Comments Add Comment

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो


४ भदौ, काठमाडौं । स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment