Comments Add Comment

पीपीएल क्रिकेटः हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने

२८ साउन, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने भएको छ ।

आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भारको काम भइरहेको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरी ६ वटा ‘फ्रेञ्चाइज’ टिमले भाग लिने आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । खेलाडी छनौट अक्सनमार्फत हुनेछ । नेदरल्याण्ड्स, युएई, हङकङ जस्ता बलिया देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले जनाएको छ ।

अहिले क्रिकेट मैदानको मर्मतसम्भार भइरहेको छ । अहिले लेभलिङको काम भइरहेको छ, त्यसपछि घाँस रोपेर हरियो बनाइनेछ । मैदानमा खेलाडीका लागि पेभेलियन, स्कोर बोर्डका साथै दर्शकका लागि स्क्रिन बोर्ड र अस्थायी प्याराफिट निर्माण गरिने शेर्पाले जानकारी गराए ।

उनका अनुसार पिचमा स्पाइक जुत्ता लगाएर खेल्न मिल्नेछ । यो काठमाडौंबाहिर अन्त नरहेको उनले दाबी गरे ।

क्रिकेटमा नयाँ उर्जा थप्छः पारस

पत्रकार सम्मेलनमा उपस्थित नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पीपीएलले नेपालको क्रिकेटमा नयाँ उर्जा थप्ने बताए । उनले पोखराको क्रिकेट मैदानलाई न्यूजिल्याण्डको क्रिकेट मैदानसँग तुलना गर्दै पोखराजस्तो सुन्दर नगरीमा क्रिकेट खेल्दा आनन्द आउने बताए ।

पोखरा क्रिकेट मैदान बनिसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प चलाउन सक्ने उनले बताए ।

क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले कीर्तिपुरपछि अर्को राम्रो मैदान पोखरामा बनेको भन्दै यसले क्रिकेटमा महत्वपूर्ण योगदान दिने बताए । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरालाई स्पोर्टस् हव बनाउने उद्धेश्य सरकारले बनाएको बताउँदै त्यसलाई सहयोग पुग्नेगरी हुन लागेको पिपिएल क्रिकेट प्रतियोगिताका लागि सहयोग गर्ने बचन दिइन् ।

गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पीपीएल पोखराको खेलकुदमा निरन्तरतामा क्रमभंगता भएको बताए ।

तस्वीरः सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment