+
+

‘सोल्टी’ र ‘मितिनी’ भोलि काठमाडौं पठाइने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १२:२३

२८, साउन, चितवन । उपहारस्वरुप चीन पठाउन लागिएका अर्काे एक जोडी गैंडालाई चितवनबाट भोलि काठमाडौं पठाउने तयारी गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गैंडाको जोडी ‘सोल्टी’ र ‘मितिनी’लाई भोलि साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाउने गरी तयारी पूरा भैसकेको छ ।

चितवनबाट प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, १० जना सुरक्षाकर्मी, केयर टेकर ३ जना, भेटेनरी सहायक १ जना गैंडासँगै काठमाडौं जाने छन् ।

कानुनी प्रक्रिया पनि पूरा भइसकेको छ । गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यात सम्बन्धी प्रमाणपत्र तयार भइसकेको छ । गैंडाको जोडी ‘सोल्टी’ र ‘मितिनी’लाई साउन ३१ ग्ाते चीन पठाउने कार्यक्रम छ ।

‘सोल्टी’ र ‘मितिनी’लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय सौराहामा पिट ‘बुमा’ बनाएर राखिएको छ । ‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो ।

‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्दार गरी ल्याएर सौराहामा राखिएको थियो ।

अहिले उनीहरु दुवैंको स्वास्थ्य अवस्था राम्रो छ । बुमामा राखिएको गैँडालाई कास, बन्दा, काउली, स्याउ, केरा, गाँजरलगायत खानेकुरा दिइएको छ ।

सरकारले यसअघि असार २८ गते एक जोडी गैँडा भऽ र रूपसीलाई चीन पठाइसकेको छ । चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने योजनाअनुरूप सरकारले दोस्रो चरणमा गैँडा पठाउन लागेको हो ।

एकै आर्थिक वर्षमा दुई जोडी गैँडा दिन नमिल्ने भएकाले नयाँ आर्थिक वर्ष लागेसँगै थप एक जोडी गैंडा पठाउन लागिएको सूचना अधिकारी अर्यालले बताए ।

दुर्लभ वन्यजन्तुको अंग तथा जडीबुटी ओसार-पसारविरुद्धको महासन्धि -साइटिस)को प्रावधानअनुसार एउटै आर्थिक वर्षमा दुई जोडी गैँडा दिन नमिल्ने व्यवस्था गरेको छ ।

०७३ असार २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।

नेपालबाट गैंडा लिएर तीनजना किपर, एकजना भेटेरिनरी चिकित्सक र एकजना पशु प्राविधिक पनि चीन जाने भएका छन् ।

पहिला लगिएको गैँडालाई चीनको ग्वान्झाओस्थित चिमे लाङग पार्कमा राखिएको छ भने अहिले पठाउन लागिएको सोल्टी र मितिनीलाई चीनको सांघाई चिडियाखानामा राखिने जनाइएको छ ।

दुर्लभ एक सिंगे गैडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ । पछिल्लो गणना अनुसार नेपालमा ६४५ एकसिंगे गैंडा रहेका छन् भने ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

यसअघि पनि नेपाल सरकारले विभिन्न मित्रराष्ट्रहरुलाई गैंडा उपहार दिएको थियो । भारतलाई ४ वटा, अमेरिकालाई ६ वटा, जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रिया, थाइल्याण्ड, बर्मा र पाकिस्तान दुई/दुई वटाका गरी २६ वटा गैंडा सरकारले उपहार दिइसकेको छ ।

चीन पठाइसकिएका दुई र थप पठाउने दुईसहित यो संख्या ३० हुनेछ । सरकारले एकसिंगे गैंडाको संरक्षण र सम्बन्ध सुमधुर बनाउन भन्दै मित्रराष्ट्रहरुलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?