Comments Add Comment

बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप

४ भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले सिमराबाट कलैया नल्याइ भिडियो कन्फ्रेन्सबाटै म्याद थप गर्न सकिने बताइन् । ‘पहिलो पटक म्याद थप र अनुसन्धानपछि बुझाउनका लागि भने अभियुक्तहरुलाई अदालत मै लैजानुपर्छ । यसबीचमा गर्नुपर्ने म्याद थप भिडियो कन्फ्रेन्सबाट गर्न सकिन्छ’ उनले भनिन् ।

भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न सकिने अवस्था बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास सिंह ठकुरीसुरक्षाको दृष्टिले सहज हुनुको साथै स्रोत साधनको समेत बचत हुने बताए । ‘सिमराबाट कलैयास्थित जिल्ला अदालत पुग्न ३५ किलोमिटरको यात्रा गर्नुपर्छ, जघन्य प्रकृतिको अपराधका अभियुक्त भाग्ने संभावना पनि हुन्छ’ उनले भने, ‘भिडियो कन्फ्रेन्सबाट म्याद थप गराउँदा सहज हुन्छ, सुरक्षित हुन्छ । त्यतिमात्रै नभएर राज्यको स्रोत साधनको पनि बचत हुन्छ ।’

सोमबारसम्म ४ वटा मुद्धामा भिडियो कन्फ्रेन्समार्फत म्याद थप भइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाराले निजगढ र सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालयबाट समेत यस्तो सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधिक गतिविधिमा संलग्न रही फरार रहेको अभियुक्तहरुलाई पक्राउ गरी वीरगञ्ज कारागार पठाएको छ ।

अपहरण शरीर बन्धक तथा कर्तव्यज्यान मुद्दामा चारवर्षदेखि फरार बारा जिल्ला करैयामाई गापा-८ नरही निवासी मंगल साह कलवारलाई पक्राउ गरिएको हो । अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै कलवारलाई जिल्ला अदालत बाराले ०७१ माघ २२ मा ९ वर्ष कैद र १ लाख जरिवाना सुनाएको थियो ।

यसैगरी जितपुर सिमरा उपमहानगर-८ निवासी हमिद मिया पनि पक्राउ परेका छन् । अदालतले ०५९ फागुन २८ गते काठ चोरी मुद्दामा मियाँविरुद्ध १ महिना कैद सजाय सुनाएको थियो ।

दुवैजनालाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment