Comments Add Comment

चितवनको पूल्चोक-गोन्द्राङ सडक ६ लेन बनाइँदै

३० साउन, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने चितवनको नारायणगढ पूल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी काम अघि बढेको छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चाप बढेको र दुर्घटनासमेत बढ्न थालेकोले सडक विस्तार गरी ६ लेनको बनाउने काम अघि बढाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भैरहेको छ । यो हप्ता भित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेश गर्ने तयारी भएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए ।

करिब एक अर्वको लागतमा निर्माण गर्न लागिएको सडकको वीचमा ७/७ मिटरको हाइवे ट्रयाक, ५/५ मिटरको सर्भिस ट्रयाक, ३ देखि ४ मिटरको फुटपाथ निर्माण गरिनेछ ।

साथैं गि्रनरीको समेत व्यवस्था गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए । गोन्द्राङदेखि पूल्चोकसम्म ४ किलोमिटर छ । यो सडकमा अहिले चौंविसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ ।

गोन्द्राङ क्षेत्रदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन छ । केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । दुईलेन भएको स्थानमा ४ लेन र ४ लेन भएको स्थानमा २ लेन थपिने डिभिजन प्रमुख झाले जानकारी दिए ।

दशैं लगत्तै निर्माणको काम अघि बढ्ने छ । यो बीचमा टेण्डर लगायतका सवै काम सक्ने योजना छ । ‘सडक विस्तारका लागि रुखहरु काट्ने काम भैरहेको छ, सँगसँगैं सर्भेको काम पनि अघि बढिरहेको छ,’ डिभिजन प्रमुख झाले भने, ‘साइड क्लियरेन्समा कुनै समस्या छैन, काम फटाफट अघि बढ्छ ।’

पूर्वपश्चिम राजमार्गको नारायणगढ पूल्चोकदेखि लोथरसम्म सडकसिमा ५० मिटर चौंडाई क्लियर भएको प्रमुख झाले बताए । सडक निर्माणको ‘इनिसियसन’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लिइरहेकी छन् ।

नारायणगढ बुटवल सडकखण्डलाई ६ लेनको बनाउने गरी काम अघि बढिरहेका बेला त्यसको एक खण्डका रुपमा यसलाई पनि विस्तार गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment