्यो बन्ने प्रक्रियामा विस्तारै ह्रास भएको नै हो ।

तर, धर्म निरपेक्षता हुँदैमा मानिसहरुलाई हिन्दु धर्म मान्न त रोक लगाएको छैन नि ?

धर्म निरपेक्ष बनाएको बढी फाइदा क्रिश्चियन धर्म प्रचारले लियो । यसका लागि त कुनै प्रमाण खोज्नु पर्दैन, आँखा अगाडि छ । शहर मात्र होइन, गाउँगाउँमा चर्च खुलेको छ, धर्म प्रचारकहरु हिँडिरहेका छन् । ०४७ पछि पनि धर्म प्रचार हुने गथ्र्यो ।

त्यसबेला उनीहरुको पहुँच अपाङ्ग, अनाथ, गरीब समुदायमा थियो तिमीले अपनाएको धर्म खराब छ, यो -क्रिश्चियन धर्म) अपनायो भने सुखी हुन्छौं भनेर दुईचार जोर लुगा दिन्थे, अलिकथि पैसा दिन्थे । तर, अहिले त खुलेआम छ । युवा जमातलाई उनीहरु तान्न सफल भए । सम्भवत छ, पैसा मिल्छ ।

तर, क्रिश्चियन वा अरु कुनै धर्मले पनि त अपराध गर भनेर त भन्दैन नि ?

अंश व्यवस्थामा छोराले एकलौटी बदमासी गरिरहेका थिए, त्यही बराबर बदमासी हामीले पनि गर्न पाउनुपर्छ भनेर महिलाले अंश मागेको त हो नि । महिला सशक्तीकरण भन्ने महिला समुदायले यसरी सोच्छ ? मलाई जवाफ चाहिएको छ ।

गर्नु त गर्दैन । तर, हाम्रो पुरानो मान्यतालाई भत्काउँछ र नयाँ मान्यता भन्ने नाममा उच्छृंखल बन्न सघाउँछ ।

पहिले महिलाहरुले रक्सी सेवन गर्दैनथे, आजकल सेवन गर्छन् किनभने मान्यता बिग्रिएको छ । केटा जमातमा मादक पदार्थ सेवन गर्ने समाज थोरै थियो, अहिले बढेको मात्र होइन, महिलाहरुमा पनि गएको छ । के यो मान्यता बिग्रिएको होइन ?

तपाईले भनेको जस्तो समाज खुला, स्वतन्त्र हुँदैमा अपराध, त्यसमा पनि बलात्कारका घटनाहरु बढ्ने हो भने त पश्चिमा देशहरुको अवस्था भयावह हुनुपर्ने होइन र ?

पश्चिमा जगतमा सिस्टम छ । कानुनको शासन छ । प्रहरीसँग आधुनिक उपकरणहरु छन्, जसले निगरानी चुस्त छ । त्यो स्थितिमा अपराध भइहाल्यो भने पनि प्रमाणका आधारमा पक्राउ गर्ने र कारवाही गर्ने क्षमता र स्वतन्त्रता प्रहरीसँग छ । त्यसैले हाम्रो जस्तो धेरै पुरानो धर्म अथवा नैतिकता आदि नहुँदा पनि फरक पर्दैन ।

अर्को, महिला सशक्तीकरणका नाममा उच्छृंखलता बढ्यो, यो पनि एउटा कारण हो भन्नुभयो । कसरी नि ?

गर्भपतनलाई अधिकार देख्नुको साटो परिवार नियोजनलाई महिलाको अधिकार मानेको भए के बिग्रन्थ्यो ? त्यसैले अलिकति सीमाभन्दा बाहिर गएको त हो नि ।बलात्कार, हाडनाताकरणी लगायतमा गर्भपतन गर्न सकिने कानुनी व्यवस्था त छँदै थियो । तर, १२ हप्तासम्म गर्भलाई गिराउन पाइन्छ भनेर कानुन किन बनाउनुपर्‍यो ?

महिला सशक्तीकरणका नाममा पुरुषले जत्तिकै यौन स्वतन्त्रता नारीलाई पनि चाहिन्छ भन्ने धारणाले घर जमाउँदा विच्छृंखलता आयो ।

यसोभन्दा त तपाईलाई महिला अधिकारविरोधी भन्लान् नि ?

भने भन्छन् । सत्य कुरा बोल्दा महिला अधिकारविरोधी भन्छन् भनेर डराउने हो ? यही कारण अदालत पनि खुलेर फैसला दिन सक्दैन । महिलाले गलत गरेको छ भने देखाउन सक्ने मान्छे चाहियो नि यहाँ ।

मातापिताबाट महिलाले अंश पाएनन्, त्यही कारण महिलाहरु शोषित भए भनेर आवाज उठाउने महिलाले अंश व्यवस्थाले हाम्रो घर व्यवहार बिगि्रएको छ, अंश व्यवस्था खारेज हुनुपर्छ किन भन्दैनन् ? मातापिताले १८ वर्ष नहुँदासम्म हुर्काउने पढाउने जिम्मा हो, त्यसपछि आफैं काम गरेर खाउ भन्न सक्ने अवस्था छ ? यो अंश व्यवस्थामा छोराले एकलौटी बदमासी गरिरहेका थिए, त्यही बराबर बदमासी हामीले पनि गर्न पाउनुपर्छ भनेर महिलाले अंश मागेको त हो नि ।

महिला सशक्तीकरण भन्ने महिला समुदायले यसरी सोच्छ ? मलाई जवाफ चाहिएको छ । हो यही बिगि्रएको । पश्चिमा जगतमा यस्तो छन्, उस्ता छन् भनेर यहाँ पनि ल्याइयो । पहिला अंशका कारण दाजु भाइमा मात्र झगडा हुन्थ्यो, अब दिदीभाइमा पनि हुन्छ ।

उसोभए पश्चिमा जगतको नक्कली मात्र गरियो ?

नक्कलभन्दा पनि सशक्तीकरणका नाममा बढी प्रगतिशील हुन खोज्यौं, हाम्रो समाज कहाँ छ भनेर हेरेनौं । किनभने दाइजो लिन पाइँदैन भन्ने एकदम ठीक छ । तर, अंश किन चाहियो ?

महिलाले काम गरेर खान पाउनुपर्छ, शिक्षा, स्वास्थ्य र समान अवसर चाहिन्छ भनेर पो फाइट गर्ने हो त । बाबुले कमाएको सम्पत्तिमा बराबरी अंश लाग्नुपर्छ, अनि हामीले पनि छोराले जस्तै गर्न पाउनुपर्छ भन्ने पनि हुन्छ ? अहिले छोराहरुले लागू पदार्थ रक्सी खाएर किन हिँड्छ ? किनभने बाबुले कमाएको सम्पत्तिमा मडिया मार्न पाएको छ ।

बाबुआमाले ऋण गरेर भए पनि १२/१३/१५ कक्षासम्म पढाइदिने, त्यसपछि पनि सुख छैन । जब हात पाखुरा लाग्छ, सम्पत्ति आधा लेउ भनेर मुद्दा हाल्ने व्यवस्था थियो । अब त्यसमा थपथाप गरेर छोरीले पनि मुद्दा हाल्ने अवस्था सिर्जना गर्‍यौं ।

महिला सशक्तीकरणका नाममा पुरुषले जत्तिकै यौन स्वतन्त्रता नारीलाई पनि चाहिन्छ भन्दा बिग्रियो भन्नुभयो । यौन स्वतन्त्रता बराबरी हुनुहुँदैन भन्ने तपाईको तर्क हो ?

कुन हद भन्ने हो । यौन स्वतन्त्रता भन्दै जसरी पुरुष स्वतन्त्र भएर हिड्छ र सँधै चोखो हुन्छ भन्ने नाममा महिलाले पनि त्यस्तै हुनुपर्छ भन्ने होइन । दुबै नैतिकवान हुनुपर्छ ।

तर, हामी उल्टो बाटोमा हिँड्यौं । कतिपय जानीजानी बिच्छृंखलता आएको छ, कतिपय देखासिकीबाट भएको छ । मैले त अपेक्षा गरेको थिएँ, नयाँ देवानी संहितामा अंशवण्डाको व्यवस्था खारेज होला । तर, अझ व्यवस्थित भएर आयो ।

के गर्‍यो भनेचाहिँ बलात्कार जन्य घटनाहरु कम गर्दै लैजान सकिन्छ ?

मैले अघि पनि भनें, फास्ट ट्रयाकको व्यवस्था । बलात्कारका घटनामा तुरुन्तै शारीरिक जाँच गरेर मुद्दा चलाउने र प्रमाणहरु जुटाएर र कारबाही गर्ने । ता कि प्रमाणहरु लुकाउन नसकोस्, पीडितलाई प्रलोभन वा धाकधम्की दिन नपाओस् ।

आजकल त उमेर समेत घटाउन गरेका छन् । १८ वर्षभन्दा कम हुँदा आधा सजायँ कम हुन्छ । यसका लागि अवसर र समय दिएनौं भने कसुर गरियो, पक्राउ गरियो, दोषी ठहर भयो भन्ने सन्देश दिन सक्यौं भने अपराधका घटना कम हुन्छ ।

अर्को बलात्कारको घटना भयो भने सजाय हुन्छ, अरु दबाव र प्रभावले काम गर्दैन भन्ने कानुनी चेतना फैसला जरुरी छ । बालविवाह र बहुविवाहमा रोक्न यसले काम गरेको छ । सजायको अनुभूति देखेर अपराध नगर्ने स्थिति हुन्छ ।

र, सकिन्छ । सरकारको आँट छ भने संस्कृत र नैतिक शिक्षालाई समावेश गर्दा राम्रो हुन्छ । साथसाथमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्छ, राजनीतिक हस्तक्षेप हुनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment