Comments Add Comment

प्रदेश ७ मा ‘ओल्के’ पर्व मनाइँदै


१ भदौ, डडेल्धुरा । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व प्रदेश नं ७ का जिल्लाहरुमा आज उल्लासपूर्वक मनाइँदैछ ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ ।

यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ ।

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा अर्थात् कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा प्रदेश ७ मा छ ।

यो पर्वका दिन विवाहिता छोरीलाई माइतीमा आमन्त्रण गरेर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ । खासगरी पहाडी क्षेत्रमा बसोबास रहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने पनि गर्दछन् ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औंलाको छाला रातो हुने भई यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।

शदियौंदेखि मनाइँदै आएको यो चाडलाई पछिल्लो पुस्ताले प्राथमिकता दिन छाडेको डडेल्धुराका स्थानीय परशुराम ओझा बताउँछन् ।

युवा पिँढीबीच यो पर्वले प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्के जस्ता चाड पर्वहरुको मौलिकता नै हराउने खतरा बढेको भन्दै डोटेली समुदायमा चिन्ता व्यक्त हुन थालेको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावस्वरुप नेपाली समाजमा शदियौंदेखि मनाइँदै आएका कतिपय चाड पर्वहरु विस्तारै हराउन थालेकाले आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाड पर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको स्थानीय लेखराज ओझा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment